नाट्टाको अध्यक्षका लागि थपलियाको उम्मेद्वारी घोषणा, अघि सारे महत्वपूर्ण २० प्रतिवद्धता

काठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरूको छाता संस्था नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षका लागि कुमारमणी थपलियाले उम्मेदवारी घोषणा गरेका छन् । जेठ २५ गते हुने नाट्टाको निर्वाचनका लागि थपलियाले उम्मेदवारी घोषणा गरेका हुन् । उनले २० बुँदे प्रतिवद्धताहरू सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी हालका महासचिव हुन् । त्यसअघि उनी कोषाध्यक्ष थिए । थपलिया प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जिस्वान तुलाधर श्रेष्ठ, उपाध्यक्षमा धनश्याम घिमिरे, महासचिवमा युविका भण्डारी, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्लेको उम्मेदवारी परेको छ । यस्तै, सदस्यहरुमा स्भोवित नायक, श्रदा जोशी, कृष्णप्रसाद ढकाल, विदुर प्रसाद खतिवडा, सुदर्शन पौडेल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलले उम्मेदवारी दिएका छन् । पर्यटन क्षेत्रमा लामो समयदेखि त्रियाशिल थपलियाले पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्दनका लागि महत्वपूर्ण २० वटा प्रतिवद्धताहरू अघि सारेका छन् । यस्ता छन् प्रतिवद्धताहरू : १. नेपाल सरकारले सरोकारवाला निकायहरूसँग छलफल गरी राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभामा बिचाराधीन रहेको पर्यटन ऐन यथाशिघ्र पारित गराउन नेपाल सरकारको ध्यानकर्षण गरिनेछ । २. विदेशी मुद्रा आर्जन गर्ने अन्य क्षेत्रका निजी व्यवसायीहरूलाई राज्यले केही प्रतिशत रिबेट उपलब्ध गराइरहेको सन्दर्भमा विदेशी पर्यटकलाई टुर प्याकेज बिक्री गरी राज्यलाई विदेशी मुद्रा बुझाइरहेको पर्यटन क्षेत्रका व्यवसायी कम्पनीहरूलाई पनि प्रोत्साहन स्वरूप केही प्रतिशत रिबेट उपलब्ध गराउन पहल गरिनेछ । ३. हवाई तथा सडक यातायत सेवा लगायत पर्यटन क्षेत्रबाट बिक्री हुने प्याकेजमा हाल लगाएको भ्याट हटाउनु पर्ने सम्वन्धमा यस एशोशियसनले विगत देखि अघि सारेको माग पुरा गराउनको लागि प्रभावकारी पहल गरिने छ । साथै हाल नाट्टाले भ्याट विरूद्ध शुरू गरेको कानूनी लडाईलाई निरन्तरता दिइनेछ । ४. पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गरिने छ । ५. यात्रा गन्तब्यको लागि नेपालबाट उडान गर्ने यात्रुहरूको हवाई टिकट धेरै विदेशी मुलुकबाट जारी हुने हुँदा नेपालको टिकेटिङ्ग व्यापार धरासायी भइरहेको अवस्थामा सोको सम्बोधन हुने गरी आवश्यक पहल गरिनेछ । ६. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रिय तथा अन्तर्राष्ट्रिय उडानसहितको कनेक्टिभिटी बढाउनको लागि पहल गरिनेछ । ७. राजधानी लगायत अन्य मूख्य पर्यटकीय नगरीहरूमा पर्यटन बसपार्कको व्यवस्था गर्न पहल गरिनेछ । ८. अन्तर्राष्ट्रिय हवाई टिकेटिङ्गमा देखा परेका समस्याहरू जस्तै भोइड चार्ज र नन रिफण्डेवल टिकट जस्ता विषयमा देखिएका समस्या समाधानको लागि पहल गरिने छ । साथै सबै अन्तराष्ट्रिय टिकटलाई कमिसनयोग्य बनाउन हर सम्भव प्रयास गरिनेछ । ९. विदेशी हवाई कम्पनीहरू आकस्मिक रूपमा बन्द हुँदा जारी भइसकेका तर यात्रा नभएको हवाई टिकटको रिफण्ड प्रक्रिया अवरुद्ध भई यात्रु तथा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि, हवाई संचालन अनुमतिकै समयमा सम्वन्धित हवाई कम्पनीले सेक्युरिटी फण्डको व्यवस्था गरेको हुनुपर्ने सम्बन्धमा नेपाल सरकारले पहल गर्नु पर्ने बारे आवश्यक पहल गरिनेछ । १०. अन्तर्राष्ट्रिय रूपमा नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा यस संघले आफ्ना सदस्य कम्पनीहरूको सहभागिता सहित भारत, चीन तथा यूरोप लगायत विश्यका अन्य शहरहरूमा आयोजना गर्ने गरेको सेल्स मिसन, रोड शो, बिटुबी लगायतका प्रवद्र्धन तथा बजारीकरणका कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा आयोजना गर्ने र देश भित्रै यस संघले शुरू गरेको अन्तर्राष्टि बुद्धिष्ट पर्यटनलाई समेत निरन्तरता दिँदै संचालन गरिनेछ । ११. आउटबण्ड टुरमा संलग्न हुने नेपाली यात्रुहरूले राज्यबाट प्राप्त गर्ने विदेशी मुद्राको सीमा सुविधा कतिपय गन्तब्य भ्रमणको लागि प्रयाप्त छैन । यसर्थ तुलनात्मक रूपमा बढी खर्चालु भ्रमण गन्तब्यको हकमा नेपाली यात्रुहरूले पाइरहेको विदेशी मुद्राको वर्तमान सीमा सुविधामा वृद्धि गर्नका लागि पहल गरिनेछ । १२. सरकारी तथा गैर सरकारी निकायहरूको सहकार्यमा संघका सदस्यहरूका लागि सीपमूलक प्रविधिमैत्री तालिमहरू संचालन गरिनेछ । १३. गन्तब्य मूलुकहरूमा यात्रा गर्ने नेपाली यात्रुहरूको पासपोर्ट, भिसा लगायत अन्य कागजातहरूमा देखा पर्ने कैफियतका कारण विमानस्थलबाट डिपोर्ट भएको अवस्थामा अन्तर्राष्ट्रिय हवाई टिकट काटेको कारणले मात्र ट्राभल एजेन्सीहरूलाई आई पर्ने विभिन्न कानूनी समस्याहरूलाई समाधान गर्न नेपाल सरकार तथा हवाई कम्पनीसँग आवश्यक समन्वय गरिनेछ । १४. नाट्टा सचिवालयको वर्तमान क्षमता र प्रभावकारितालाई समयको माग सँगै थप सुदृढ र व्यवस्थित गरि संघ र सदस्यहरूको बिचमा समन्वय र सूचना प्रवाह गरिनेछ । १५. टुर प्याकेज बिक्री तथा खरिद गर्दा भारत, बंगलादेश, भियतनाम जस्ता देशहरूसँगको भुक्तानी कारोबारमा देखिएको असहज अवस्थाको दिर्घकालीन समाधानको लागि पहल गरिनेछ । १६. नेपाल स्थित विदेशी कुटनितिक नियोगहरू र विदेशमा रहेका नेपाली कुटनितिक नियोगहरूसँग सम्वन्य गरी विश्व बजारमा नेपालको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पहल गरिने छ । १७. एपीजेसी कमिटीलाई सक्रिय बनाई आईएटीएसँग समन्यव गरी समस्याहरूको समाधान गर्न पहल गरिनेछ । १८. आईएटीएमा बैक जमानत राखी अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीको टिकेटिङ्ग कारोबार गर्न भुक्तानी लिएका सबै ट्राभल कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीको अनिवार्य क्यापिङ सुविधा दिने वातावरण निर्माण गर्न पहल गरिने छ । १९. नेपालको पर्यटन क्षेत्रले छिमेकी राष्ट्रहरू सँग प्रतिस्पर्धा गरिरहनु परेको, हाम्रोभन्दा छिमेकी देशका ट्राभल टुर कम्पनीहरूले सस्तो प्याकेज बिक्री गरिरहेको सन्दर्भमा हाम्रा छिमेकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरी धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ । यसर्थ भन्सार छुट सुविधासहित हाल आयात गरिने पर्यटक सवारी साधनहरूमा सम्बन्धित कम्पनीहरूले आर्जन गरेको विदेशी मुद्राको सीमा घटाई थप व्यवसायमैत्री प्रावधानको व्यवस्थाका लागि पहल गरिने छ । २०. पर्यटन सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरूको नाममा दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधनहरूलाई बिना अवरोध पर्यटक सेवामा प्रयोग गर्न पाउने र इम्बोस्ट नम्बर प्लेट जडान गर्दा पर्यटक सवारी साधनका लागि हाल उपलब्ध गराउने गरिएको हरियो रंगको प्लेट हुनुपर्ने ।

कल्चरल शो हेर्न सकिने नेपालकै पहिलो भिगन रेस्टुराँ ठमेलमा, चार जनाको लगानी

काठमाडौं । ठमेलमा द भिगन किचेन रेस्टुराँ खुलेको छ । चार जनाको लगानीमा खुलेको द भिगन किचेन नेपाली ‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो रेस्टुराँ हो । शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोएिशन रेबान) का अध्यक्ष सङ्घर्ष बिष्ट र नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ गीतकार तथा पर्यटन व्यवसायी देवेन गिरीले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । ठमेलस्थित होटल मनाङसँगै जोडिएको द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । बिहान १० बजेदेखी राती १० बजेसम्म खुल्ला रहने यस रेस्टुराँमा सेटन बि¥यानी, मिन्ची बि¥यानी, स्टिक बि¥यानी, छोयला, मम, भिगन सिजलर, थाली,लगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ । यस्तै, हर्बल टि, सोया टि, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि मेनुमा उपलब्ध छन् । डेजर्टमा भने सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ । द भिगन किचेनको सजावट विशेष र आकर्षक छ । गोबरले लिपिएका यहाका भित्ताहरुमा मिथिला चित्रकथा हेर्न सकिन्छ । यहा“ गाउको झझल्को दिने पारिवारिक वातावरण छ । ‘माछा, मासु र दुधमा जति प्रोटिन पाईन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाईन्छ ।’ सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठले भनिन्, ‘नेपालमा बिस्तारै मानिसहरु भिगनप्रति आकर्षित हुँदैछन् ।’ रेस्टुरा“को मेनु त्यति महँगो छैन । भिगनका विभिन्न परिकारहरुका साथै यहाँ नेपालको संस्कृति झल्किने विभिन्न नृत्य तथा गीत, संगीत सुन्न र हेर्न सकिनेछ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताइन् । प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई गरेर चार जना सञ्चालक रहेको द भिगन किचेन रेस्टुराँले हाल १२ जनालाई रोजगारी दिएको छ ।

काठमाडौंदेखि सगरमाथा चुचुरोसम्म पैदलयात्रा

काठमाडौं । आरोही राजेश लामाले काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन् । उनले यात्रा सुरु गरेकाे ५७औं दिनमा सगरमाथा आरोहण गरेका हुन् । गत अप्रिल १ तारिखका दिन काठमाडौंदेखि पैदलयात्रा सुरु गरेकाा उनले चार सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ संकल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए । इच्छा शक्ति, धैर्यता र अठोट भए जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौंदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उनले उल्लेख गरे । आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ । काठमाडौं सानेपाबाट सगरमाथा यात्रा सुरु गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए । मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका थियो । पर्यटन क्षेत्रमा दशकभन्दा बढी अनुभव भएका लामा पर्वतारोहण व्यावसायिक पथ प्रदर्शक हुन् । ‘द नर्थफेस’ नेपालले लामालाई सगरमाथा आरोहणमा आवश्यक सहयोग गरेको थियो । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले लामाको सगरमाथा यात्रा नेपालको पर्वतीय पर्यटनका लागि नयाँ आयाम भएको उल्लेख गरे । अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक दावा याङजुम शेर्पाले लामाको साहसिक कार्य पर्वतारोहणका लागि प्रेरणा भएको धारणा राखे । ‘द नर्थफेस’ नेपालकी प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले आरोहीको हौसलामा साथ सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।