सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिँदै नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ । कम्पनीले आजदेखि लागु हुने गरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु हुने व्यवस्था मिलाएकाे बताएको छ । यसअनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (एक्टिभ) गराउनुपर्ने अवस्था रहेकामा अब भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ । सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरूले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरूमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि*1415*7# डायल गर्न या NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नका लागि [email protected] मा इमेल मार्फत अनुरोध गर्न सकिनेछ । नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ । मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नास आईटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको आईटी इकोसिस्टको विकास र प्रवर्द्धन गर्नका लागि ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुवै संस्थाबीच सहकार्य गरिएको छ । नास आईटीका अध्यक्ष श्रेष्ठले नेपालको आईटी उद्योगलाई बलियो बनाउन र सशक्तिकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए । यस्तै प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले आईटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्न नास आईटीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको जानकारी दिँदै डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन यसले ठूलो भूमिका खेल्ने बताए ।
पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आव २०८१/८२ मा मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा सोमबार आयोजित गत आव २०८०/८१ का कार्य प्रगतिबारे समिक्षा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले विषयगत मन्त्रालयको खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेकाले त्यसतर्फ जिम्मेवार हामी सबैको ध्यान जानुपर्ने धारणा व्यक्त गरे । उनले विकासका अवरोधका रूपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गर्दै बाधक देखिएका त्यस्ता ऐन, कानुनलाई समसामयिक, व्यावहारिक एवं कार्यान्वयनमुखी बनाउनुपर्नेमा जोड दिए । आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नाले पनि कार्यप्रगतिमा वाधा अवरोध सिर्जना भएको उनको भनाइ थियो । सेवामा इमानदारीपूर्वक खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालय अन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग सञ्चारमन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए । राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियोे नेपाल, गोरखापत्रलगायतका संस्थानका आफ्नै चलअचल सम्पतिको संरक्षण र परिचालन गर्न उनले निर्देशन दिए । ‘हामीले हाम्रै सम्पतिको संरक्षण र परिचालन गर्न नसकिरहेको अवस्था छ,’ उनले भने, ‘अल अचल सम्पतिको भरपुर सदुपयोग गरेर राजस्व बढाउनेतर्फ ध्यान दिउँ ।’ उनले राष्ट्रिय गौरवका योजनाहरुमध्ये ‘डिजिटल नेपाल’, ‘स्याटेलाइट’ र ‘सुरक्षण मुद्रण केन्द्र’ पनि हुनुपर्ने जिकिर गरे । मन्त्रालयले यिनै मुख्य तीन विषयलाई समेटेर ‘हिरो मिसन’ को रूपमा लिएको जानकारी दिए । मन्त्रालयले डिजिटल नेपाल बनाउने, स्याटेलाईट र सुरक्षण मुद्रण केन्द्र (प्रिन्टीङ प्रेस) आफ्नै बनाउने उनले बताए । ‘अबको विकास सूचना प्रविधिको हो,’ उनले भने, ‘हामीले यी विषयलाई ‘हिरो मिसन’ का रूपमा लिई अघि बढ्नुपर्दछ ।’ राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठले समस्यामा अल्झिएर नभइ समाधानसहितको बैठक बस्न आवश्यक रहेको बताए । उनले प्रविधिको विकास एवं विस्तारसहित रोजगारी सिर्जनाका सन्दर्भमा मन्त्रालयसँग आयोगले सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको डिजिटल दशक बनाउने लक्ष्य पूरा गर्न सबै कर्मचारीबीच सहकार्यको अपेक्षा गरेको बताइन् । कार्यक्रममा मन्त्रालयअन्तर्गतका विभाग र निकायका प्रमुख र सरोकारवाला मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।