एनसेल एपको नयाँ अफर, १०० रुपैयाँ रिचार्जमै बोनस डेटा पाइने
काठमाडौं। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । डिजिटल माध्यममार्फत सेवाको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले एनसेलले यो नयाँ योजना ल्याएको हो । कम्पनीका अनुसार यो अफर अन्तर्गत, १०० रुपैयाँदेखि २०० रुपैयाँसम्म अनलाइन रिचार्ज गर्दा १ दिनको लागि २०० एमबी डेटा बोनस स्वरूप प्राप्त हुनेछ । त्यसैगरी, २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३ दिनसम्म मान्य ५०० एमबी बोनस डेटा पाइनेछ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने यो बोनस लागू हुनेछैन । एनसेलले ग्राहकमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका साथ एनसेल एपलाई एक आधुनिक सेल्फ–केयर टुल को रूपमा विकास गरेको हो । यस एपमार्फत ग्राहकहरूले सजिलै डेटा, भ्वाइस प्याक, सधैं अन प्याकहरू, प्याक उपहार दिने सुविधा, सेवा प्रयोग विवरण हेर्ने, र रोमिङ सेवाहरू प्रयोग गर्न सक्छन् । एनसेल एपले ग्राहकलाई डेटा र भ्वाइस बीचमा परिवर्तन गर्ने सुविधा पनि दिन्छ, जसले सेवा उपयोगलाई अझ लचिलो बनाउँछ । एनसेल एपमा अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचार, मासिक बिल विवरण, सेवा सक्रिय वा निष्क्रिय गर्ने विकल्प, र विदेशमा रहेका ग्राहकका लागि सजिलो रिचार्ज तथा सम्पर्क सुविधा उपलब्ध छ । यसले छोटो वा लामो अवधिको लागि विदेश जाने प्रयोगकर्तालाई पनि प्रभावकारी समाधान प्रदान गर्छ । एनसेल एप गुगल प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ । यो एप प्रयोग गरेर ग्राहकहरूले बोनस डेटासहित अन्य विविध डिजिटल सेवाको सहज लाभ लिन सक्नेछन् ।
रुसमा साइबर आक्रमण, १० टेराबाइट डेटा लीक, ट्रम्पका फाइल पनि समावेश भएको दावी
काठमाडौं । विश्वप्रसिद्ध ह्याकिङ समूह एनोनिमसले रुसमा भएको एक ठूलो साइबर आक्रमणको जिम्मेवारी लिएको छ । यस ह्याकिङ समूहले एक्स (पहिलेको ट्वीटर) मा जानकारी दिँदै लेखेको छ कि १० टेराबाइट डेटा इन्टरनेटमा अपलोड गरिएको छ । यस डेटामा रुसको राजनीतिक अवस्था, स्थानीय व्यवसाय, रुसलाई समर्थन गर्ने अधिकारी र क्रेमलिनसँग सम्बन्धित सम्पत्तिहरू बारे विवरणहरू समावेश छन् । दाबी गरिएको छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित फाइलहरू पनि लिक गरिएको छ । एक्समा गरिएको पोस्टमा सार्वजनिक गरिएका फाइलहरूको सूचीमा ’लिक डेटा अफ डोनाल्ड ट्रम्प’ नामक फाइल पनि देखिएको छ । एक्स पोस्टमा के उल्लेख छ ? 'हामीले युक्रेनको समर्थन गर्दै रूसमा कार्यरत व्यवसायहरूसँग सम्बन्धित १० टेराबाइट डेटा लीक गरेका छौं । यसमा क्रेमलिनसँग सम्बन्धित सम्पत्ति, रुसलाई समर्थन गर्ने अधिकारीहरू र डोनाल्ड ट्रम्पसँग सम्बन्धित जानकारीहरू समावेश छन् ।’ In defense of Ukraine Anonymous has released 10TB of leaked data on all businesses operating in Russia, all Kremlin assets in the West, pro-Russian officials, Donald Trump, and more. 🇺🇦 #OpRussia https://t.co/Z1wKhjcSUz pic.twitter.com/Hod9qGBi8l — Anonymous (@YourAnonCentral) April 15, 2025 एनोनिमसले थप कुनै विवरण साझा गरेको छैन, न त भविष्यमा अरू डेटा लीक गर्ने धम्की नै दिएको छ । एनोनिमस समूह को हो? एनोनिमस एक विश्वप्रसिद्ध ह्याकिङ समूह हो जसले आफ्नो कार्यलाई ह्याक्टिभिज्म अर्थात् ह्याकिङ र सामाजिक आन्दोलनको मिश्रण भनेर चिनाउँछ । यस समूहले विभिन्न सरकारी र निजी संस्थाहरूलाई लक्षित गर्ने इतिहास राखेको छ, प्रायः भ्रष्ट वा जनविरोधी मानिने समूहहरूलाई । ट्रम्प - रशियन एजेन्ट? यस वर्षको सुरुमा एनोनिमस समूहले डोनाल्ड ट्रम्पमाथि रुसको लागि जासुसी गरिरहेको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए । उनीहरूले ट्रम्पको पुटिनसँग सम्बन्ध रहेको दाबीसमेत गरेका थिए । ट्रम्पद्वारा ट्यारिफ नीति लागू गरिएपछि एनोनिमस समूह झनै सक्रिय भएको देखिन्छ । सन् २०२२ मा यस समूहले युक्रेनको समर्थनमा रुसविरुद्ध साइबर युद्ध सुरु गर्ने घोषणा गरेको थियो ।
फुटबल महानायक रोबर्टो कार्लोस एनएसएल क्वालिफायरमा वैशाख ६ गते नेपाल आउने
काठमाडौं । फुटबलका विश्व चर्चित डिफेन्डर र ब्राजिलका लिजेन्ड खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने पक्का भएको छ । एनएसएलले वैशाख ६ मा आयोजना गर्न लागेको रोमाञ्चक क्वालिफायर खेलमा कार्लोसको उपस्थिति तय भएपछि नेपाली खेलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ । ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने उक्त खेल गत सिजनको फाइनलको पुनरावृत्ति हुनेछ । ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ भने धनगढी पहिलो उपाधिको खोजीमा हुनेछ । रोबर्टो कार्लोस आफ्नो तीव्र फ्रिकिक, अद्वितीय गतिशीलता र विश्वस्तरीय डिफेन्स क्षमताका कारण विश्व फुटबलमा उच्च सम्मानित छन् । उनले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमको तर्फबाट खेलेर फिफा विश्वकप, चार ला लिगा उपाधि र थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् । कार्लोस वैशाख ५ गते नेपाल आउने छन् । सोही दिन उनले गाला डिनर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ । एनएसएलमा कार्लोसको उपस्थितिले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । एनएसएलको यो सिजन कार्लोसको आगमन, रोमाञ्चक खेलहरू र देशभरका शीर्ष खेलाडीहरूको सहभागितासहित अहिलेसम्मकै भव्य सिजन बन्ने अपेक्षा गरिएको छ । प्रशंसकहरूले खेल हेर्नको लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् ।