अब देशभरका विमानस्थलमा फ्री वाइफाई
काठमाडौं । नेपालभित्र सञ्चालित विमानस्थलहरुमा नेपाल टेलिकमले फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलहरुमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउनेगरी सम्झौता भएको हो । सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । सहमतिपत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्री वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ । त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ । कम्पनीका अनुसार फ्री वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।
एनसेल सामाजिक पहलका लागि १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त
काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ । कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने गरि यो कार्यक्रम संचालन गरेको हो । हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरुको मुल्याङ्कन गरिरेहको जनाएको छ । एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका ईच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो । एनसेलका अनुसार देशैभरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त भएका छन् । लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने संभावना लगायतका आधारहरुमा कार्यक्रमहरु छानिने कम्पनीले बताएको छ । तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजानाहरु छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन् । बाँकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिने छन् । दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । एनसेलले सबै भन्दा ठूलो करदाता मध्ये एकका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको छ । आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीले कर तथा गैरकरहरु गरी रु ३ खर्ब भन्दा बढि राजश्व सरकारलाई तिरी सकेको छ ।
१७ वर्षअघिको कम्प्युटर पसल बन्यो करोडौंको ‘डिजिटल साहुजी’, ७ वर्ष लामो अनुसन्धान
काठमाडौं । एउटा भनाइ छ, ‘विजेताले फरक काम गर्दैन, फरक तरिकाले काम गर्छ।’ यस्तै, पृथक ढंगले काम गर्ने योजना र रणनीतिका साथ नेपाली इ-कमर्स प्लेटफर्ममा जोडिएको छ ‘डिजिटल साहुजी’ । हुन त अहिले पनि नेपाली बजारमा दर्जनौं कम्पनीहरू छन्, जसबाट नेपालीहरूले अनलाइन सपिङ गरिरहेका छन् । तर, ती कम्पनीहरूलाई पनि चुनौती दिँदै आक्रामक ढंगबाट अगाडि बढ्ने योजनाका साथ डिजिटल साहुजीको प्रवेश भएको हो । अहिले सञ्चालित अन्य ई–कमर्स कम्पनीहरूले अन्य डेलिभरी सेवा दिने कम्पनीहरूको सहयोगमा सामान डेलिभरी गर्ने गरेका छन् । जसले गर्दा खरिदकर्ताको सामान कहिले आइपुग्छ यकिन हुँदैन । तर, अब खरिदकर्ताले खरिद गरको सामान डिजिटल साहुजीले नै घरदैलोमा पुर्याउने काम गर्नेछ । ‘डिजिटल साहुजीमा अनलाईन ट्र्याकिङ सिस्टम छ, यदि यस प्लेटफर्मबाट सामग्री खरिद गर्दादेखि घरसम्म आइपुग्दा सबै ट्रयाकिङ ग्राहकहरूले गर्न सक्नु हुन्छ,’ कम्पनीका चिफ फाइनान्स अफिसर सन्तोष पोखरेलले भने, ‘हाल यस माध्यममा सूचना प्रविधि र इलेक्ट्रोनिक सामानहरू उपलब्ध छन् ।’ १७ वर्षअघि बुटवलमा कम्प्युटर ट्रेडिङ र इलोक्ट्रोनिक पसल चलाउँदै गर्दा डिजिटल साहुजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन न्यौपानेको मनमा एउटा विचारको जन्म भयो । ग्राहक, खुद्रा ब्यापारी, युवा तथा विद्यार्थी र आयातकर्ताका समस्या समाधान गर्न न्यौपानेले ड्रिम प्रोजेक्ट बनाए । सोही प्रोजेक्ट आज डिजिटल साहुजीमा रूपान्तरण भएको छ । ‘एउटै ठाउँमा बसेर मात्रै व्यवसाय विस्तार हुँदैन, अब देश र जनताका लागि केही गर्छु भन्ने फराकिलो सोच बनाएर काठमाडौं, चितवन र कोहलपुरमा तीन वटा शाखा सञ्चालनमा ल्याए,’ पोखरेलले भने, ‘भूकम्प र कोरोना महामारीपछि नेपालको अर्थतन्त्र शिथिल बनेको छ, सटरहरू धमाधम बन्द भइरहेका छन् । युवाहरू विदेश पलायन भइरहेका छन्, व्यापार व्यवसाय चौपट छ, त्यसैले सुतिरहेका ब्यापारी र सुस्ताएको अर्थतन्त्र उकास्न डिजिटल साहुजी ल्याएका हौं ।’ डिजिटल साहुजी प्लेटफर्म सञ्चालनमा ल्याउन ७ वर्षदेखि अनुसन्धान र टेस्ट मार्केट गर्दा सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीलाई माथि लैजाने उर्जा बढेको उनको भनाइ छ । उनका अनुसार कम्पनीले एक वर्षको अवधिमा ५ सय जना खुद्रा व्यापारी, २ हजार युवा तथा विद्यार्थी, २ सयभन्दा बढी कर्मचारी र लाखौं ग्राहकहरूको जीवनमा आर्थिक र प्राविधिक रूपमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ । साथै, नेपालभरीका मुख्य सहरमा २ सय जना मार्केटिङ एजेन्टलाई हायर गर्ने तयारी रहेको उनले बताए । ‘देशभरीका ग्राहकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कम्पनी सञ्चालनमा ल्याएका हौं, राज्यलाई योगदान दिन हजारौंलाई रोजगारी दिन्छौं, सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्ग र दुर्गमका युवालाई प्राविधिक शिक्षाको ज्ञान र लगानी गर्छाैं,’ उनले भने, ‘सरकारलाई कर तिरेर योगदान दिन्छौं, शिक्षा, कृषि र स्वदेशी उत्पादनलाई प्रवद्धर्न गर्ने उद्योगमा प्रभाव पार्ने गरी प्रोजेक्ट डिजाइन गरेका छौं ।’ देशको अर्थतन्त्र चलायनमान गर्न कम्पनी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । पहिलो वर्षमा कम्पनीले नेपालमा कुल आयात हुने इलेक्ट्रोनिक, सूचना प्रविधि सामाग्रीहरूको २ प्रतिशत कारोबार गर्ने लक्ष्य राखेको छ । साथै, कम्पनीको भ्यालू पहिलो वर्षमै ५० करोड रुपैयाँको बनाउने अठोट रहेको उनले बताए । हाल कम्पनीको लगानी १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभरीमा २२ वटा शाखा स्थापना गर्नेछ । यसरी बन्नुहोस् डिजिटल साहुजीको डिलर तपाईंले डिजिटल साहुजीको डिलर लिनका लागि सुरुमा गुगलमा डिजिटल साहुजी खोज्नु पर्ने हुन्छ । डिलरका लागि रजिष्ट्रेसन र लग इनको अप्सन देखिन्छ । टाइप वान र टाइप टू भनेर दुई वटा छुट्टाछुट्टै डिलर हुन्छन् । टाइप वान डिलर खुद्रा व्यापारी हुन भने टाइप टू डिलर युवा तथा विद्यार्थी वर्ग हुन् । जो डिजिटल साहुजीसँग आवद्ध भएर आफ्नै स्वतन्त्र रूपमा व्यवसाय गर्न सक्नेछन् । सिस्टममा आर्टिफिसियल इन्टेलिजेन्स, लोकेसन ट्रयाकिङ लगायतका प्रविधि जडित छ । त्यसैले कुनै ग्राहकले सामान अर्डर गर्नु भयो भने नजिकैको डिलरमा अर्डर पठाइन्छ । अर्डर आइसकेपछि डिलरले उक्त सामान छ की छैन भनेर हेर्छ । यदि उक्त डिलरमा सामान भेटिएन भने अर्काे नजिकैको डिलरमा अटोमेटिक स्क्यान गरेर हेर्छ । कुनैपनि शाखामा सामान भेटिएन भने अन्ततः हेड अफिसमा पठाइन्छ । हेड अफिसमा सूचीकरण गरिएका सबै सामान उपलब्ध हुन्छन् । हेड अफिसले शाखाहुँदै टाइप टू डिलरको माध्यमबाट ग्राहकलाई डेलिभरी गरिदिन्छ । ग्राहकले कसरी प्रयोग गर्ने ? डिलर र ग्राहकका लागि छुट्टाछुट्टै लग इनको सुविधा छ । ग्राहकले लग इन गरेर कुनै एउटा प्रडक्टमा क्लिक गर्नु पर्छ । त्यसपछि बाइ नाउ (खरिद गर्नुहोस्) र एड टू कार्ट भनेर अप्सन देखिन्छ । खरिद गर्दा लोकेसन उपत्यका र उपत्यका बाहिर कुन हो छनोट गर्नु पर्छ । कम्पनीले कुपन कोडहरू पनि वितरण गर्ने भएकाले उक्त कुपन कोड छ भने त्यहाँ राख्नु पर्ने हुन्छ । कुपन कोडमा विभिन्न छुटको व्यवस्था हुनेछ । त्यसपछि चेक आउट अप्सन आउँछ । चेक आउट अर्डर प्लेस गर्न हो । चेक आउट गरेपछि सामान पुर्याउनु पर्ने ठाउँ राख्नु पर्ने हुन्छ । फोन पे, इसेवा र खल्तीको माध्यमबाट सामानको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । अन्य प्लेटफर्मभन्दा के फरक ? ग्राहकले कोबाट सामान अर्डर गरेको छ, त्यो सामान कहाँ पुगेको छ, कहिलेसम्म आइपुग्छ भनेर सबै ट्रयाकिङ सिस्टमबाट हेर्न सकिन्छ । सोही अनुसार सिस्टम बनाइएको छ । जुन अन्य कम्पनीको प्लेटफर्ममा छैन । डिलरहरूले आफूले सामान राखेर बिक्रेतालाई बेच्ने हो । कति अर्डर गरियो ? कति पेण्डिङमा छ ? कति प्याकेजिङ भइसक्यो ? कति फिर्ता भयो ? कति डेलिभरी हुन सकेन ? कति रद्द भएको छ ? भनेर हेर्न सकिन्छ । प्रडक्ट म्यानेजमेन्टका लागि कुन कुन प्रडक्टहलाई रिक्वेस्ट गरियो ? रिक्वेस्ट गरिएको सूची कुन कुन हो ? भनेर सबै स्टाटस हेर्न सकिन्छ । ग्राहकहरूका लागि एउटै मूल्य तोकिएको हुन्छ भने डिलरहरूका लागि होलसेल र रिटेल मूल्य छुट्याएर राखेको हुन्छ । पसल सञ्चालन गरिरहेका टाइप वान डिलर हुन् । टाइप टू डिलर विद्यार्थी र युवा वर्गलाई विजनेशमा सामेल हुन सक्ने व्यवस्था छ । जस्तो कुनै स्नातक अध्ययनरत विद्यार्थी छ भने आफ्नो खर्च उठाउन डिजिटल साहुजीमा आवद्ध भएर कमाउन सक्छ । नेपालभरिका शाखामा खुद्रा व्यापारी (टाइप वान)डिलर हुन्छन् । खुद्रा व्यापारीसँग विद्यार्थीहरू जोडिएर उनीहरूको प्रडक्टलाई मार्केटिङ गरेर बिक्री गर्न पाउने छन् । खुद्रा व्यापारी, युवा तथा विद्यार्थी र ग्राहक गरी तीन वटा तह छुट्याइएको हुन्छ । कम्पनीले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । मोबाइल एप डाउनलोड गरेर सामाग्रीहरू खरिद गर्न सक्ने पोखरेलले बताए । सीईओ न्यौपनका अनुसार व्यवस्थित हुन नसकेको व्यापारलाई सही बाटोमा ल्याउने डिजिटल साहुजी ल्याइएको हो । डिजिटल साहुजीले हजारौ युवालाई रोजगारी दिने उनको भनाइ छ । ‘जब हामी हजारौंको लागि काम गर्छाैं, हजारौंले समाजको लागि अनि देशको लागि केही न केही योगदान दिनु हुन्छ, यही हुटहुटीले डिजिटल साहुजी ल्याउका हौं,’ उनले भने ।