पर्यटक घटे, महिनामै २१ हजार कम

काठमाडौं । सन् २०२४ को मे महिनामा पर्यटक आगमनको संख्या घटेको छ । सन् २०२४ को जनवरीदेखि निरन्तर रूपमा बढेको पर्यटक संख्या मे महिनामा घटेको देखिएको हो । अप्रिल महिनाको तुलनामा यस महिना २१ हजार १ सय ६५ पर्यटकहरू घटेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार मे महिनामा ९० हजार २ सय ११ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को मे महिनामा ७७ हजार ७ सय ३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अघिल्लो वर्षको मे महिनाको तुलनामा यो संख्या १२ हजार ५०८ ले बढी हो । अघिल्लो महिना अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अप्रिल महिनाको तुलनामा मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आए पनि नेपाल भित्रिने पर्यटकको संख्या भने घटेको हो । सन् २०२४ को मे महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । यस महिना भारतबाट ३८ हजार २८८ जना भारतीयले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको मे महिनाको तुलनामा ४.७ प्रतिशत धेरै हो । त्यस्तै दोस्रो नम्बरमा अमेरिकाबाट ८ हजार ५ सय २७ जना नेपाल आएका छन् । गत वर्षको सोही महिनाको तुलनामा यो संख्या ०.२ प्रतिशत कम हो । यसैगरी बंगलादेशबाट ३ हजार ४ सय ५८, बेलायताट २ हजार ८०२ र अस्ट्रेलियाबाट २ हजार १९४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्स विमान धावनमार्गबाट फर्काइयो

काठमाडौं । काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ । ‘धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो’, यात्री मञ्जु शाहीले भने, ‘नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।’ यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको ८ः२५ बजेको उडान तालिका थियो । विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए ।

ग्वान्जाओ-काठमाडौं रुटमा साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु

काठमाडौं । चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ-काठमाडौं रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले शनिबारदेखि दैनिक २ वटा उडान सुरु गरेको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मन्त्री तामाङ र चाइना साउदर्न एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको ग्वान्जाओबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याबिन क्रूहरूलाई विमानस्थलमा स्वागत गरेका थिए । मन्त्री तामाङले आगामी दिनमा चाइना साउदर्न एयरलाइन्सको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौं विमानस्थलमा अवतरण भई यहाँबाट यात्रु लिएर ग्वान्जाओका लागि उडान भरेको थियो । उक्त एयरलाइन्सले कोभिड–१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकामा त्यसयता एउटा उडान कटौती गरेको थियो । कटौती भएको उडान आजदेखि पुनः सञ्चालन गरेको हो । ग्वान्जाओबाट काठमाडौं दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौंबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्ने तालिका छ । त्यस्तै हरेक रात ११ बजे काठमाडौं अवतरण हुने र राति १२ बजे ग्वाञ्जाओका लागि उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ । योसहित चीनका चार एयरलाइन्सले काठमाडौं गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि कोभिड–१९ अघि चीनको ग्वान्जाओमा उडानको तयारी गरे पनि महामारीका कारण रोकिएको थियो । नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दोस्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कूल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरू बताउँछन् । चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको संख्या ६० हजार आठ सय ७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डका अनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।