नेपाल स्याटेलाइट कम्पनीलाई प्राधिकरणको प्रश्न, लाइसेन्स किन खारेज नगर्ने ?
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकोे सञ्चालक समितिको बैठकले नेपाल स्याटेलाइट प्रालिलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । गत कात्तिक ५ गते बसेको प्राधिकरण बोर्ड बैठकले १५ दिनभित्र जवाफ दिनेगरी सो कम्पनीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको जनाइएको छ । बोर्ड बैठकको निर्णय अनुसार नेपाल स्याटेलाइट कम्पनीलाई पत्र पठाउने तयारी भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । ‘बोर्डले निर्णय गरेपनि प्राधिकरणले स्याटेलाइट कम्पनीलाई पत्र भने पठाइसकेको छैन, हामीलाई भर्खर जानकारी आएको छ, आज वा भोलि हामीले कम्पनीलाई पत्र पठाउछौँ, पत्र पठाएको १५ दिनभित्र लिखित जवाफ माग गर्ने निर्णय भएको छ’, उनले भने । उनका अनुसार सो कम्पनीले गत असारसम्म दोस्रो किस्ता रुपमा ३३ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने थियो । ‘तोकिएको समयसम्म किस्ता रकम भुक्तानी नगरेपछि हामीले नियमअनुसार स्पष्टिकरण सोध्छौँ, मन्त्रिपरिषद्को निर्णय अनुसार नै सो कम्पनीको लाइसेन्स रद्द हुन्छ’, उनले भने । यसअघि नै मन्त्रिपरिषद्को बैठकले प्राधिकरणले निर्धारण गरेको बक्यौता रकम निर्धारित समयभित्र भुक्तानी नगरेमा लाइसेन्स खारेज गर्ने प्रक्रियामा जाने गरी निर्णय गरेको थियो । साही निर्णय अनुसार स्याटेलाइट कम्पनीको लाइसेन्स खारेजीको प्रक्रियामा गएको प्राधिकरणले जनाएको छ । ‘हामीले नियमअनुसार पत्र पठाउन लागेका हौँ, सरकारकाे निर्णय अनुसार नै कम्पनीको लाइसेन्स स्वत रद्धको प्रक्रियामा गइसक्यो’, पौडेलले भने । यसअघि प्राधिकरणले २०७६ को साउन १५ गते बक्यौता रकम भुक्तानी नगरेको भन्दै लाइसेन्स रद्दको निर्णय गरेको थियो । प्राधिकरणको निर्णयलाई उल्टाउँदै मन्त्रिपरिष्दको बैठकले अन्तिम मौका स्वरुप सरकारलाई बुझाउनुपर्ने रकम ५ किस्तामा बुझाउनेगरी समय दिएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिले पाँच वर्षमा किस्तामा प्राधिकरणलाई १ अर्ब ३८ करोड ७२ लाख ५३ हजार रुपैयाँ बुझाउनुपर्ने समय दिइएको थियो । प्राधिकरणले निर्धारण गरेको किस्ताअनुसार नेपाल स्याटेलाइटले २०७७ को असार मसान्तसम्म २१ करोड ५१ लाख पहिलो किस्ता बुझाइसकेको छ । यस्तै, कम्पनीले दोस्रो वर्ष अर्थात २०७८ को असार मसान्तसम्म ३३ करोड ९८ लाख, तेस्रो वर्ष ३० करोड ८६ लाख, चौथो वर्ष २७ करोड ७४ लाख र पाँचौं वर्ष २४ करोड ६३ लाख गरी १ अर्ब ३८ करोड रुपैयाँ प्राधिकरणलाई बुझाउनुपर्नेछ । नेपाल स्याटेलाइटले प्राधिकरणलाई तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुर वर्षौंदेखि नतिरेपछि यो बक्यौता रहेको हो । नेपाल दूरसञ्चार ऐनमा प्राधिकरणले लाइसेन्स रद्द गरेपछि ३५ दिनभित्र मन्त्रिपरिषद्मा पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान छ । सोही प्रावधानलाई टेकेर सो कम्पनीले पुनरावलोकनका लागि निवेदन दिएको थियो । कम्पनीले दिएको पुनरावलोकन निवेदनमाथि छलफल गर्दै २०७६ पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा पहिलो किस्ता तिर्ने र पाँच वर्षभित्र सबै रकम चुक्ता गर्ने गरी किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको थियो । स्याटेलाइटले प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम, लाइसेन्स नवीकरण शुल्कबापत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन’ र ‘क्राइसिस रेस्पोन्स’ अवार्डबाट सम्मानित
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कार्तिक ९ ९अक्टोबर २६० गते आयोजना भएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रम माझ अवार्डको विजयताको घोषणा भएको थियो । सन् १९९९ मा सुरु भएको वर्ल्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई सम्मान गर्दछ । स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरु मार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै सरकारलाई दीयो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्याए बापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’प्रदान गरिएको हो । त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भुकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’प्रदान गरिएको हो । वर्ल्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्ष देखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ । ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज ग्रुप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरी पाँच कम्पनीहरु सुचिकृत भएका थिए । त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सुचिकृत भएका थिए । यसैगरी एनसेलले हालैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’को १२ औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वर्ल्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द ईण्डष्ट्री गु्रपले एसियामा रहेका विभिन्न कम्पनीहरुलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरुलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरुलाई सम्मान गर्दछ । यसका साथै एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरुका साथ हालैमात्र सस्टेनेबिलिटी लिडरसिपका लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएको थियो । टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरुको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरुलाई सम्मान गर्दछ । सस्टेनेबिलिटी लिडरसिप अन्तर्गतको यो सम्मान त्यस्ता प्रोजेक्टहरुलाई दिइन्छ जसले दीगो विकास लक्ष्यहरु प्राप्तिका लागि ठूलो सम्भावनाहरु बोकेको हुन्छ । गत असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जित्न सफल भएको थियो । एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप ९नेतृत्व० विधामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सीईओ अफ दि इयर’अवार्डबाट सम्मानित भएका थिए । लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ ।
भाटभटेनीमा फाेनपेबाट डिजिटल भुक्तानी गर्न सकिने, छुट पनि पाइने
काठमाडौं । भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् । बिहिबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्यूआर कोड उद्घाटन गरेका थिए । भाटभटेनीमा प्रभु बैंक मार्फत क्यूआर स्क्यान राखिएको छ । यसमा भाटभटेनीमा बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ । जसबाट इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप तथा आइएमई पे तथा सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रवर्धन गर्न छुटको अफर पनि दिइएको बताए । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उनले बताए ।