बच्चन, खान जस्ता बलिउड सुपरस्टारको कपडा सिलाउने टेलरमा सिकेपछि स्थापित प्रेमको ‘त्रिशक्ति सपना’
काठमाडौं । सानो लगानीबाट सुरु गरिएको व्यवसायले कुनै बेला नसोचेको परिणाम दिदो रहेछ । यसमा निरन्तर मिहिनेत, लगाब र धैर्यताको भने खाँचो हुन्छ । ललितपुरको हरिसिद्धिका प्रेम कुमार महर्जनकै उदाहरण लिउँ । उनले २२ वर्ष अगाडी १० हजार रुपैयाँमा टेलरिङ व्यवसाय सुरु गरेका थिए । अहिले २५ जना कालिगढ र ५ जना स्टाफ राखेर लाखौंको कारोबार गरिरहेका छन् । प्रेमले सुरुमा आफ्नै घरको प्रयोगका लुगा सिलाउँने मेसिनको प्रयोग गरे । व्यवसाय नै गर्छु भन्ने मनमा थिएन । काम गर्दै जाँदा उनको मनमा लुगा कपडाकै व्यवसाय गर्ने सोच पलायो । मानिस जन्मेदेखि मृत्युपछिको प्रकृया गर्न पनि कपडा नै आवश्यक पर्छ । यसै कारण उनी कपडा व्यवसायप्रति आकर्षित बने । त्यही रहर र उत्साहले चालेका उनका पाइलाहरु कहिल्यै रोकिएनन् । उर्जा र जोशमा कत्ति पनि कमी आएको छैन । २२ वर्षदेखि निरन्तर एउटै व्यवसायमा छन् । यति लामो समयसम्म गरेको संघर्ष र मिहिनेतले आफ्नो बेग्लै ब्राण्ड बनाइसकेका छन्, त्रिशक्ति टेलर्स । जसको नारा नै छ, सिलाईमा शक्ति, त्रिशक्ति । १० हजार रुपैयाँको लगानीमा प्रेमले व्यवसाय थालेका थिए । हरिसिद्धिस्थित आफ्नो घरमै सिमित रहेको पसललाई उनले लगनखेलमा विस्तार गरे । गुणस्तर र राम्रो सेवाकै कारण दुई दशकभन्दा लामो समयदेखि ग्राहकले त्रिशक्तिको साथ कहिल्यै छाडेनन् । पुरानो मेसिनबाट थालिएको यो व्यवसायमा सञ्चालक प्रेमले २५ वटा आधुनिक मेसिन थपिसकेका छन् । उनले २५ जना कालिगढ र त्रिशक्तिको शोरुममा ५ जनालाई रोजगारी दिलाएका छन् । आफू सञ्चालक भएपनि प्रेमलाई ‘मालिक हूँ’ भन्ने घमण्ड छैन । र, त्यस्तो कहिल्यै सोचेनन् पनि । उनी आफै मेसिन चलाउँछन् । आफै कटिङ गर्छन् । आफै लुगा पनि सिलाउँछन् । यसले गर्दा अरुलाई काम सिकाउँन, अह्राउँन सजिलो बनाएको छ । म्यानपावर नभएको बेला, संकटका बेला उनी आफै अघि सर्छन् । त्रिशक्ति सञ्चालनमा ल्याउँनु अगाडी टेलरिङ व्यवसायबारे सिक्न र अपग्रेड हुन उनी भारतको मुम्बइ पुगेका थिए । विशेष तालिमपछि दुई वर्ष उनले मुम्बइकै चर्चित टेलरिङ शपमा काम गरे । जहाँ भारतीय चर्चित सेलिब्रिटी अमिताभ बच्चन, सलमान खान, शारुख खानलगायतको पहिरन तयार हुन्थ्यो । कमाइ त प्रेमको मासिक १२ हजार भारु मात्र हुन्थ्यो । तर, तत्कालका लागि पैसा सिकाइ र अनुभव महत्वपूर्ण पक्ष थियो । पैसा त प्रेमले नेपाल फर्किएपछि कमाए । मुम्बईमा बस्दा सिकेको ज्ञान, सीप र अनुभबलाई उनले त्रिशक्ति टेलर्समा सदुपयोग गरे । १० हजारबाट थालेको व्यवसायमा उनले दुई वर्षपछि ऋण लिएर २०, २५ लाख रुपैयाँ लगानी बढाए । सुरु–सुरुमा दैनिक १२, १३ घण्टा खट्न थाले । ‘मनैदेखि गरिएको काममा कहिल्यै उर्जाको कमी हुँदैन, मलाई कहिल्यै थकान र दिक्क लागेन,’ उनले सुनाए । शालिन स्वभाब, मीठो बोली र मन्द मुस्कान दिईरहनु उनको विशेषता नै हो । ग्राहकलाई घरकै सदस्य जस्तो व्यवहार गर्न उनी कुनै कन्जुस्याँई गर्दैनन् । ग्राहकहरुलाई खुसी बनाउने हो भने फर्केर आउछन् भन्ने उनको बुझाई छ । अब त अनुभवले उनी यति खारिईसकेका छन् कि कसैको फोटो हेरेकै भरमा कपडाको नाप लिन्छन् । व्यस्तताले त्रिशक्तिको शोरुममा आउन नभ्याउनेहरुलाई फोटोकै आधारमा उनले नाप लिएर कपडा तयार पार्छन् । यसो गर्दा पनि साइजमा कत्ति फरकै नपर्ने अनुभब उनी सुनाउँछन् । त्रिशक्तिले सुट पाइन्ट, लङकोट, ओभर कोट, स्कुलका ड्रेस, पाइलट र एयर होस्टेसका ड्रेस सिलाउने गर्छ । रेमण्ड, जिग्ज्याम लगायत विभिन्न विदेशी लुगाका ब्राण्डहरु यहाँ उपलब्ध छन् । सबै बर्गका ग्राहकहरू लक्षित गरेर सेवा दिने गरेको प्रेम बताउँछन् । छिटै नै काठमाडौं उपत्यकाभित्र शाखा बिस्तार गर्ने उनको योजना छ । बजारमा नयाँ–नयाँ फेशन आइरहन्छ । नयाँ–नयाँ डिजाइन पनि उत्तिकै आइरहन्छन् । दुई दशक यसै पेशामा बिताएका प्रेमलाई अझै सिकौं–सिकौं लागिरहन्छ । पढाई जस्तै यो सिक्ने यो क्रम कहिल्यै नसकिने लाग्छ उनलाई । कोभिड–१९ को महामारीपछि तीन महिना व्यवसाय बन्द हँुदा उनको व्यवसायमा केही समस्या भयो । आत्मविश्वास बलियो बनाउँदै प्रेम अगाडी बढे । लकडाउन खुलेपछि भने व्यवसायले रफ्तार लिन थाल्यो । ‘मासिक कमाई कति छ ?’ उनलाई सोधियो । ‘३० जना स्टाफहरु पालिएको छ, ४ जनाको परिवार खुसीले बाँचिरहेका छौं,’ उनले हास्दै भने । यो क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रेमको अनुभव छ । उनी युवाहरुलाई टेलरिङ व्यवसायमा लाग्न प्रेरित गरिरहन्छन् । मिहिनेत गर्ने हो र निरन्तरता दिने हो भने सफलता मिल्नेमा शंका छैन भन्ने लाग्छ उनलाई । प्रेम गीत, संगीत, घुमफिरमा उनी रुचि राख्छन् । घुमेकामध्ये इलाम उनलाई सबैभन्दा मन परेको जिल्ला हो । फुर्सदमा फेसबुक, युट्युबमा समय बिताउँछन् । राजनीतिमा खासै रूची नराख्ने प्रेम विस्तारै यतातिर आकर्षित हुँदैछन् । हाल नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघका सह–कोषाध्यक्ष छन् उनी नेपाल कपडा सिलाई तथा व्यवसायी संघ ललितपुरका अध्यक्ष हुन् । देशभर ७० जिल्लामा संघको संजाल विस्तार भइसकेको छ । बाँकी जिल्लामा पनि अब संगठन विस्तार गर्न लागेको उनी सुनाउँछन् । थुप्रै जिल्ला घुमिसकेका उनले युवाहरूसँग प्रत्यक्ष संवाद गरेका छन् । नेपाल कपडा सिलाइतथा व्यवसायी महासंघले भने देशका बिभिन्न स्थानमा टेलरिङ व्यवसायबारे तालिम प्रदान गरिरहेको छ । युवाहरुलाई विदेश जानभन्दा स्वदेशमै पसिना बगाउन उनी सल्लाह दिन्छन् । महासंघले पनि यहि कुरालाई ध्यानमा राखेर ब्यापक रुपमा तालिम दिइरहेको छ । ‘युवाहरु विदेसिन नपरोस्, देशको मेरुदण्ड भनेकै युवा त हुन्,’ प्रेमले आफ्नो निष्कर्ष सुनाए ।
चाख्ने हो त बाँसको ढुंग्रोमा पकाएको चिया र ब्याम्बो बिर्यानी ?
काठमाडौं । हरियो बाँसको ढुंग्रोमा पकाएको चिया र बिर्यानी चाख्नु भएको छ ? रातोपुलमा खुलेको ‘ब्याम्बो बिर्यानी’ले यस्तै नौलो प्रयोग गरेको छ । बाँसकै संरचनामा निर्माण भएको यस कटेजमा बासकै कुर्सी, बाँसकै टेबलहरु छन् । यो कटेजको मुख्य विशेषता भनेकै बाँसमै बनाइएका परिकारहरु हुन् । कालोपुलबाट रातोपुलतिर जाने बेला झण्डै डेढ सय मिटर जति माथि छ, यो कटेज । यहाँ बाँसकै ढुंग्रोमा पकाइएको चिया, बिर्यानीको स्वाद लिनकै लागि मानिसहरु झुम्मिन्छन् । राजधानीमा फरक र नौलो स्वाद पस्किएकोले कटेजमा ग्राहकहरुको भीड लाग्ने गरेको छ । ब्याम्बो बिर्यानी रातोपुलमा एक वर्षअघि खुलेको हो । झापाका विवश काफ्ले र मिलन रेग्मी यसका सञ्चालक हुन् । लकडाउनको कारण केही समय बन्द भएपनि तिहारपछि फेरि सञ्चालनमा आइसकेको छ । यो कटेज चर्चामा आएको धेरै समय भएको छैन । विशेषगरी तिहारपछि यसको चर्चा बढेको हो । झापाको कमल गाउपालिका ३ तोपगाछीका विवश काफ्ले यसअघि भक्का र मटिया हाउस सञ्चालन गर्थे । अहिले पनि उनले त्यो व्यवसायलाई निरन्तरता दिदै आएका छन् । मटिया हाउस चलाउँने क्रममा बाँसको कटेज र बाँसमै परिकार बनाउने नौलो सोच उनको मनमा जन्मियो । हुन त नेपालमा यस्तो खालको व्यापार नौलो भए पनि श्रीलंका, इन्डोनेसिया, भारतमा भने पहिल्यैदेखि गरिदै आएको पाईन्छ । विवसले त्यही देखेर नेपालमा यसको सुरुवात गरेका हुन् । ‘म नयाँ नयाँ सोच बोकेर काम गर्न रुचाउँने मानिस हो, नेपालीपन झल्किने के छ भनेर सोच्दा बाँस नै रोजें,’ विवशले भने । कटेज सुरु गर्नु अगाडी उनी एक पटक गैरीधाराको तामा रेस्टुराँ गएका थिए । त्यहाँ उनले बाँसको भाँडामा परिकार सर्भ गरेको देखे । उनको मनमा नयाँ सोच आयो, अब बाँसको भाँडामै पकाएर सर्भ गर्नुपर्छ । रेस्टुराँमा नौलो–नौलो प्रयोग गर्ने क्रम बढिरहेको छ । उनले पनि नौलो प्रयोग गर्न खोजे । चिया र बिर्यानी बनाउने हरियो बाँस झापाबाटै झिकाउने गरिएको छ । लामो बाँसलाई २ फिटको साइजमा काटिन्छ । त्यसैमा चियापत्ति, चिनी, दुध र पानी राखेर उमालिन्छ । चिया पिउन प्रयोग हुने बाँसको कप पनि झापाको बुधबारेबाट ल्याउँने गरिएको छ । विवशले व्यापारिक साझेदार खोजेर त्यसपछि ब्याम्बो बिर्यानी कटेजलाई पूर्णता दिए । क्यानाडाबाट फर्किएका सन्जिब पहारीले कटेजको डिजाइन गरेका हुन् । १० लाख रुपैंयाँको लगानीमा कटेज सुरु गरिएको उनले बताए । सुरुवातमा यहाँ विर्यानी र स्न्याक्स मात्र बनाईन्थ्यो । बिस्तारै अन्य परिकारहरु मेनुमा थपिए । बाँसको ढुंग्रो यत्तिकै खेर गईरहेको थियो । त्यसैमा चिया बनाउँदा कस्तो हुँदो रहेछ भनेर विवशलाई जाँच्न मन लाग्यो उनीहरुलाई । ‘राम्रो बन्यो, त्यसको स्वाद पनि मीठो बन्यो,’ सन्जिबले भने । पछि त ब्याम्बो विर्यानीको ब्राण्ड नै चियाले स्थापित गराइदियो । हरियो बाँसको ढुंग्रोमा चिया पाक्न झण्डै १० मिनेट लाग्छ । विर्यानी पाक्न भने ३५ मिनेट समय लाग्छ । चिकेनका आइटम पाक्न बढी समय लाग्छ । अलि कुर्नु परे पनि ग्राहकको धैर्यता भने टुट्दैन । अहिले ब्याम्बो बिर्यानी सोसल मिडियामा खोजीको विषय बनेको छ । विवसले सोसल मिडियामा कसरी आम मानिसको ध्यान तान्ने भन्नेबारे सोचे । आफ्नै स्टाफलाई बाँसमा चिया पकाएको भिडिओ टिकटक राख्न लगाए । भिडिओ भाइरल बन्यो । त्यसपछि त ब्लगर, भ्लगर र मिडियाको नजर परिहाल्यो । मार्केटिङमा त्यसले राम्रै भूमिका खेल्यो । बिहान १० बजे मात्र खुल्ने यो कटेजमा ग्राहक भने त्योभन्दा अगाडि नै पुगिसकेका हुन्छन् । साँझ ८ बजेसम्म यहाँ उस्तै भीड लाग्छ । हाल ७ जना स्टाफले यस कटेजमा काम गरिरहेका छन् । विवशका अनुसार दैनिक २० देखि २५ लिटर दुधको चिया र १ सय ५० भन्दा बढी प्लेट बिर्यानी अर्डर हुने गरेको छ । पछिल्लो समय ग्राहकहरुको भीड यति बढेको छ कि कटेजले धान्नै सकिरहेको छैन । स्पेशको पनि उत्तिकै अभाब भइरहेको छ । विद्यार्थी, सरकारी कर्मचारी, बैंकर्सलगायत बिभिन्न पेशाकर्मीहरु यस कटेजमा टाढा–टाढाबाट आउने गर्छन् । काठमाडौं उपत्यका बाहिरबाट पनि मानिसहरु सिक्न र स्वाद चाख्न आउने गरेका विवशले सुनाए । लकडाउनमा ९ महिना कटेज बन्द भएपनि कटेजका सञ्चालक आत्तिएनन् । तिहारपछि पुनः सञ्चालनमा आएको कटेजले झन रफ्तार लिएको छ । हाल दैनिक २५ हजार रुपैयाँ बराबर कारोबार भइरहेको विवस बताउँछन् । अब बिस्तारै बाँसको फार्मिङ बढ्नेमा विवश विश्वस्त छन् । ब्याम्बो बिर्यानीको सिको गर्दै धेरैले बाँसकै कटेज बनाउँन थालिसकेका छन् । काम गर्नेलाई अवसर अहिले ७ जनालाई रोजगारी दिएको ब्याम्बो बिर्यानीले अझै स्टाफ खोजिरहेको छ । तर, काम गर्ने मानिस पाएको छैन । पछिल्लो समय एक महिनामै ४ जनाले काम छोडे । कटेजले जनशक्ति थप्न खोजे पनि फेला पार्न सकेको छैन । ‘विदेश गएर काम गर्न खोज्ने युवा नेपालमा काम गर्न खोज्दैनन्, नेपालमा भने काम गर्न अल्छी गर्छन्,’ विवसले गुनासो गरे । कामप्रतिको समर्पण जुन क्षेत्रमा हात हाले पनि विवश सफल छन् । उनले बिगतमा भक्का हाउस र मटिया हाउस सञ्चालन गरिसकेका छन् । झापाको भक्का भनेपछि हुरुक्कै हुने धेरै छन् । त्यस्तै मटिया हाउसमा माटोको भाँडोमा खीर, अण्डा र माछाको परिकार चखाउँछन् । यी दुबै राजधानीमा राम्रै ब्राण्डका रुपमा स्थापित भए । सबै व्यवसाय सफल हुनुका पछाडि के कारण होला ? उनलाई सोधियो । ‘म कामलाई सम्मान गर्छु । माया गर्छु, म मालिक हुनका लागि होइन, कामका लागि काम गर्छु,’ विवसले भने । आफू स्टाफसँगै भाँडा माझ्न पनि पछि नपर्ने उनले सुनाए । विवशको अबका योजना सबै जना उद्यमी बन्न चाहन्छन् । तर, सबै सफल उद्यमी बन्न सक्दैनन् । कसरी व्यवसाय गर्ने, के गर्ने, कति लगानी गर्ने भन्ने बारेमा ज्ञान हुँदैन । कसैलाई मःम पसल गर्ने इच्छा होला । तर, उसलाई सबै कुरा थाहा हुँदैन । उद्यमी बन्न चाहनेलाई विवश टिप्स र ट्रिक्स दिन चाहन्छन् । उनी विजनेस कन्सल्ट्याण्टका रुपमा काम गर्न चाहन्छन् । छिटै नै धेरैको नजर तान्ने अर्को व्यवसायमा हात हाल्न लागेको उनले सुनाए । के होला त्यो व्यवसाय ? ‘अहिलेलाई गोप्य राखौं,’ विस्तृतमा विवशले खोल्न चाहेनन् ।
काठमाडौंका पारखीलाई दाङको घोंगीदेखि रौतहटको कटियासम्म चखाउँदै लेकाली किचन
काठमाडौं । कटिया तराईको चर्चित परिकार हो । माटोको भाँडामा खसीको मासु र मसला मिसाएर आगोको रापमा यो परिकार बनाइन्छ । विशेषगरी रौतहट क्षेत्रमा यो परिकार धेरै प्रचलित छ । कटिया अब रौतहट वा तराई क्षेत्रमा मात्र सिमित रहेन । कटियाका पारखीहरूलाई लक्षित गर्दै तीनकुनेस्थित गैरीगाउँमा लेकाली किचन एण्ड कटिया हाउस खुलेको छ । मधुुसुदन ढकाल, राज अर्याल, केशब चौलागा“ई लगायत ५ जना यसका सञ्चालक हुन् । संचालक अर्यालका अनुसार लेकाली किचन पूर्ण सञ्चालनमा आइसक्दा १ करोड रुपैयाँ लगानी नाघिसकेको छ । लेकाली किचनको मेनुमा उपलब्ध परिकारहरू मध्ये सबैभन्दा बढी अर्डर हुनेमा पर्छ, कटिया । यसको स्वाद चाख्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पारखीहरु ओइरिन्छन् । यो बनाउने बिधि नै फरक छ । सेफ दीपक तामाङका अनुसार माटोको भा“डाभित्र मटन, त्यसमा मरिच, नुन, लसुनको मसाला र तेल मिसाएर एक घण्टा आगोमा सेकेपछि यो परिकार तयार हुन्छ । ‘तराईको आइटम हिमाल र पहाडका बासिन्दाले रुचाउँछन् कि रुचाउँदैनन् भन्ने चिन्ता थियो, तर, यतिबेला ग्राहकहरूको रेस्पोन्स भने राम्रो छ,’ सञ्चालकमध्येका एक राजले सुनाए । लेकाली किचेनको कटिया अन्यत्रको भन्दा विशेष छ । यहाँ रौतहटबाटै झिकाइएका अनुभबी कुकले नै कटिया बनाउँछन् । अनुभबी कुकले बनाउँदा त्यसको खास स्वाद आउने नै भयो । यसरी खोलियो लेकाली किचन राज अर्याल र मधुसुदन ढकाल कलेजमा स“गै पढ्ने साथी हुन् । कुनै बेला काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा उनीहरुसँगै पढ्थे । केही नयाँ व्यापार थाल्नुपर्छ भन्ने इच्छा दुबैको मनमा थियो । तर, समयले उनीहरुलाई बेग्ला–बेग्लै ठाउ पु¥याइसकेको थियो । सफ्टटेक फाउन्डेसनबाट आईटीमा प्रोफेश्नल कोर्ष गरेपछि सैनामैना ११ रुपन्देहीका राज आफनै ठाउ फर्किए । बुटवलमा उनले आइटी कम्पनी चलाएर बसे । यता ककनी, नुवाकोटका मधुसुदन ढकाल भने केही वर्ष मिडिया चलाएर बसे । त्यसपछि रेस्टुराँ क्षेत्रमा हात हाले । राज र मधुसुदन रेस्टुराँ क्षेत्रमै प्रवेश गर्न चाहे । तर, त्यसका लागि लगानी जुटाउन र अन्य तयारी गर्न एक वर्ष लाग्यो । यी दुई युवाको बिजनेश प्लानमा तीन जना अन्य व्यक्ति पनि मिसिए । आर्थिक रुपमा सहायता मिलेपछि रेस्टुरा“खोल्ने योजना अघि बढ्यो । मधुसुदन रेस्टुराँको मेनुमा केही नयाँ कुरा थप्न चाहन्थे, जसले गर्दा उपभोक्ता तान्न सकियोस् । राज र मधुसुदन दुबै जना दाङदेखि रौतहटको यात्रामा निस्किए । आफूले खोल्न चाहेको रेस्टुराँमा स्थानीय मौलिक स्वादलाई पस्किनु उनीहरूको उद्देश्य थियो । दाङमा उनीहरूले घोंगी चाखे । रौतहट पुगेपछि स्थानीय परिकार कटिया चाखेपछि त त्यसको स्वाद जिब्रोमै झुन्डियो । काठमाडौंमा ग्राहकहरुलाई यसको स्वाद चखाउने सोच त्यही बेला बनिसकेको थियो । कुकस“गको सम्बन्ध त्यहि बेला बिस्तार गरे । काठमाडौं उपत्यकाभित्र रेस्टुराँका लागि ठाउँ पाउँन मुस्किल भयो । राज र मधुसुदनले मोटरसाइकलमा ६ महिना धाउँदा पनि स्पेश नै फेला पार्न सकेनन् । बल्ल–बल्ल तीनकुनेको गैरीगाउँमा एउटा घर भेटिएपछि उनीहरु ढुक्क भए । २०७६ बैशाखबाट लेकाली किचन एण्ड कटिया हाउस सञ्चालनमा आयो । सुरुवातमा १८ जना स्टाफ थिए । रौतटबाटै स्पेशल कटिया बनाउँनकै लागि कुक झिकाईयो । चुनौतिहरु पनि उत्तिकै थिए । नयाँ रेस्टुराँ भएकाले खाना कसरी बनाउने ? सर्भिस कसरी दिने, ग्राहकहरुलाई सन्तुष्ट कसरी पार्ने भन्ने चुनौतिहरू थिए । लेकाली किचनको मेनु नौलो र विशेष परिकार भएकाले होला कटिया अत्यन्तै रुचाइयो । लेकाली किचनको मेनुमा दैनिक ५०/६० वटा कटिया अर्डर हुन थाल्यो । लेकाली किचनमा कटिया बाहेक अन्य मौलिक स्वादहरु पनि चाख्न सकिन्छ । रेस्टुराँको मेनुमा थपिएका छन्, कालिजका बिभिन्न आइटम (सुप, फ्राइ), लुँइचे कुखुरा, बधिया कुखुरा, च्याङ्ग्राको सुकुटी र पक्कु, लोकल चिकेनका परिकार, हाँसको छोयला, घोंगी र गँगटाका परिकार । सकभर अन्य रेस्टुराँमा पाइने परिकारभन्दा नौलो स्वाद चखाउँन सञ्चालक मधुसुदन सधैँ चनाखो छन् । राजधानीमा एकै रेस्टुराँमा थरीथरीका मौलिक स्वादको मजा लिन पाइदैन । आफूले त्यो ग्याप पूरा गर्ने उनले बताए । ‘हामीकहाँ कोदो र फाँपरको ढिंडो, मार्सी चामल, जेठा बुढाको भात पनि पाईन्छ, हरेक महिना नौलो स्वाद पस्किने हाम्रो प्रयास हो,’ उनले भने । लेकाली किचेनले आफ्नै रेस्टुराँको छतमा कालिज, लोकल कुखुरा, लुँइचे कुखुरा पालेको छ । ग्राहकको रोजाई अनुसार ताजा मासु उपलब्ध गराउ“छ । यसले गर्दा मासुकै लागि बजार जानु पर्ने बाध्यता हटेको छ । घोंगी मुसहर जातिको सबैभन्दा प्रिय परिकार हो । पोखरी, खोला, खोल्सामा पानीमुनि घोंगी पाइन्छ । तराई क्षेत्रमा कतिपयले यसलाई जिविकोपार्जनको माध्यम बनाउ“दै आएका छन् । लेकाली किचनले घोंगीको स्वाद पनि चखाउँदै आएको छ । कोरोनापछि लयमा फर्किदै लेकाली किचेनको व्यापार कोरोनापछि लयमा फर्किदै छ । अचेल यस रेस्टुराँमा दैनिकजसो ग्राहकहरूको बाक्लो उपस्थिति हुन्छ । एकै पटक यहाँ २ सय जना बस्न सक्ने क्षमता रहेको सञ्चालक राज बताउँछन् । बाल्कोनीमा मौलिकता झल्किने बस्तुहरु सजाइएका छन् । मिटिङ हल, बाल्कोनी र अन्य कोठाहरुमा पनि आकर्षक पेन्टिङले भित्ताहरु रंग्याइएका छन् । लेकाली किचनमा अहिले २२ जना स्टाफ छन् । सिंगो घर भाडामा लिएको रेस्टुरा“ले मासिक डेढ लाख रुपैयाँ भाडा तिर्छ । दैनिक कारोबार कति हुन्छ ? ‘सन्तोषजनक छ,’ सञ्चालक मध्येका एक राजले भने । रेस्टुराँले कोरोना महामारीपछि लकडाउनमा ६ महिनासम्म स्टाफहरुलाई खान, बस्नको प्रबन्ध ग¥यो । घर फर्किएका ८ जना स्टाफ काममा फेरि फर्किएनन् । यतिबेला लेकाली किचेनले अर्काे नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । लकडाउनमा भएको क्षति कहिलेसम्म रिकभर हुन्छ होला ? ‘सायद बैशाखसम्म,’ मधुसुदनले अनुमान गरे । लकडाउन र त्यसको असरले लेकाली किचेनको टिम आत्तिएको छैन ।