आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कारोबारहरुलाई अनलाइनमाध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने र सहज हिसावले काम गर्ने वातावरण बन्ने जिकिर गरे । आइटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताए । आइटीको क्षेत्र कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको क्षेत्र भएको जानकारी दिए । उनले भने, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्युबाट र मान्य मन्त्रीज्युबाट नेपालकै तर्फबाट जुन एउटा आइटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्वपूर्ण छ । हामीले जतिपनि कारोबारहरु हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ ।’ अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको बताए ।

दुई दाजुभाइले एप विकासमा गरेको ‘क्रान्ति’

काठमाडौं । सामान्यतया बालबालिका आफ्नो ग्रेड र स्कुलको कामबारे चिन्तित हुन्छन् । त्यसमा केही बालबालिका असाधारण प्रतिभा भएका पनि हुन्छन् । यस्तैमध्येका दुई बालक जो कक्षा ६ र ८ मा पढ्दा भारतमा कम्पनीको सबैभन्दा कान्छो सहसंस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । त्यस्ता दुई प्रतिभाशाली भाइहरू हुन् श्रवण र सञ्जय कुमारन । उनीहरूले सबैभन्दा कान्छो एप विकासकर्ताको उपाधि हासिल गरे। दुवै ‘३० अन्डर ३०’ को सूचीमा परेका छन् । श्रवण र सञ्जयले सन् २०११ मा चेन्नईस्थित आफ्नो घरबाट गोडाइमेन्सन्स नामक कम्पनी स्थापना गरेका थिए । त्यतिबेला उनीहरू १० र १२ वर्षका थिए । सञ्जयले सीईओको रूपमा काम गरे । जबकि श्रवणले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । छोटो समयमै दुई दाजुभाइले सातवटा मोबाइल एप विकास गरे । उनीहरूले ५० भन्दा बढी देशमा लोकप्रियता प्राप्त गरे । हजारौं प्रयोगकर्ताहरूले ती एप प्रयोग गरे । बुबाका कारण प्रोग्रामिङमा रुचि बढ्यो उनीहरूको बाल्यकालमा प्रोग्रामिङमा रुचि उनका बुबा कुमारन सुरेन्द्रनका कारण परेको थियो। बुबाबाट सिकेर सानैदेखि कम्प्युटरमा काम गर्न थालेका थिए । दुवैले चार वर्षको उमेरमा पावरप्वाइन्ट प्रिजेन्टेसन (पीपीटी) बनाउन थालेका थिए । कुमारन भाइहरूले विकास गरेको पहिलो एप ‘क्याच मी कोप’ थियो । यो भारतको प्रसिद्ध बाल्यकालको खेल ‘चोर-पुलिस’बाट प्रेरित गेमिङ एप हो । भाइहरूले अन्य एपहरू पनि विकास गरेका छन् । यसमा बाल शिक्षा एप- अल्फाबेट बोर्ड र कलर प्यालेट, आपतकालीन सेवा एप- इमर्जेन्सी बुथ, द प्रेयर एप र गेमिङ एप- सुपरहिरो र कार रेसिङ समावेश छन् । यसबाहेक उनीहरूले १ सय ५० टेस्ट एप पनि बनाएका छन् । दुवै दाजुभाइ अहिले कहाँ काम गर्छन् ? पछि दुवै होनहार भाइहरूले अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालयबाट कम्प्युटर विज्ञानको डिग्री हासिल गरे । दुवैको लिंक्डइन प्रोफाइल अनुसार श्रवण हाल सान फ्रान्सिस्कोको सेल्सफोर्समा सफ्टवेयर विकासकर्ताको रूपमा काम गरिरहेका छन् । उही समयमा सञ्जय माइक्रोसफ्टमा सफ्टवेयर इन्जिनियर इन्टर्नको रूपमा काम गर्छन् । एजेन्सी

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संघसंस्थामध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । उनले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको बताइन् । ‘यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास र देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह छ,’ मन्त्री शर्माले भनिन्, ‘यसलाई सहजीकण गर्ने उद्देश्यका साथ सरकार क्रियाशील छ ।’