सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने बताए । ‘सूचनाको हक लोकतन्त्रको अभिन्न अङ्ग हो । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, नागरिक समाज र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई नियन्त्रण गर्ने सोच सफल हुन सक्दैछ’, सभामुख घिमिरेले भने, ‘गोप्य राख्नुपर्नेबाहेकका सूचना राज्यका सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ । यसको दुरुपयोग हुनबाट पनि जोगिनुपर्छ ।’ संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवासुविधा दिन आग्रह गर्दै उनले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महासङ्घको विशेष भूमिकाको अपेक्षा पनि गए । कार्यक्रममा सूचनाको हकमा आमनागरिकको पहुँच वृद्धिका सवालमा नागरिक क्षेत्रका संस्थाका प्रमुख र विज्ञबीच छलफल जारी छ । रासस

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने

न्युयोर्क । जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी) ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी गराएको छ । अहिलेसम्म, प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजीपीटीको प्रतिक्रियाहरू पूराना जानकारीमा आधारित थिए, जसमा अगस्त २०२१ पछिको जानकारी समावेश गरिएको थिएन । ‘च्याटजीपीटीले अब स्रोतहरूसँग सीधा लिङ्कहरूको साथ इन्टरनेटमा खोजी गर्न सक्छ र तपाईंलाई वर्तमान र आधिकारिक जानकारी प्रदान गर्छ,’ ओपनएआईले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत् सार्वजनिक एक सूचनामा जानकारी गराएको छ । पोष्टमा भनिएको छ, ‘यो अब सेप्टेम्बर २०२१ भन्दा अघिको जानकारीमा मात्र सीमित छैन ।’ नवीनतम सुविधाले वेबसाइटहरूलाई च्याटजीपीटीले उनीहरूसँग कसरी अन्तरक्रिया गर्दछ भनेर नियन्त्रण गर्न अनुमति दिने पनि जनाइएको छ । ओपनएआईले जुनमा आफ्ना पैसा तिरेका ग्राहकहरूका लागि अद्यावधिक सार्वजनिक गरेको थियो, तर प्रयोगकर्ताहरूले इन्टरनेट सामग्रीमा पैसा तिरेका ग्राहकहरूको सूचना चोरी गर्न सफल भएपछि यो अवधारणालाई खारेज गरेको थियो । ‘ब्राउज विथ बिङ’ नाम दिइएको यो सुविधा च्याटजीपीटी प्लस र उद्यम सेवाका ग्राहकका लागि पनि आरक्षित छ, तर ओपनएआईले यो चाँडै नै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएको छ । च्याटजीपीटीले यसको प्रतिक्रियाहरूको साथ प्रत्यक्ष स्रोतहरू पनि उद्धृत गर्नेछ, जुन अब कार्यक्रमको प्रकाशकले नियन्त्रण गर्ने एकल जानकारीमा आधारित हुनेछैन । रासस

सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह

काठमाडौं । सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राज्यले कञ्जुस्याईँ गर्न नहुनेमा नागरिक क्षेत्रका संस्थाका प्रमुखहरुले जोड दिएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको पहिलो सत्रमा वक्ताहरुले आम नागरिकको सूचनामा पहुँच स्थापित नभएमा कानुनको प्रभावकारी कार्यान्वयन नहुने बताएका हुन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सुशासनमा सूचनाको हकको महत्वपूर्ण भूमिका हुने भएकाले नागरिकलाई सचना दिनुपर्छ भन्ने सोच राज्य पक्षमा अझै बलियो हुन आवश्यक रहेको बताए । उनले भने, ‘सूचनाको हकको अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । राज्यले सूचना दिने कुरामा कञ्जुस्याईँ गर्नु हुँदैन ।’ आदिवासी जनजाति आयोगका सूचना अधिकारी संजिला सापकोटाले आयोगले आफ्ना गतिविधिमा आम नागरिकको सूचनाको पहुँचका लागि कुनै कमी नभएको जनाए । पशु सेवा प्रवक्ता डा. चन्द्र ढकालले पशु किसानका दैनिक आवश्यकतासँग सम्बन्धित सूचनाहरु प्रवाह गरिएको जानकारी दिए । गैह्रसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले गैह्रसरकारी संस्थाहरु सूचनाको हकका सवालमा सहयोगी हातहरु भएकाले कानुनको कार्यान्वयनमा आवश्यक सहयोग हुने बताए। सेप्टेम्बर २८ लाई सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।