‘क्लिक केमेस्ट्री’ मा योगदान गर्ने दुई अमेरिकी र डेनमार्कका एक वैज्ञानिकलाई नोबेल पुरस्कार

एजेन्सी । संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् । अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा डेनमार्कका मोर्टेन मेल्डललाई ‘क्लिक केमेस्ट्री र बायोओर्थोगोनल केमेस्ट्री’को विकासका लागि सम्मान गरिएको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बुधबार जनाएको छ । यस वर्ष हालसम्म नोबेल पुरस्कार विजेता सात वैज्ञानिकमध्ये बर्तोजी एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ । पुरस्कारको इतिहासमा विशेष गरी विज्ञान विषयहरूमा महिलाहरूको प्रतिनिधित्व निकै कम हुने गर्छ । तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् । गत वर्षको पुरस्कार दुईजना रसायनशास्त्रीले संयुक्त रूपमा प्राप्त गरेका थिए । सन् २००१ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका ८१ वर्षीय शार्पलेसका लागि यो दोस्रो नोबेल पुरस्कार हो । सन् १९०३ मा पहिलो पटक भौतिकशास्त्रको पुरस्कार जितेपछि सन् १९११ मा रसायनशास्त्रको पुरस्कार जितेकी पोल्याण्डमा जन्मिएकी फ्रान्सेली महिला मेरी क्युरीसहित अन्य चार जनाले मात्र दुई पटक नोबेल पुरस्कार जितेका छन् । उहाँपछि सन् १९५४ मा रसायनशास्त्र र सन् १९६२ मा शान्तिका लागि अमेरिकी लिनस पाउलिङले अवार्ड जितेका थिए । अमेरिकाका जोन बर्डिनले सन् १९५६ र १९७२ मा भौतिकशास्त्रको पुरस्कार जितेका थिए भने बेलायतका फ्रेडरिक सेङ्गरले सन् १९५८ र १९८० मा रसायनशास्त्रको पुरस्कार जितेका थिए ।

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

एजेन्सी । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस बर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो । क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरु सम्मानित हुने भएका हुन् । उनीहरूलाई ‘अल्झिएको फोटोनहरूको प्रयोग, बेल असमानताहरूको उल्लङ्घन स्थापित गर्न र क्वान्टम सूचना विज्ञानको अग्रगामी स्थापना गर्नका लागि’ खोज तथा योगदान गरेबापत् सम्मानित गरिएको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार समितिले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । क्वान्टम कम्प्युटर, नेटवर्क र सुरक्षित इन्क्रिप्टेड सञ्चारका लागि मार्ग प्रशस्त गर्ने क्वान्टम मेकानिक्सको क्षेत्रमा भएका खोजका लागि उनीहरू पुरस्कृत भएका हुन् । खोजले दुई उप–पारमाणविक कणहरू छुट्टिए पनि एउटै इकाईको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ । प्रत्येक वैज्ञानिकले ‘जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर आधारभूत प्रयोगहरू गरे, जहाँ दुई कणहरू अलग हुँदा पनि एउटै एकाइ जस्तै व्यवहार गर्छन्,’ समितिले भनेको छ । “खोज परिणामहरूले क्वान्टम जानकारीमा आधारित नयाँ प्रबिधिको लागि मार्ग प्रशस्त गरेको छ । भौतिकशास्त्रको नोबेल कमिटीका अध्यक्ष एन्डर्स इरब्याकले भने, ‘नयाँ प्रकारको क्वान्टम प्रबिधिको उदय भइरहेको खोज र यसको परिणामबाट स्पष्ट भएको छ ।’ ‘क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र हो’, भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनले भने। उनले थपे, ‘यसका सुरक्षित सूचना स्थानान्तरण, क्वान्टम कम्प्युटिङ र सेन्सिङ टेक्नोलोजी जस्ता क्षेत्रहरूमा व्यापक र सम्भावित प्रभावहरू छन् ।’ फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध वैज्ञानिक हुन्। अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी स्थापना गरी वैज्ञानिक खोज गर्दै आएका छन् । त्यसैगरी ७७ वर्षका एन्टोन साइलिङ्गर भियना विश्वविद्यालयमा संलग्न वैज्ञानिक हुन् । यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए ।

एनसेलको ६० जीबी डेटा मात्रै ५९९ रुपैयाँमा

काठमाडौं । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि डेटा सेवा लिन सक्ने गरी एनसेल आजियाटाले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ । एनसेलका ग्राहकले चाडपर्वको अवसरमा अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । दसैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमंग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने बताइएको छ । एनसेलका ग्राहकहरुले यो प्याक करसहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी कुल ६० जीबी डेटा पाउने कम्पनीले जनाएको छ। डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा बसेर यो प्याक सुचारु हुन्छ त्यही स्थानलाई होम लोकेसन मानिने र अन्य स्थानलाई अवे लोकेसन मानिने एनसेलले स्पष्ट पारेको छ । यो प्याक एनसेलले बिहीबारबाट सञ्चालनमा ल्याइसकेको छ । एनसेलका ग्राहकले *१७१२३*३०# डायल गरेर यो प्याक सजिलै किन्न सक्ने बताइएको छ । यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक किन्न सकिने एनसेलले जनाएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्ने सुविधा एनसेलले दिएको छ। यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहने छ । यो डेटा प्याकको विशेषता प्याकमा रहेको डेटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु नहुने एनसेलले जनाएको छ। होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन् । डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएकोमा हर्षित भएको एनसेलले जनाएको छ ।