नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५ सम्पन्न, नेपाल-अस्ट्रेलिया प्रविधि सहकार्यमा नयाँ आयाम

काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आइटी) ले आयोजना गरेको नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५ सिड्नीस्थित राइड्जेस वर्ल्ड स्क्वायरमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र अस्ट्रेलियाका प्रविधि क्षेत्रका आविष्कारक, उद्यमी, लगानीकर्ता तथा उद्योग अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रोडशोको उद्देश्य नेपालको बढ्दो आईटी र सफ्टवेयर क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नुका साथै दुवै देशबीच प्रविधि सहकार्य र लगानीका नयाँ अवसरहरू सिर्जना गर्नु रहेको आयोजक नास आइटीले जनाएको छ । कार्यक्रमको उद्घाटन टेकक्राफ्ट इंकका सह–संस्थापक तथा नास आइटी सदस्य अनिश श्रेष्ठले गरेका थिए । त्यस्तै, ईके सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत तथा नास आइटी अध्यक्ष गौरव पाण्डेले नेपालको विकासशील प्रविधि इकोसिस्टमबारे विस्तृत प्रस्तुति दिएका थिए । कार्यक्रमको प्रमुख आकर्षण अस्ट्रेलियाली र नेपाली प्रविधि इकोसिस्टमबीच सहकार्य र लगानीका अवसरहरू विषयमा गरिएको प्यानल छलफल थियो । एमिनेंस वेजका प्रबन्ध निर्देशक तथा नास आइटी कार्यकारी सदस्य नारायण कोइरालाको संयोजनमा भएको छलफलमा दुवै देशका विज्ञहरूले चुनौती, सम्भावना र व्यावहारिक कदमबारे गम्भीर बहस गरेका थिए । प्यानलमा सहभागीहरूमा डाटा विश्लेषण, मेसिन लर्निङ र सूचना सुरक्षामा विशेषज्ञ मनोज घिमिरे, डिजिटल रचनात्मकता तथा प्रयोगकर्ता अनुभव डिजाइनका विज्ञ माइकल सिग्नल, र एसिया–प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको नेतृत्व गरिरहेका सुदीप आचार्य रहेका थिए । कार्यक्रमको समापन रात्रिभोजसहितको नेटवर्किङ सत्रबाट गरिएको थियो, जसले सहभागीहरूलाई विचार आदानप्रदान र सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको थियो । नास आइटीका अनुसार यस कार्यक्रमले नेपालको तीव्र गतिमा विकास भइरहेको प्रविधि परिदृश्य, नेपाली स्टार्टअपहरूले प्रस्तुत गरेका नविन समाधानहरू र अस्ट्रेलियामा सहकार्यका सम्भावनाबारे गहिरो जानकारी प्रदान गरेको छ । कार्यक्रम एनसेल बिजनेसको सहयोगमा सम्पन्न भएको हो । नास आइटीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपालको प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।

सामाजिक सञ्जालसम्बन्धी निर्देशनप्रति नास-आईटीको चिन्ता, प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास–आईटी) ले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी हालको निर्देशन र केही प्ल्याटफर्ममा लगाइएको पूर्ण प्रतिबन्धले नेपालको आईटी क्षेत्रमा प्रत्यक्ष असर पारेको भन्दै चिन्ता व्यक्त गरेको छ । नास–आईटीका अनुसार, यस कदमले नेपालभित्र र अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्ने आईटी कम्पनीहरूको दैनिक कामकाजमा अवरोध पुगेको छ । ग्राहकहरूसँगको सञ्चार पूर्णरूपमा अवरुद्ध हुँदा परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र व्यापार व्यवसाय जोखिममा परेको संघको भनाइ छ । 'नेपालको विश्व आईटी बजारमा बढ्दो अवसर र सकारात्मक छवि कायम राख्न, दैनिक सेवा सम्प्रेषणलाई सहज बनाउन र व्यवसायलाई प्रतिस्पर्धात्मक बनाउन यस्ता सञ्चार माध्यमको अविच्छिन्न पहुँच अपरिहार्य हुन्छ,' नास–आईटीले जारी विज्ञप्तिमा उल्लेख गरेको छ । संघले सुरक्षित र जिम्मेवार डिजिटल वातावरण बनाउन सरकारले लिएको पहलप्रति समर्थन जनाउँदै, सेवा पूर्णरूपमा अवरुद्ध नगरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।  सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो ।  मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भई सक्रिय गराइसकेको जनाएको छ। मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रूपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।  नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात् सोही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिए । नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जबाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।  सरकारले यही भदौ २२ गतदेखि सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रय गराएको छ । सञ्चार मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचनामार्फत सात दिनको समय दिई सामाजिक सञ्जाललाई सूचीकरणका लागि आग्रह गरेको थियो । सो समय सीमा भित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रय गराएको हो ।