भारतीय कम्पनीलाई भुक्तानी गर्न अवरोध, इन्टरनेट काटिन सक्ने सेवा प्रदायकको चेतावनी
काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान) ले नेपालभरिको इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्ने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आइस्पानले संवेदनशील विषयमा सरकारले खेलाची गरेकाले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने बताएको हो । आइस्पानका अध्यक्ष सुधिर पराजुलीले लामो समयदेखि सञ्चार मन्त्रालयले विदेशी मुद्रा सटहीको अनुमति नदिएर अतिआवश्यक सेवामा खेलाची गरेको बताए । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीले भारतबाट इन्टरनेट खरिद गरी नेपालमा बिक्री गर्ने गरेकाे बताउँदै अध्यक्ष पराजुलीले नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीलाई इन्टरनेट उपलब्ध गराउने भारतीय कम्पनीले सरकार र नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नेपाल सरकारले गरेको व्यवहारप्रति प्रश्न गरेकाे बताए । ‘अहिले इन्टरनेट ब्याण्डविथको करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन,’ अध्यक्ष पराजुलीले भने, ‘उताबाट पैसा नपठाएको विषयमा प्रश्नसहितको पत्र आइसकेको छ, तर ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस सरकारले नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्छ ।’ सेवा प्रदायक कम्पनीले बैंक ग्यारेन्टी पठाएको भए पनि अहिले राष्ट्र बैकले बैंक ग्यारेन्टीमा समेत नियामक निकायको अनुमति चाहिने व्यवस्था गरेपछि समस्या सिर्जना भएको उनको भनाइ छ । इन्टरनेट सेवा खरिदको भुक्तानीका लागि नियामक निकायले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष पराजुलीले बताए । नेपाल दूरसञ्चार प्राधिकरण नेपालमा दूरसञ्चार क्षेत्रको नियामक निकाय हो । केही दिनअघि मात्र भारतीय कम्पनीले जुनसुकै बेला इन्टरनेट काटिन सक्छ भनेर पत्र पठाएपछि पत्रकार सम्मेलन नै गरेर सरकारको ध्यानकर्षण गराउन बाध्य भएको पराजुलीको भनाइ छ ।
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित
अमेरिका । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मंगलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको छ र प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको डेस्कमा पुगेको छ । अमेरिका र अन्य पश्चिमी अधिकारीहरूले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूमाथि जासुसी गर्ने अनुमति दिने आरोप लगाएका छन् । अमेरिकामा मात्र यसको प्रयोगकर्ताको सङ्ख्या १७ करोड रहेको छ । आलोचकहरूले टिकटक बेइजिङको अधीनमा रहेको र गलत प्रचार फैलाउने माध्यम भएको बताएका छन् । चीन र कम्पनीले ती दाबीहरूको कडारूपमा खण्डन गरेका छन् । कुनै पनि कम्पनीलाई अमेरिकी बजारमा सञ्चालन गर्नबाट रोक लगाउन दुर्लभ कदम चाल्न सक्ने उक्त विधेयक प्रतिनिधिसभाले बलियो द्विदलीय (डेमोक्रेट र रिपब्लिकन) समर्थनका साथ पारित गरेको तीन दिनपछि सिनेटले १८ का विरुद्ध ७९ मतले पारित गरेको थियो । राष्ट्रपति बाइडेनले कानूनमा हस्ताक्षर गर्ने बताएका छन् । उनले यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दुर्लभ टेलिफोन वार्तामा टिकटकका बारेमा आफ्नो चिन्तालाई दोहोर्याएका थिए । शनिबार सदनमा मतदान भएपछि टिकटकले गुनासो गर्दै कानून निर्माताहरूले १७ करोड अमेरिकीको स्वतन्त्र अभिव्यक्तिलाई कुल्चिने, ७० लाख व्यवसायलाई ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा वार्षिक २४ अर्ब डलरको योगदान गर्ने प्लेटफर्म बन्द गर्ने प्रतिबन्धित विधेयकलाई अवरोध पार्ने कोसिस गर्नु ‘दुर्भाग्यपूर्ण’ हो भनेको छ । विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरहरूबाट बाहिरिनु पर्नेछ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत अमेरिकी अर्थमन्त्रीका रूपमा काम गरेका स्टिभन मेनुचिनले आफू टिकटकलाई अधिग्रहण गर्न इच्छुक रहेको भन्दै लगानीकर्ताहरूको समूह भेला गरेका छन् । टिकटक वर्षौंदेखि अमेरिकी अधिकारीहरूको निशानामा परेको छ । अधिकारीहरूले उक्त प्लेटफर्मले बेइजिङलाई अमेरिकामा यसको प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको बताएका छन् । यद्यपि प्रतिबन्धले मुद्दा चलाउन सक्छ । कांग्रेसले पारित गरेको विधेयकले शत्रु मानिएको मुलुकद्वारा नियन्त्रित भएमा अमेरिकी राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षाका लागि खतराका रूपमा अन्य आवेदनहरू तोक्ने अधिकार दिन्छ । सामाजिक सञ्जाल एक्सका अर्बपति मालिक एलन मस्कले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाइएको विरोध गर्दै भने, ‘यस्तो गर्नु वाक र अभिव्यक्ति स्वतन्त्रताको विपरीत हुनेछ ।’ रासस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो । वैशाख ७ गते दुवै पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । नेअशिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ । नेअशिसले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझै सम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवा बारे धेरै संस्थाहरू अनभिज्ञ छन् । देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव हुँदा नेअशिसले शिक्षण संस्थाहरूलाई जूमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जाल बारे उत्सुकता बढ्न सुरु भएको थियो र सञ्जालको सदस्य सङ्ख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो । कोभिड महामारीको प्रभाव घटेपछि पनि नेअशिसले आफ्नो सेवा निरन्तर दिइरहेको छ । पछिल्लो समयमा नेअशिसको सदस्य सङ्ख्यामा बिस्तारै वृद्धि भएको छ तर अनभिज्ञताकै कारण देशका अधिकांश शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरू यस सञ्जालबाट पाउन सक्ने सेवाबाट अझै टाढा छन् । के हो इडुरोम ? विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेट जस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ । शिक्षण, अनुसन्धान तथा पेशागत रूपमा बढी प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना रहँदैन । विश्वका सुपर कम्प्युटरहरूको अति शक्तिशाली क्षमतामा निर्वाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानको लागि आफैसँग ठूला सर्भरहरू आवश्यक पर्दैन । इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जाने बित्तिकै लगइन नगरिकनै आफै कनेक्ट हुन्छ । के हो नेअशिस ? विश्वका प्रतिष्ठित शिक्षण संस्था तथा अनुसन्धान निकायहरूको एउटा विश्वव्यापी सञ्जाल छ । हरेक देशमा उक्त सञ्जालसँग जोडिन एउटा छुट्टै निकाय स्थापना गरिएको हुन्छ । नेपालमा रहेको उक्त निकाय नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) हो । नेअशिस एउटा विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्थाको रूपमा दर्ता गरिएको छ । अन्य कयौं देशहरूमा यस प्रकारका संस्था सरकार आफैले वा राष्ट्रिय स्तरका विश्वविद्यालयहरूले सञ्चालन गर्ने गरेका छन् । नेअशिसका व्यक्तिगत तथा संस्थागत सदस्यहरूले यस सञ्जालको सबै सुविधाहरू प्रयोग गर्न सक्छन् । नेअशिसमा अहिले सम्ममा नेपालका कयौं सरकारी, अनुसन्धान तथा शिक्षण संस्थाहरू आबद्ध छन् । नेअशिसले आफ्ना सदस्यहरूलाई जूम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जाल मार्फत निःशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेशागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आवद्द रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर र नेपालकै संस्थाहरूले आफ्ना शैक्षिक तथा शोधकार्यको नतिजा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न साझा डबली प्रदान गर्दछ ।