वालेटले ओगट्छन् अर्बौ बचत, जोखिममा प्रयोगकर्ता
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी वालेटहरूले ४३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ४२ लाख ५७ हजार ६५६ जनाले वालेटबाट ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार गरेका हुन् । गत असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ जनाले ३८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । त्यस समयमा ३ करोड २१ लाख ५ हजार ९१७ पटक कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार २०७९ असारमा १ करोड ६२ लाख ६ हजार ३५६ पटक १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । तीन वर्षअघि वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थिए । गत वर्ष (२०८० असार) मा २ करोड ८ लाख २२ हजार ८६१ पटक २० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वालेट प्रयोगकर्ता संख्या बढेर १ करोड ८९ लाख ४१ हजार ७९१ जना थिए । भुक्तानी वा कारोबारमा काम गरिरहेका डिजिटल वालेटको प्रयोग निरन्तर उकालो लागेको छ भने कारोबार रकम पनि बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । पाँच वर्षको अवधिमा वालेट प्रयोगकर्तासँगै कारोबार रकम पनि उच्च वृद्धि भएको छ । पाँच वर्षअघि २०७७ साउनसम्म वालेट प्रयोगकर्ता ६२ लाख ७४ हजार १२९ जना थिए । तर, ५ वर्षमा प्रयोगकर्ताको संख्या २८६.६२ प्रतिशत बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ जना पुगेका छन् । यस्तै, कारोबार रकम पनि ४७६.५६ प्रतिशत बढेको छ । ५ वर्षअघि वालेटबाट ७ अर्ब ५७ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । कति छ वालेटमा बचत ? कुन वालेट कम्पनीमा कति बचत छ भनेर सार्वजनिक तथ्याङ्क छैन । सर्वसाधारणको अर्बाैं रुपैयाँ रहेको वालेट कम्पनीमा राष्ट्र बैंकले पनि सार्वजनिक गर्न मान्दैन । तर, वालेट कम्पनीका सीईओहरूसँगको अनौपचारिक कुराकानीका आधारमा दैनिक अर्बाैं रुपैयाँ वालेटमा बचत रहन्छ । वालेट कम्पनीहरूमा सबैभन्दा धेरै प्रयोगकर्ता (युजर) ईसेवामा छन् । ईसेवा १ करोड बढीले डाउनलोड गरेको भएपनि वास्तविक प्रयोगकर्ता भने ६० लाख हाराहारीमा मात्रै रहेको कम्पनी स्रोतको भनाइ छ । स्रोतका अनुसार दैनिक कारोबार गर्दा पनि दैनिक २ देखि ३ अर्ब रुपैयाँ ईसेवामा बचत रहन्छ । यस्तै, खल्ती र आइएमई पेका प्रयोगकर्ताको संख्या पनि उच्च छन् । खल्तीका २४ लाख प्रयोगकर्ता छन् भने आइएमई पेको पनि सोही हाराहारीमा प्रयोगकर्ता रहेका छन् । स्रोतका अनुसार यी दुई वालेटमा प्रयोगकर्ताको बचत १ अर्ब बढी नै हुने गरेको छ । यस्तै, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभभित्र पर्छन् । जसमध्ये माइ पेका १० लाख, प्रभु पेका ९ लाख र नमस्ते पेका ७ लाख प्रयोगकर्ता छन् । स्रोतका अनुसार यी वालेटको पनि दैनिक बचत ५० करोडभन्दा बढी हुने गरेको छ । अन्य कम्पनीको प्रयोगकर्ता कम भए पनि सर्बसाधारणको बचत रकम करोडौंमा रहेको छ । सजिलो पेका प्रयोगकर्ता २ लाख ८० हजार छन् भने पे वेलका ४ लाख बढी प्रयोगकर्ता छन् । स्रोतका अनुसार पेवेलको बचत १७ करोडभन्दा बढी रहेको थियो । त्यसैले २६ वटै वालेट कम्पनीको तथ्याङ्कलाई जोड्दा अर्बाैं रूपैयाँ हुने देखिन्छ । अप्ठ्याराेमा वालेट कम्पनी राष्ट्र बैंकको तथ्याङ्कअनुसार २६ वटा वालेट कम्पनी सञ्चालनमा छन् । कम्पनीका कर्मचारीहरू र नियामक नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग कुरा गर्दा अहिले अधिकांश वालेट कम्पनीहरू घाटामा सञ्चालन भइरहेका छन् । सर्वसाधारणको अर्बौं रूपैयाँ होल्ड गरेर व्यवसाय सञ्चालन गरिरहेका वालेट कम्पनीहरू घाटामा जाँदा सर्वसाधारणको वालेटमा रहेको रकम पनि जोखिममा छ । लामो समयदेखि वालेट सञ्चालनमा रहेपनि उल्लेख्य नाफा भने गर्न सकेका छैनन् । अहिले सञ्चालनमा रहेको ईसेवा मात्रै नाफामा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हालसम्म खल्ती र आइएमई पे वालेटले लागत मात्रै उठाउन सकेका छन् भने अन्य वालेट कम्पनीलाई लागत पनि उठाउन सकस परिरहेको राष्ट्र बैंकको भुक्तानी विभागका एक कर्मचारीले बताए । वालेटमा कमाइ भन्दा धेरै खर्च हुने गरेको ती कर्मचारीको भनाइ छ । खल्ती गत वर्षदेखि नाफा आर्जन गर्ने योजनाका साथ काम गरिरहेको थियो । तर, विभिन्न कारणले कम्पनी नाफामा जान नसकेको बताइएको छ । चालु आर्थिक वर्षदेखि भने नाफा गर्ने लक्ष्यमा रहेको खल्तीका एक कर्मचारीको भनाइ छ । ‘डिजिटल कारोबारको भविष्य राम्राे रहेकाले अहिले लगानीमा जोड दिइरहेका छन्, बैंकहरूले पनि डिजिटलमा लगानी मात्रै गरिरहेका छन्, त्यति धेरै नाफा गर्न सकेका छैनन्,’ एक वालेट कम्पनीका सीईओले भने, ‘वालेटमा दीर्घकालीन लगानी गरेका छौं, अब काम गर्दै जाँदा केही समय लाग्न सक्छ, अहिले नाफाभन्दा पनि एउटा आधार बनाउन लागिरहेका छौं ।’ वालेटले मागे ब्याज वालेट कम्पनीले निक्षेप जम्माको काम गर्न पाउँदैनन् । त्यसैले सेटलमेन्ट बैंकमा रकम राख्नुपर्ने हुन्छ । दैनिक अर्बाैं रुपैयाँ बचत रहने भएकाले सो बापतको ब्याज पाउनुपर्ने वालेट कम्पनीहरूले माग गर्दै आएका छन् । हाल वालेट कम्पनी घाटामा चलिरहेको र आम्दानीको स्रोत हुने भएकाले दैनिक बचतअनुसारको ब्याज सेटलमेन्ट बैंकले दिनुपर्ने माग गरिरहेका छन् । ‘वालेटको रकम सेटलमेन्ट बैंकमा जम्मा हुन्छ । त्यो रकम वालेटमा देखिने मात्रै हो, भर्चुअल पैसा जस्तै हो, राष्ट्र बैंकले दैनिक वालेटको छुट्टै र सेटलमेन्ट बैंकको छुट्टै रिपोर्टिङ गरिरहेको हुन्छ,’ एक वालेट कम्पनीका सीईओले भने, ‘जस्तो कुनै वालेटले १७ करोड रुपैयाँ राखेको छ भने त्यो सेटलमेन्ट बैंकको कम देखिएमा राष्ट्र बैंकले तत्काल एक्सन लिन्छ, वालेटको ब्यालेन्स र सेटलमेन्ट बैंकको खातामा बराबर रकम हुनुपर्छ ।’ वालेट कम्पनीलाई कल डिपोजिटमा भएको रकममा ब्याज दिने गरिएको छ । तर, सो ब्याजदर न्यून भएकाले बचत खातामा सरह ब्याज दिनुपर्ने माग वालेट कम्पनीको छ । समस्यामा प्रयोगकर्ता अर्बाैंको कारोबार हुने गरेको वालेट प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयतासँगै रकम पनि जोखिममा रहेको छ । राष्ट्र बैंकले गत जेठदेखि पेवेल नेपाल र सजिलो पेको सबै बैंक खाता रोक्का गरेको छ । यी दुईको बैंक खाता रोक्का भएसँगै प्रयोगकर्ताले कारोबार गर्न पाएका छैनन् । यी दुई कम्पनीको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, ५ महिनासम्म पनि प्रयोगकर्ताको बचत सो वालेटमा रहँदा न ब्याज पाउँछन् न कारोबार नै गर्न पाएका छन् । अहिले अर्को एक अग्रणी वालेट कम्पनी पनि ठूलो समस्यामा रहेको बुझिएको छ । सो वालेट कम्पनीको विषयमा नियामक नेपाल राष्ट्र बैंकमा पनि सेवाग्राहीको गुनासो गएको छ । अहिले सहकारीमा झै वालेट कम्पनीहरुमा समस्या देखिएमा त्यसले बैकहरुलाई पनि नराम्ररी असर गर्न सक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।
टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति
काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब २२ करोड रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ । ‘एनटिसीको करिब १५ करोड रुपैयाँ र एनसेलको करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण संकलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब साढे सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ’, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले भने । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण संकलन भइरहेको पनि उनले बताए । बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ । पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उनले बताए ।
स्मार्टफोनको बजार निराशाजनक, दशैं-तिहारका लागि पनि बढेन किनबेच
काठमाडौं । अहिले मोबाइल फोन अर्थात् स्मार्टफोन नभएका मान्छे भेट्न मुस्किल छ । सूचना प्रविधिले यसरी फड्को मारेको छ कि स्मार्टफोन पनि सोचेभन्दा सस्तोमा उपलब्ध हुन थालेको धेरै भइसक्यो । बटम (कि प्याड) वाला मोबाइल सेट हुँदै स्मार्टफोनसम्म आइपुग्दा यसका फिचर धेरै बढेका छन् भने मूल्यमा पनि धेरै भिन्नता आइसकेको छ । महँगा स्मार्टफोनको भने आफ्नो भिन्नै बजार छ । तर, यसपालि दशैंमा स्मार्टफोन बजारमा खासै रौनक र चहलपहल देखिएको छैन । संघीय राजधानीको व्यस्त बजार न्युरोडमा अहिले स्मार्टफोन विक्रेताहरू ग्राहक कुरेर बसेका छन् । पोहोरजस्तो ग्राहकको भीड देख्न सकिएको छैन । न्युरोड क्षेत्रमा रहेका अधिकांश बिजनेश कम्प्लेक्स, डिपार्टमेन्टल स्टोरदेखि भुइँतलामा रहेका सटरमा स्मार्टफोन पसलमा ग्राहक आवागमन खासै बाक्लो छैन । आफूसँगै भएका स्मार्टफोन मर्मत गर्न वा टेम्पर ग्लास फेर्न वा कभर फेर्न आउने ग्राहक केही देखिए पनि नयाँ स्मार्ट फोन खरिद गर्न आउनेहरू भने एकदमै कम रहेको विकासन्यूजकर्मीको स्थलगत रिपोर्टिङले देखाएको छ । पोहोर यतिखेर स्मार्ट फोन छानिछानी किन्नेको घुइँचो नै लाग्थ्यो । तर, यसपालि दशैं सँघारमै आइसक्दा पनि स्मार्टफोन बजारले खासै गति लिन सकेको देखिँदैन । महँगा स्मार्टफोन किन्ने ग्राहक संख्या कम हुनु स्वाभाविक हो । तर, सस्तो मूल्यका स्मार्टफोन खरिद गर्ने ग्राहकसमेत कम हुँदा पसल सञ्चालकहरू यसपालि चाडबाडको व्यापार खासै गतिलाे नहुने अनुमानमा पुगिसकेका देखिन्छन् । न्युरोड पिपलबोट आडैमा रहेको ताम्राकार कम्प्लेक्समा पनि स्मार्टफोन खरिद गर्ने ग्राहकको संख्या सोचेजति देखिँदैन । ताम्राकार कम्प्लेक्स एकमात्र यस्तो कम्प्लेक्स हो, जहाँ स्मार्टफोन, ल्यापटप, मोबाइल फोनका एसेसरिज बिक्री वितरणका साथै मर्मतसम्भार हुने गर्छ । कोरोना महामारीबाट थिलथिलो बनेको मुलुकको अर्थतन्त्रले बिस्तारै लय समाउन थालेपछि स्मार्टफोन बजारले पनि गति लिइरहेको थियो । गएका वर्षहरूमा स्मार्टफोन बजारले राम्रै अंकमा व्यापार गरेको व्यवसायीहरूले अनुभव सँगालेका थिए । तर, यसपालि स्मार्टफोन बजार निराश देखिएको छ । न रौनक छ, न आशातित चहलपहल । खासमा स्मार्टफोन बजारमा किन चहलपहल नभएको होला ? स्मार्टफोन बजार नै किन निराश देखिएको होला ? व्यवसायी के भन्छन् ? स्मार्टफोनका प्रयोगकर्ता के भन्छन् ? न्युरोडमा २० वर्षदेखि मोबाइल पसल चलाइरहेका पवन रिजालले दशैं-तिहार लक्षित गरेर विभिन्न अफर ल्याए पनि बिक्री उत्साहजनक नभएको बताउँछन् । उनका अनुसार पहिलाजस्तो यसपालि चाडबाडको उत्साह उपभोक्तामा देखिएको छैन । ‘यसपालि स्मार्टफोन किन्ने ग्राहक एकदमै कम छन्,’ उनी भन्छन्, ‘मोबाइल किन्नै आउनेले पनि १५ देखि ३० हजार मूल्यका मात्रै हेर्ने गरेका छन् ।’ उनका अनुसार पहिला पसल पनि कम थिए, प्रतिस्पर्धा पनि कम हुन्थ्यो । अहिले मोबाइल पसल पनि प्रशस्तै भएकाले प्रतिस्पर्धा बढेको छ । ‘अहिले मोबाइलकै ठूला स्टोर खुलेका छन्, खुद्रा पसलमै किन्नुपर्छ भन्ने छैन, ‘रिजाल भन्छन्, ‘पहिले दैनिक ३० देखि ४० सेट बिक्री हुन्थ्यो, अहिले जम्मा १०-१२ सेट पनि मुस्किलले बिक्री हुन्छ । विभिन्न अफरले पनि उपभोक्तालाई छोएको छैन ।’ बुबाका लागि स्मार्टफोन किन्न भन्दै सिन्धुलीका रिवाज खतिवडा पवनकै पसलमा पसे । उनले पवनसँग १५ हजारसम्मको स्मार्टफोन देखाउन आग्रह गरे । ‘बाढी पहिरोले गर्दा घर फर्किने बाटो सबै बिग्रिएको छ, जान पाइयो भने बुबालाई एउटा स्मार्टफोन लगिदिऊँ भनेर,’ पवनले देखाएको स्मार्टफोन हेर्दै उनले सुनाए, ‘तर, एकदमै सस्तो किन्ने सोचमा छु, आवश्यकताका हरेक वस्तु महँगिँदै गएका छन्, खर्च त सीमित छ, मैले तोकेको पैसामा मोबाइल आएन भने नकिनेरै फर्किन्छु ।’ यस्तै, न्युरोडकै अर्का मोबाइल पसल सञ्चालक मनिष श्रेष्ठ पनि यसपालि स्मार्टफोनकाे बजारमा खासै उत्साह नभएको बताउँछन् । उनका अनुसार ग्राहकले रेडमी, रियलमी, सामसङलगायत ब्रान्डका कम मूल्यका स्मार्टफोन खरिद गरिरहेका छन् । ‘केही दिनअघि देशमा ठूलै प्राकृतिक विपत्ति आइपर्याे, चाडबाड मनाउन गाउँ फर्किनेले उपहार लगिदिने भनेर पनि किन्न आउँथे,’ श्रेष्ठ भन्छन्, ‘अहिले त घर जाने पनि कसरी भन्ने छ, बाढी पहिराले बाटो सबै बिग्रेको छ, त्यही भएर पनि उत्साह नभएको हुन सक्छ ।’ उनी पनि पर्ख र हेरकै अवस्थामा छन् । दशैं आउन अब एक साता बाँकी छ । ‘अब १/२ दिनपछि अलिकति चलायमान होला कि,’ उनी भन्छन्, ‘अब दशैं बोनस र तलब आउन पनि बाँकी छ होला, त्यसपछि धेरै नै नभए पनि अलिअलि त बिक्री होला ।’ अन्य समयमा पनि २० हजारदेखि ३० हजारसम्मका स्मार्टफोन किन्नेको संख्या अधिक भएको उनी बताउँछन् । भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको सामग्री आयात भएको देखाएको छ । यसमा पनि झन्डै ७ अर्ब रुपैयाँको त स्मार्टफोन आयात भएको देखाएको छ । तथ्यांकअनुसार यो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको ४ लाख ५४ हजार ९ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यो तथ्यांक केलाउँदा साउनमा मात्रै २ लाख २५ हजार थान स्मार्टफोन भित्रिएको छ । बाँकी २ लाख २९ हजार सेट भदौ महिनामा आएको तथ्यांकले देखाएको छ । गत वर्षको साउनमा १ लाख ७९ हजार थान स्मार्टफोन आयात भएको थियो । उक्त वर्षको भदौमा आयात भएको मोबाइलको संख्या १ लाख ८६ हजार थान मात्रै भएको तथ्यांकले देखाएको छ । गत आव २०८०/८१ मा विभिन्न देशबाट कुल २८ अर्ब ६६ करोड रुपैयाँ बराबरको १८ लाख ३९ हजार ३५ थान स्मार्टफोन आयात भएको थियो । अघिल्लो आव २०७९/८० मा भने नेपालमा कुल २४ अर्ब ३९ करोड रुपैयाँ बराबरको १५ लाख ६९ हजार ५ सय ९६ थान स्मार्टफोन नेपाल आयात भएको थियो । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराई बाढी पहिरोजन्य प्राकृतिक विपद्का कारण चाडबाडको समयमा मोबाइल बजार सुनसान देखिएको बताउँछन् । ‘केही दिनअघिको वर्षाले विपत्ति निम्त्याउनुअघि नै बजार सुनसान देखिएको थियो, अहिले त झनै सुनसान भयो,’ उनी भन्छन्, ‘पोहोरको दशैंका बेला हामीले ८० प्रतिशत मोबाइल बेचेका थियौं, अहिले २० प्रतिशत पनि पुगेको छैन ।’ दशैं आउन एक साता बाँकी रहे पनि यो एक सातामा पनि सोचेजस्तो व्यापार नहुने उनी बताउँछन् । ‘दशैं तिहारका लागि घर जानेले आफन्तजनलाई मोबाइल उपहार लगिदिन्थे,’ उनी भन्छन्, ‘यसपालि बाटोघाटो बिग्रेकाले काठमाडौंबाट धेरै मानिस बाहिर नजाने खबर छ, यसले गर्दा पनि व्यापार बढेन ।’