तपाईलाई अल्छि अनुभव भइरहेको छ, गुगलमा ‘आई एम फिलिङ क्युरियस’ सर्च गर्नुस्
काठमाडौं, ७ कात्तिक। गूगलले भर्खरै आफ्नो लोगो परिवर्तन गर्दै नयाँ फिचर पनि सार्वजनिक गरेको छ । नयाँ फिचरले आवश्यक जानकारी दिनुका साथै आलस्य भएको समयमा पढ्नका लागि रमाइला सामग्री पनि प्रस्तुत गर्छ । यसका लागि गूगलको सर्च इञ्जिन अर्थात् खोजका लागि टाइप गरिने बाकसभित्र अङ्ग्रेजीमा ‘आई एम फिलिङ क्युरियस’ वा ‘फन फ्याक्ट’ टाइप गर्नुपर्छ । यसो गरेपछि गूगलले पढ्दा रमाइला लाग्ने अनौठा प्रश्न र तिनको रोचक उत्तर पनि प्रस्तुत गर्छ । गूगलको फिचरले हाम्रा सामु राख्ने प्रश्नका बारेमा हामीले शायदै सोचेका हुन्छौं । यसो गर्दा कुनै एक विषयका बारेमा जान्ने अवसर त प्राप्त हुन्छ नै, लगत्तै तल अर्को प्रश्न सोध्ने विकल्प पनि प्रस्तुत हुन्छ । स्क्रिनमा लेखिएको ‘आक्स अनदर क्वेशन’मा क्लिक गरी आफ्नो चाहनाअनुसार विभिन्न विषयका बारेमा जानकारी लिन सकिन्छ । फुर्सदमा रहेर गूगलबाट केही जानकारीमूलक सामग्री पढ्न चाहने जो कोहीका लागि यो फिचर उपयोगी छ । अहिलेका लागि गूगलले अङ्ग्रेजी भाषामा मात्रै कमाण्ड लिइरहेको छ । तर, निकट भविष्यमा नै अन्य भाषामा समेत कमाण्ड दिन सकिने सम्भावना प्रबल छ । एजेन्सीको सहयोगमा
टेलिकमले ‘फोर जी’ सेवा सञ्चालन गर्ने अनुमति पायो, पुसदेखि सेवा सञ्चालन गर्ने
काठमाडौँ, ७ कात्तिक । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार पुस २०७३० देखि सेवा सञ्चालन तथा विस्तार गर्नेगरी प्राधिकरणले अनुमति दिएको छ । अब फोर जी सेवासँगै टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिनुका साथै ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने जनाएको छ । टेलिकमले दसैँअघि नै प्राधिकरणलाई कार्ययोजना बुझाएको थियो । उक्त कार्ययोजनाअनुरुप दुई महिनाभित्र काठमाडौँ र पोखरामा ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउने जनाएको छ । रासस
स्मार्ट टेलिकम सेवा विस्तारमा अाक्रामक, ४ अर्ब २८ करोडको सामाग्री आयात अनुमति माग
काठमाडौं, ७ कार्तिक। स्मार्ट टेलिकमले सेवा विस्तारका लागि दूरसञ्चार उपकरण अायतमा तिब्रता दिएको छ। पछिल्ला बर्षहरुमा अन्य सेवा प्रदायकभन्दा केहि कम रहेको उसले चालु अावको सुरुवातमा ठूलो मूल्य बरावरको सामाग्री अायात माग गरेको छ। नयाँ आर्थिक बर्ष लागेपछि सबै भन्दा धेरै स्मार्ट टेलिकम आक्रामक देखिएको छ। कम्पनीले सवा चार अर्ब रुपैयाँ भन्दा बढीको उपकरण मगाएको हो। कम्पनीले भदौमा चार अर्ब २८ करोड रुपैयाँ बराबरको उपकरण आयात गर्न प्राधिकरणबाट अनुमति लिएको थियो। दूरसञ्चार सेवा प्रदायकले दुई महिनामा साँढे पाँच अर्ब बरावरको उपकरण आयातका लागि दूरसञ्चार प्राधिकरणसँग अनुमति माग गरेका छन्। यो रकम अघिल्ला दुई आर्थिक बर्षको बरावर हो। गत आर्थिक बर्ष उपकरण आयात नगरेको कम्पनीले अघिल्लो आवमा भने एक अर्ब आठ करोड रुपैयाँको टेलिकम उपकरण आयात गरेको थियो। २०६५ सालमा ग्रामिण दूर सञ्चार अनुमति पाएको स्मार्टलाई प्राधिकरणले तीन बर्ष अघि एकिकृत कारोबार गर्ने बाटो खोलिदिएको थियो। त्यस अनुरुप क्रमिक विस्तारमा रहेको कम्पनीले पछिल्लो समय तिब्रता दिएको हो। एकिकृत सेवामा नेपाल टेलीकम र एनसेले स्थापित भइ सकेका एवं युटिएलले समेत जिएसम अनुमति पाएपछि आफुतिर छिटो ग्राहक तान्न स्मार्ट आक्रामक देखिएको छ। कम्पनीले ३५ बढी जिल्लामा सेवा पुर्याइसकेको छ। थप जिल्लामा विस्तार हुने कम्पनीको रणनीति छ। चालु आर्थिक बर्ष लागेपछि उपकरण आयातमा नेपाल टेलिकम र एनसेल समेत थप सकृय देखिएका छन्। यो दुई महिनामा टेलिकमले २८ करोड र एनसेलले ८८ करोड रुपैयाँ बराबरको आयात अनुमति पाइ सकेका हुन्। टेलिकमले गत आवमा कुल साढे दुई अर्ब रुपैयाँ बराबरको उपकरण मगाएको थियो भने करिब २४ करोड रुपैयाँ मात्र उपकरण आयातमा खर्चिएको थियो। नेपालका सबै कम्पनीले आव २०७२/७१ मा तीन अर्ब ७९ करोड तथा २०७२/७३ मा दुई अर्ब ८२ करोडको उपकरणहरु आयात गरेका थिए।