माइक्रोसफ्टले सुरु गर्‍यो पानीमुनि डाटा सेन्टरको परीक्षण, क्लाउड छाडेर समुन्द्र तिर किन ?

काठमाडौं, १८ साउन। समयको यस्तो क्षण जसमा हामी आफ्ना डेटाहरु जोगाउन क्लाउडतिर हेरिरहँदा माइक्रोसफ्ट भने समुन्द्रको गहिराई हेर्दैछ। कम्पनीले पानीमुनि प्रोटोटाइप डाटा सेन्टरको परीक्षणमा जुटेको छ। यसलाई कम्पनीले अमेरिकाको पश्चिम तटीय सागरको १ किलोमिटर गहिराईमा राख्दैछ। डाटा स्टोर गर्ने लियोना फिलपट नाम लिइएको यो युनिटबाट कुनै पनि डेटा ९० दिनसम्म विश्वको कुनै पनि ठाउँमा जोगाउन सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्य राखिएको छ। विश्वको आधाजति जनसंख्या समुन्द्री पानीको सतह नजिकै बस्ने भएकाले उनीहरुसँग नजिकिन लागेको डेटा सेन्टरले आर्थिक भार कम पार्ने र स्पिड बढाउन सक्ने बताइएको छ।   यसमा थप वातावरणीय फाइदाहरु पनि धेरै छन्। प्राकृतिक करेन्टबाट विद्युत उत्पादन र प्राकृतिक रुपमै कुलिङ समेत गर्न सकिन्छ।   ‘गहिरो सतहमा रहेको पानीले सहजै कुलिङ गराउन सघाउँछ भने नविकरणीय उर्जा पनि उत्पादन हुन्छ र वातावरण सन्तुलन राख्छ,’ परियोजनाको नेतृत्व गरिरहेका नर्म ह्वइटेकरले भने। प्रविधिको ताप डेटा सेन्टरलाई चिसो बनाउनु कुनै पनि आइटी कम्पनीका लागि चुनौतीपूर्ण काम हुने गरेको छ। फेसबुक र गुगलजस्ता कम्पनीले आफ्नो डेटा सेन्टरलाई कम तापक्रम हुने मुलुकमा स्थानान्तरण गर्नुको मुल कारण यही हो। यसबाट उनीहरुको लागत समेत घटिरहेको हुन्छ।   हरेक १८ महिनामा करिब दोब्बर इलेक्ट्रोनिक डेटा उत्पादन भइरहेको छ विश्वभर। अनलाइनमा धेरैभन्दा धेरै इन्टरनेटमा आधारित प्रडक्टहरु थपिँदैछन् जसले डाटा उत्पादन झन तीब्रतर गतिमा बढाएको छ। यी तथ्याङ्कहरु सबै कही न कही स्टोर हुनुपर्छ। र, त्यस्तो ठाउँ चिसो हुनुपर्छ।   त्यसो त समुन्द्र पहिलेदेखि नै डेटाको पूर्वाधार विकासका लागि प्राण नै हो। ९९ प्रतिशतभन्दा धेरै डेटा पानीमुनि रहेका केबुलबाट विश्वव्यापी रुपमा प्रसार हुने गर्छ।   स्याटेलाइटको विकासपछि पनि स्थायित्व र विश्वसनीयताका आधारमा केबुलहरु प्रविधिको पहिलो रोजाई हुने गरेको छ। माइक्रोसफ्टले ५ वर्षभित्र पानीमुनि डेटा सेन्टरहरु पूर्णरुपमा राखेर काम लिन सक्ने अपेक्षा गरेको छ। त्यसपछि त्यसलाई सतहमा ल्याउने र मर्मत तथा सुधार गर्न सकिने छ। कम्पनीले कम्तिमा पनि २० वर्षसम्म एउटा युनिटबाट काम लिन सकिने लक्ष्य राखेको छ। डलिमेल युकेवाट साभार

टेलिकमको सामाजिक सञ्‍जाल ‘मिट’मा प्रयोगकर्ता ४६ हजार पुगे

काठमाडौं १७ साउन। औपचारिक सेवा सुचारु गरेको ७ महिनामा नेपाल टेलिकमको सामाजिक सञ्जाल मिटका प्रयोगकर्ता उल्लेख्य रुपमा बृद्धि भएका छन्। गत माघदेखि टेलिकमले मिटको औपचारिक सुरुवात गरेको थियो। अहिलेसम्म मिटमा ४६ हजार भन्दा धेरै प्रयोगकर्ता भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन। लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको गत पुषमा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए। नेपाल टेलिकमले आफ्ना विभिन्‍न सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउन युनिफाइड कम्‍युनिकेशन सिस्टम (UCS) को रुपमा विकास गर्न यो सेवा ल्‍याएको हो। टेलिकमका ग्राहकले आफ्‍नो जीएसएम वा सिडिएमए मोबाइलमार्फत मिटको सुविधा लिन सक्छन्। टेलिकमले युसिएसमार्फत् ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिएको छ। त्यस्तै एक पटकमा धेरै संख्यामा एसएमएस पठाउन बल्क एसएमएसको पनि पठाउन मिल्छ। यसमा म्यासेजको क्यारेक्टर संङ्ख्या एक सय ६० वाट बढाएर तीनसय २० पुर्‍याएको टेलिकमले जनाएको छ । विस्तृत कार्ययोजना र लक्ष नबनाइकन आएको यो सञ्जालले अहिलेसम्म सामाजिक सञ्जाल प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न सकेको छैन। निशुल्क मेसेजको सुविधा पाउँदा पनि यो सञ्जालको खासै प्रयोग भएको छैन। यसले कम्पनीका सेवाग्राहीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ।  सो सञ्जालबाट कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तक्रिया समेत गर्न सकिन्छ। टेलिकमले दश करोड २० लाख कुल लगानीमा सुरु गरेको यो सञ्जालमा दिनहुँ प्रयोगकर्ता बढिरहेका छन्। ‘औषतमा दैनिक दुइसय ५० प्रयोगकर्ता थपिन्छन्’ प्रवक्ता वैद्यले भनिन् ‘अझै परिष्कृत गरेर प्रयोगकर्ता थप्ने र सेवा विस्तार गर्ने योजना रहेको छ।’

एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’, रु २०० मा ४०० मिनेट अननेट टक टाइम

काठमाडौं, १६ साउन । देशकै अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । जस अन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले कर सहित मात्र रु २०० मा ४०० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । अर्थात्, यो प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र ५० पैसा प्रति मिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्छन् । मासिक भ्वाईस प्याक यहि सोमबार (साउन १७, २०७३) देखि स्थायी सेवाको रुपमा लागु हुनेछ। एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआर मार्पmत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् । “हाम्रा प्रिपेड ग्राहकका लागि प्रति मिनेट ५० पैसामा कुरा गर्न सकिने यो मासिक भ्वाईस प्याक ल्याउन पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्घता अनुरुप यो प्याक ल्याइएको होे ।” ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् । यो प्याक सुचारु भएको दिनबाट ३० दिनको लागी मान्य हुनेछ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ । यो प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिन्छ । सुलभ दरमा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिवद्धता बमोजिम एनसेलले दैनिक भ्वाईस प्याक, साप्ताहिक भ्वाईस प्याक, डेली नाईट भ्वाईस प्याक र डे भ्वाईस प्याक पनि ग्राहकलाई प्रदान गर्दै आएको छ । ग्राहकहरुले १७११८ डायल गरी भ्वाइस प्याकको बारेमा जानकारी लिन सक्छन् ।