पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’
झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बिपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का स्थानीय नेताहरुले बिपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । प्रतिष्ठानको अगुवाइमा विसं २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गरेका थिए । विसं २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गरेका थिए । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ । काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरू यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउँछन् । ‘होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरूले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,’ उनी भन्छन्, ‘हामी उनीहरुलाई बिपी पुष्पलाल बाटिका पुर्याइदिन्छौं, त्यहाँ घुमेर फोटो खिच्छन्, टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।’ वाटिका निर्माण समितिका अध्यक्षसमेत रहेका तामाङले वाटिकामा कोशी प्रदेश सरकारको ३० लाख र मेचीनगर नगरपालिकाको ५ लाख रुपैयाँ लगानी भएको जानकारी दिए । वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उनले बताए ।
सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन
काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो । पाण्डेले ४० वर्षअघि होटल सांग्रिला स्थापना गरेको थिए । होटल एसोसिएसन अफ नेपाल (हान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डेले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्द्धनमा विशेष योगदान पुर्याएका थिए । पाण्डेको आजै दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
गौशालाको रेस्टुरेन्टमा साउन महिनाभरी लसुन र प्याज बिनाको खान पाइने
काठमाडौं । शाकाहारी खाना मात्र उपलब्ध गराउँदै आएको बीबीसीका मास्टर सेफ सन्तोष साहको गौशालास्थित रेस्टुरेन्टमा साउन महिनाभर लसुन र प्याज समेत नराखि मिथिला थाली खान पाइने भएको छ । सेफ सन्तोषले भने, ‘गौशालाको मिथिला थाली यसै पनि शाकाहारी रेस्टुरेन्ट हो, तर साउन महिनाभर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा शुद्ध शाहाकारीलाई लक्षित गरी प्याज र लसुन बिनाको मिथिला थाली उपलब्ध गराउन लागिएको हो ।’ साउनमा मन्दिर दर्शन गर्नका लागि पनि गाह्रो हुन्छ, घण्टौ लामबद्ध भइ दर्शन गरेपछि भक्तजनहरुका लागि आराम गर्न र भोक मेट्नका लागि मिथिला थाली उपयुक्त गन्तव्य हुने उनको विश्वास छ । उनका अनुसार जनकपुर, ललितपुरको झम्सिखेल र काठमाडौँको गैरीधारामा सञ्चालित मिथिला थालीमा सबै परिकार पाइने भए पनि गौशालाको मिथिला थालीलाई शाहाकारी रेस्टुरेन्टका रुपमा सञ्चालन गरिएको हो । शाहाकारी मिथिला थालीमा १७ प्रकारका परिकार खुवाइन्छ । जसमा तिल र आलासले झानेको सलाद, आलुको चोखा, कडिबडी, बिरिया, मौसममी तरकारी, रहरको दाल, भात, दही, घ्यू रोटी, तिलौरी, तरुवालगायत चार प्रकारका अचारले थाली भरिएको हुन्छ । रेष्टुराँमा चार सय रुपैयाँमा मिथिला थाली, पाँच सय रुपैयाँमा मिथिला थाली विथ मसरुम, पाँच सय ५० रुपैयाँमा मिथिला थाली विथ पनिर र आठ सय ५० रुपैयाँमा मिथिला थाली प्रिमियम उपलब्ध छ । हिन्दु धर्मालम्बीमा साउनको सोमबार व्रत बसी विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास छ । साउनलाई भगवान् शिवको महिना मानिन्छ । साउन महिनाभर र त्यसमाथि पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरमा नेपाली र भारतीय भक्तजनको दर्शन गर्नेको ठूलो भिड लाग्छ । भक्तजनहरुको आवश्यकतालाई लक्षित गरी उनीहरुको सुविधाका लागि शुद्ध शाकाहारी भोजन तयार हुने सेफ सन्तोषले बताए ।