सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द
मंगलबारे । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो । त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए । मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ । नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौं उडान भर्दैआएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए । सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । मौसम खुलेपछि नियमित उडान हुने उनले बताए । हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ । हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन् ।
९५ प्रतिशत पर्यटकको नगदमै कारोबार, यी हुन राष्ट्र बैंकले देखाएका कारण
काठमाडौं । नेपाल भ्रमण गर्ने अधिकांश विदेशी पर्यटकहरूले नगद कारोबार गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाइ तथा खर्चको प्रवृत्तिसम्बन्धी गरेको विशेष अध्ययन प्रतिवेदनमा साढे ९५ प्रतिशतले नगदका माध्यमबाट भुक्तानी गर्ने गरेका छन् । सर्वेक्षणमा संलग्न पर्यटकहरूमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले, कार्डको माध्यमबाट ४.९७ प्रतिशत पर्यटकले र मोबाइल वालेटको माध्यमबाट ०.१० प्रतिशत पर्यटकले विभिन्न खर्चका लागि भुक्तानी गर्ने गरेका छन् । बसाइ खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ८७.८० प्रतिशत पर्यटकले नगदका माध्यमबाट, ११.९ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट र ०.३० प्रतिशत पर्यटकले मोबाइल वालेटका माध्यमबाट भुक्तानी गर्ने गरेका छन् । खानपिन खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९१.४४ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र ८.२६ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यातायात खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९६.६१ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र ३.३९ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको देखिएको छ । पर्यटकले गर्ने गरेका विभिन्न पर्यटकीय क्रियाकलापका लागि भुक्तानी गर्ने क्रममा ९८.१६ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र १.८४ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पर्यटकहरूले तिर्ने राजस्वमा पनि सबैभन्दा धेरै ९८.०२ प्रतिशत पर्यटकले नगदमार्फत भुक्तानी गर्ने गरेको पाइएको छ । विभिन्न खर्चको भुक्तानी गर्दा नगद नै बढी प्रयोग हुनुको कारणहरूमा कार्ड रिडिङ मेसिन सबै ठाउँमा सहजै उपलब्ध नहुनु, भएकाले पनि सबै कार्ड स्वीकार नगर्नु, कमिसन शुल्क धेरै हुनु, कार्डबाट नगद निकाल्ने सीमा थोरै हुनु, सबै ठाउँमा अनलाइन भुक्तानी गर्न नसक्नु, ई-पेमेन्टको सेटलमेन्टमा ढिलाई हुनु, कार्डको माध्यमबाट भुत्तानी गर्दा वस्तु तथा सेवाको मूल्य नै बढी तिर्नुपर्ने लगायतका कारण रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । विश्वका ४१ देशबाट गण्डकी प्रदेशमा भ्रमण गर्ने पर्यटकहरू समावेश गरी राष्ट्र बैंकले अध्ययन गरेको थियो । सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलियाबाट पर्यटकहरू आउने गरेका छने । सबैभन्दा बढी युरोप महादेशबाट ४६.२५ प्रतिशत र सबैभन्दा कम दक्षिण अमेरिका महादेशबाट ०.७५ प्रतिशत पर्यटकहरू आउने गरेका छन् । तर, अफ्रिका महादेशबाट गण्डकी प्रदेशमा पर्यटकहरू आएको पाइएन । सबैभन्दा बढी साहसिक क्रियाकलापमा संलग्न हुन ४०.१८ प्रतिशत र सबैभन्दा कम २.९८ प्रतिशत पर्यटकहरू व्यापारिक प्रयोजनका लागि आउने गरेको राष्ट्र बैंकले जनाएको छ । गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरूको नेपालमा औसत बसाइ अवधि २२ दिन रहेको अध्ययनले देखाएको छ । तर, गण्डकी प्रदेशमा औसत बसाइ अवधि भने १२ दिन रहेको पाइएको छ । उक्त सर्वेक्षणमा संलग्न पर्यटकहरूको नेपालको औसत बसाइको तुलनामा गण्डकी प्रदेशको औसत बसाइ ५४.५५ प्रतिशत रहेको छ । [pdf id=500392]
रेसुंगा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
गुल्मी । जिल्लाको रेसुंगा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन । रेसुंगा‐काठमाडौं र काठमाडौं‐रेसुंगाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन् । मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताए । गुल्मीको रेसुंगा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ । काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका छ । सोही तालिकाअनुसार निगमले काठमाडौंबाट रेसुंगा लागि सात हजार पाँच सय रुपैयाँ र रेसुंगाबाट काठमाडौंका लागि सात हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । जिल्लामा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो । रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ । पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि एक वर्षमा एक सय २५ उडान भइसकेका विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दूरीमा पर्दछ ।