ढोरपाटन पुग्ने सडकको दुरावस्था, पर्यटक र स्थानीयलाई सास्ती
ढोरपाटन । यतिबेला ढोरपाटन क्षेत्र हरियाली छ । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् । वर्षा सुरुभएसँगै यहाँ पुग्ने अधिकांश भागमा बाढीपहिरा र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती हुने गरेको हो । ढोरपाटन पुग्न राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको प्रयोग गर्नुपर्छ। यस बाहेक ढोरपाटन पुग्ने विकल्पका सडक अहिलेसम्म निर्माण भएका छैनन्। बुर्तिबाङबाट ढोरपाटन पुग्न ३२ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । सरकारले दुई वर्ष अगाडि उक्त खण्डको करिब २२ किमी सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का लगाए पनि हालसम्म काम हुनसकेको छैन । निर्माण कम्पनीले सयममै काम नगर्दा ढोरपाटन पुग्ने पर्यटकले सास्ती खेप्नु परेको हो । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सदाबहार सुन्दर देखिए पनि वर्षामा यहाँ पुग्ने कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने आवस्था भएको ढोरपाटन नगरपालिका–९ का गमबहादुर पुनले बताए । ‘यो बेला चारैतिर हरियाली हुने हुँदा धेरै पर्यटकका यहाँ पुग्न रुचाउँछन्। सडकको दुरावस्थाका कारण आगन्तुक सहज रूपमा यहाँ पुग्न सक्दैनन् । बुर्तिबाङबाट बोबाङ गाउँसम्म जसोतसो यात्रा गरे पनि त्यसभन्दामाथि यात्रा गर्न निकै कठिन छ,’ उनले भने। साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्नै सक्दैनन् । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्दछन्। कतिपय स्थानमा पहिरो जाने, स्तरोन्नति नहुँदा बिग्रिनेलगायत समस्याले कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने गरेका पुनले बताए । हिउँदको समयमा पनि यातायातका साधान सहज रुपमा सञ्चालन हुन नसक्ने भन्दै वर्खामा अझ बढी सास्ती हुने उनको भनाइ छ । ट्र्याक खुलेको लामो समय बितिसक्दा एक पटक पनि स्तरोन्नति हुन नसक्दा सबैभन्दा बढी समस्या स्थानीय र पर्यटकले भोग्नु परेको पुनले उल्लेख गरे । ‘ढोरपाटन घुम्ने भनेर टाढाटाढाबाट पर्यटक आउँछन्, बाटोको अवस्थाले कोहीको सवारीसाधन बिग्रिन्छ, अनि बीच बाटोमा गाडी बिग्रिदा धेरै पर्यटक अलपत्र पर्ने गर्छन्,’ पुनले भने, ‘सरोकार भएका निकाय तथा राज्यले ठेकदारलाई समयमा सडक मर्मत गर्न दबाब दिनुपर्ने थियो । आलु, स्याउलगायत यहाँका कृषि उत्पादन बजारसम्म पुर्याउन सहज बाटो नहुँदा ढुवानी खर्च धेरै तिर्नुपर्छ, यात्रा पनि ज्यान जोखिममा राखेर गर्छौं ।’ तराई र पहाडलाई जोड्ने गरी रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची हुँदै बागलुङ ढोरपाटन जोड्ने उक्त खण्ड विसं २०७१ मा ट्र्याक खुलेको थियो । बडिगाडको गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्दछ। सालझण्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि तीन वर्ष अघि ठेक्का सम्झौता भएको थियो । सम्झौता मिति सकिँदासम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख अञ्जु परियारले जानकारी दिइन् । आयोजना कार्यालयले बुर्तिबाबाट फल्लेघरसम्मको सडक स्तरोन्नति गर्न स्वच्छन्दरओमबुद्ध जेभीसँग ३० महिनामा सक्ने गरी २५ करोडको सम्झौता भएको थियो । सडक स्तरोन्नति समयमै सक्न निर्माण कम्पनीलाई ताकेता गर्दागर्दै म्याद सकिएको उनले बताइन् । निर्माण कम्पनीले आगामी पुस मसान्तसम्मका लागि म्याद थप गरेको भन्दै बताइन् । ‘निर्माण कम्पनीले सुरुको चरणमा तीव्र गतिमा काम गरेको थियो, पछिपछि काम गरेन, कार्यालयले नियम अनुसार पत्र लेखी ताकेता गरिरहेको छ,’ उनले भिनन्, ‘पुससम्म म्याद थप गरेको छ, सो अवधिसम्म काम नसके ठेक्का तोडिन्छ । बजेट अभावका कारण निर्माण कम्पनीले काम गरेको रु एक करोड झुक्तानी गर्न सकिरहेका छैनौँ ।’ ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत (कल्याण) ले सडक समयमा नबन्दा यहाँका हजारौँ नागरिक र आगन्तुकले सास्ती खेप्नु परेको बताए । निर्माण कम्पनीलाई समयमा काम सक्न पालिकाले सघाउँदा पनि काम नगरेको उनले गुनासो पोखे । सङ्घीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने भन्दै बाढीपहिरोका कारण समयसमयमा सडक बन्द हुँदा खुलाउने काम भने गर्दै आइएको कायतले जानकारी दिए । सडकका कारण ढोरपाटन आउने हजारौँ पर्यटक बुर्तिबाङबाटै फर्कने गरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे
बर्दिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार तीन सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । सोबापत निकुञ्जलाई रु दुई करोड २२ लाख आम्दानी भएको वाग्लले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्वदेशी, सार्क र विदेशी गरी २६ हजार एक सय ३१ जना पर्यटक निकुञ्ज भित्रिएका छन् । गत आवमा निकुञ्जले रु दुई करोड ८४ लाख पर्यापर्यटनमार्फत आम्दानी गरेको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवा, पर्यटकीय पूर्वाधार निर्माणलगायत पक्षलाई जोड दिइएको अधिकृत वाग्लेले बताए । जङ्गल ‘वाक’ र ‘ड्राइभ’का लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापन गरिएको उनले जानकारी दिए । निकुञ्जभित्रको पूर्वाधारसँगसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायत आवास व्यवस्थापनमा पहल थालिएको वाग्लेले बताए । जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी र स्थानीय खुसी भएका छन् । पर्यटक बढेसँगै पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा टेवा पुगेको पर्यटन व्यवसायी रामजी थापाले बताए । यहाँ आउने पर्यटकले स्थानीय थारु सँस्कृतिसँगै विभिन्न स्थानीय परिकार खान रुचाउने गरेका उनको भनाइ छ । ‘यहाँको अनुपम जैविकविविधता देखेपछि विदेशी पर्यटक आश्चर्य मान्छन् । निकुञ्जभित्र पर्यटकलाई कुनै समस्या छैन । सफारीमा जङ्गलभित्र गाडी बिग्रिएपछि निकुञ्जले उद्धार गर्ने गरेको छ’, थापाले भने । निकुञ्ज क्षेत्रमा ३० भन्दा बढी पर्यटकीय होटल तथा होमस्टे भएकाले पर्यटकलाई आवासको समस्या नभएको निकुञ्जका पथ प्रर्दशक अनुराम चौधरीले बताए । ‘अधिकांश विदेशी पर्यटक जङ्गलमा हिडेर अवलोकन गर्न रुचाउँछन् । अन्य देशका पर्यटक सफारी रोज्छन् । जङ्गलमा डढेलो लागेको अवस्था बाहेक अन्य समयमा पर्यटक जङ्गलभित्र रमाइलो मान्छन्’, उनले भने । निकुञ्जमा बाघ, विभिन्न प्रजातिका वनस्पतीसँगै लोपोन्मुख तथा र्दुलभ जनावर, हात्ती, बाघ, गैँडा, विभिन्न किसिमका पक्षी, जलचर, थलचर, उभयचरलगायत वन्यजन्तु अवलोकन गर्न पाइन्छ । विशेष गरी गर्मी महिनामा पर्यटकले अत्याधिक मात्रामा बाघ देख्ने गरेका छन् । अहिले निकुञ्जमा हात्तीको झुण्ड देख्न सकिन्छ । रासस
सेवालाई चुस्त र प्रभावकारी बनाउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयमा बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले मन्त्रालय र मातहत निकायको अवस्थाबारे आफूले अध्ययन र सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै नतिजामुखी काममा केन्द्रित हुने विश्वास व्यक्त गरे । ‘छलफलमा आएका सुझाव मन्त्रालयको रणनीति तय गर्न मद्दत पुग्ने विश्वास लिएको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रका समस्या र समाधानबारे आएको सुझावलाई मनन गर्दै आगाम दिनमा पनि यस प्रकारका छलफललाई निरन्तरता दिइनेछ ।’ पर्यटनमन्त्री पाण्डेले अहिलेको पुस्ताले मुलुक नबनाउने हो भने कसले बनाउछ भन्दै मुलुक सामु आइपरेका चुनौतीलाई समाधान गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढाउन सबै पक्षबीच समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रका जल्दाबल्दा समस्यालाई सरोकारवालासँग छलफल र समन्वयका साथ समाधान गर्दै दिगो पर्यटन विकासका लागि मन्त्रालय लाग्ने उनको भनाइ थियो । उनले कसैसँग पनि नबहकिकन साच्चिकै मन्त्रालय र देशको हितमा लाग्न प्रमाणित गरेर देखाउने अठोटका साथअघि बढेको उल्लेख गरे । छलफलमा सहभागी सञ्चारकर्मीले पर्यटन दशक कार्यक्रम कार्यान्वयन गर्न, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सेवा चुस्त र प्रभावकारी बनाउन र नेपाल पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय बजारीकरणमा खरो रुपमा उत्रनका लागि नीतिगत र संरचनागत सुधार गर्न सुझाएका थिए ।