नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै पुग्ने
काठमाडौं । नेपाल टेलिकमको सिमकार्डसहित विभिन्न सेवा सामग्री अब हुलाक सेवामार्फत ग्राहकको घरमै उपलब्ध हुने भएकाे छ । यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार सम्झौता भएको छ । सम्झौताअनुसार आगामी साउन १ गतेदेखि टेलिकमका सिमकार्डसहित आवश्यक कागजात, पत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न सामग्री हुलाकमार्फत ग्राहकसम्म पुर्याइनेछ । सम्झौतापत्रमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि निमित्त प्रबन्ध निर्देशक डंगोलले ग्राहकलाई कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता कम गर्दै घरमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ टेलिकमले सेवा विस्तार गरिरहेको बताइन् । हुलाक सेवा विभागसँगको सहकार्यबाट सेवाग्राही थप लाभान्वित हुने विश्वास पनि उनले व्यक्त गरिन् । हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले सरकारी सेवा घरदैलोमै पुर्याउने लक्ष्यअनुरूप विभागले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमसँगको सहकार्यले सेवाग्राहीलाई अझ प्रभावकारी र सहज सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताइन् । दुवै सरकारी संस्थाबीचको सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जाल प्रयोग गरी नेपाल टेलिकमका सेवा सामग्रीको वितरणलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।
एनसीएचएललाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत मेरिट अवार्ड
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि (आईटी) विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा कम्पनीले सार्वजनिक गरेका वित्तीय खुलासाका आधारमा एनसीएचएललाई उक्त सम्मान प्रदान गरेको हो । आईसीएएनले हरेक वर्ष संस्थाहरूको वित्तीय प्रतिवेदनको गुणस्तर, संस्थागत सुशासन र पारदर्शिताको मूल्याङ्कन गर्दै ‘बेस्ट प्रिजेन्टेड अवार्ड’ प्रदान गर्दै आएको छ । एनसीएचएलका अनुसार यो सम्मानले कम्पनीको पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । यसअघि पनि एनसीएचएलले आईसीएएन तथा दक्षिण एसियाली लेखा महासंघ (साफा) बाट ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ । हाल एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थामार्फत एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच (आरपीएस), नेसनल पेमेन्ट स्विच, कनेक्टआरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कनेक्टआईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर, ईएफटी कार्ड स्विच तथा सेवा र नेपालपे कार्डलगायतका भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्थाबाहेक बीमा, रेमिट्यान्स, भुक्तानी सेवा प्रदायक (पीएसपी), भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), सरकारी तथा अर्धसरकारी निकायसहित १२५ भन्दा बढी संस्थाहरू अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।
डिशहोमका ग्राहकलाई तुषाल मल्टिभेन्युमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई वेलनेस, फिटनेस र लाइफस्टाइल सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । डिशहोमको ‘भर्चुअल प्रिभिलेज कार्ड’ कार्यक्रमअन्तर्गत भएको सहकार्यअनुसार डिशहोमसँग आबद्ध ग्राहक, कर्मचारी, अधिकृत डिलर तथा सेवा साझेदारले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा आकर्षक छुट पाउनेछन् । सम्झौताअनुसार साउना, स्टिम र ज्याकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत र फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ । डिशहोमका अनुसार यो सहकार्यले ग्राहकलाई स्वस्थ र गुणस्तरीय जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै वेलनेस सेवामा सहज पहुँच विस्तार गर्नेछ । साथै, ग्राहक सहभागिता बढाउने र मूल्य अभिवृद्धि गर्ने उद्देश्यले यस्ता साझेदारीलाई निरन्तरता दिइने जनाएको छ । छुट सुविधा लिनका लागि ग्राहकले माइ डिशहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडीमार्फत लगइन गर्नुपर्नेछ । त्यसपछि एपमा रहेको ‘भर्चुअल प्रिभिलेज कार्ड’ देखाएर तुषाल मल्टिभेन्युमा छुट लिन सकिने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा तुषाल मल्टिभेन्युका आईटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी अकाउन्ट अफिसर देवराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले यस सहकार्यले ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउनुका साथै दीर्घकालीन रणनीतिक साझेदारीलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।