भीआईपी व्यवसायी : जो आफू पनि डुबे, बैंकलाई पनि फसाए

काठमाडौं । ऋणीले ऋण नतिरेपछि बैंक तथा वित्तीय संस्थाले धितो लिलाम गर्छन् । खराब कर्जामा वर्गिकरण भएको कर्जालाई बैंकहरुले ७ दिने, १५ दिने र ३५ दिने सूचना जारी गर्दै धितो लिलामको प्रक्रिया अगाडि बढाउँछन् । सो भन्दा अगावै पनि बैंकहरुले ऋणीलाई आन्तरिक रुपमा नै ऋण तिर्न पटक–पटक ताकेता गर्छन् । उक्त ताकेता पत्रको अवेज्ञा गरेर ऋण नतिरेपछि बैंकहरुले सूचना जारी गर्छन् । यस्तो प्रक्रियामा समेत ऋण तिर्न ऋणी नआएपछि बैंकले धितो लिलामीमा चढाउँछन् । लिलाम गरिएको धितोको मूल्यांकन गरी बैंकहरुले गोप्य शिल्बन्दी बोलपत्र आव्हानकोे ७ दिने सुचना प्रकाशित गरी धितो बिक्री गरी ऋण असुल गर्छन् । यदि धितोको मूल्य सावाँ ब्याजभन्दा बढी आएमा बढी भएको रकम सम्पत्तिवालालाई फिर्ता गर्छन् । यही नै हो बैंकले आफ्नो ऋण असुल गर्ने प्रक्रिया । तर, यो प्रक्रिया सानालाई मात्रै लागू हुन्छ भन्दा कसैलाई अन्याय नहोला । वर्तमान नेपाली बैंकिङको अभ्यास यस्तै छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भनाई बैंकको धितो लिलामीमा पनि लागू हुन्छ । बैंकबाट करोडौं ऋण लिएर पछि नतिर्ने परिपाटी अहिलेको मात्रै होइन, यस्तो प्रवृति र पात्रहरु नेपाली व्यवसाय र बैंकिङ क्षेत्रमा पहिलेदेखि नै छन् । मेरो सम्पत्ति यति धेरै छ भनेर धाक लगाएर ठूलो मात्रामा ऋण लिएर पछि नतिर्ने र बैंकमा राखेको धितो पनि लिलाम गर्न नदिने प्रवृति नेपाली बैंकिङमा ब्याप्त छ । उल्टै आफ्नो ऋण मिनाहा गर्नका लागि शक्तिकेन्द्र धाउने व्यक्तिहरुको संख्या पनि कम छैन । अब सुरु गरौं त्यस्ता ऋणीहरुको विषय, जसले बैंकबाट अर्ब ऋण लिएर न कर्जा तिरे नत बैंकमा राखेको धितो लिलाममा सघाए । बरु उनीहरु आफु पनि व्यवसायमा असफल भए र बैंकहरुलाई पनि ठूलो घनचक्करमा फसाए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका चण्डिराज ढकालले राष्ट्रिय वाणिज्य बैंकको करिब ४ अर्ब बढी ऋण नतिरेको ३० वर्षभन्दा बढी समय भइसकेको छ । ढकालले वि.स २०५० सालमा मोमेन्टो एपरल्सको नाममा साढे ३१ करोड रुपैयाँ कर्जा लिएका थिए । अहिले उक्त ऋणको सावाँ ब्याज जोड्दा ४ अर्ब रुपैयाँ बढी पुगिसकेको बैंक स्रोतको भनाइ छ । यो बिचमा ढकालले बन्द अवस्थामा रहेको मोमेन्टो एपरल्सको ऋण मिनाह हुनु पर्ने माग राख्दै शक्ति केन्द्र नधाएका होइनन् । तर, उनको प्रयास सफल हुन सकेन । राष्ट्रिय वाणिज्य बैंकले न उनको धितो लिलाम गर्न सक्यो नत त्यति धेरै ऋण असुल नै गर्न सक्यो । तीन दशक पुरानो ऋण उठाउन संघर्ष गरिरहेको राष्ट्रिय वाणिज्य बैंकको प्रयास सफल हुन सकेको छैन । कुनै बेला नेपालबाट सबैभन्दा बढी गार्मेन्ट निर्यात गर्ने उद्योगका रुपमा परिचित थियो मोमेन्टो एपरल्स । सो उद्योगको धितो हेर्न राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन सीईओ जनार्दन आचार्य हेलिकप्टरमा झापा पुगेका थिए । त्यतिखेरको सफल र उदाहरणिय गार्मेन्ट उद्योग थियो मोमेन्टो एपरल्स र प्रशंसा गर्न लायक थिए उद्योगी चण्डिराज ढकाल । तर, त्यो कर्जाले उनलाई माथि उठ्न दिएन । मोमेन्टो एपरल्सको अवसानसँगै ढकालको व्यवसायिक जीवन पनि ओरालो लाग्यो । त्यो ओरालो यात्राबाट उकालो लाग्ने हाँगो उनले कतै भेटाउन सकेका छैनन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त रुपमा लगानी गरेको कैलालीको बासुलिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनीको नाममा रहेको ऋण असुल गर्न पनि निकै सकस परेको छ । बैंकहरुले केही रकम असुल गरेपनि अझै धेरै रकम उठाउन बाँकी रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकत किरण श्रेष्ठ बताउँछन् । कम्पनीले चिनी उद्योग खोल्नका लागि बैंकसँग लिएको ऋणको सावाँ ब्याज साढे ३ अर्ब बढी थियो । तर, केही रकम सेटलमेन्ट भइसकेको छ भने अझै केही बाँकी छ । कृषि विकास बैंकले कैलाली जिल्लामा रहेको उक्त कम्पनीको नाममा रहेको ५१ बिघा १३ कठ्ठा ६ धुर जग्गा लिलामी प्रक्रिया पनि अगाडि बढाएको थियो । तर, त्यो प्रयास सफल हुन सकेन । यो बिचमा कम्पनीका सञ्चालक अरुण चन्द अदालत पनि पुगे । सीईओ श्रेष्ठका अनुसार कम्पनीले बैंकको ६५ करोड रुपैयाँ तिर्न बाँकी छ । उनले यो ऋणलाई रिस्ट्रक्चरको प्रस्ताव गरेको पनि जानकारी दिए । बासुलिङ्ग चिनी उद्योग पनि पुरानो उद्योग हो । हाल बन्द अवस्थामा रहेको यो चिनी उद्योग पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका जेठा छोरा अरुण चन्दले सञ्चालन गरेका थिए । कैलालीमा मात्रै होइन सुदूरपश्चिमै चन्द परिवारको राजनीतिसँगै व्यवसायमा पृथक किसिमको छवि थियो । धेरैका लागि उत्कृष्ट उदाहरण बनेको थियो बासुलिङ्ग सुगर मिल । तर, राजनीतिसँगै व्यवसायमा पनि चन्द परिवार असफल बन्यो । चन्द परिवारको असफलताको कथा सोही उद्योगबाट सुरु भएको भन्नेहरु पनि कमि छैनन् । हाल चन्दले उक्त उद्योगलाई पुनः सञ्चालनको तयारी गरिरहेको बुझिएको छ । ‘हामीले ऋणीलाई उसको धितो हेरेर ऋण दिने हो, कसको नियत के हुन्छ थाहा हुँदैन, ऋण असुलीमा लामो नेगोसिएसन हुन्छ, अन्डरस्टाडिङ्ग भंग गर्न मिल्दैन, बिचमा केही समस्या आउँदा यस्ता धितो असुलमा समय लाग्छ, फेरि बैंकहरुले सकेसम्म ऋण नै असुल गर्न चाहन्छन्, धितो लिलाम गर्ने नियत बैंकको हुँदैन,’ सीईओ श्रेष्ठले भने । यस्तै, बैंकले चाहेर पनि अगाडि नबढेको धितो हो फूलवारी रिसोर्ट । फूलवारी रिसोर्टका सञ्चालक पीयुसकुमार अमात्य कुनैबेला विश्वका पर्यटक पोखरामा ओराल्ने ‘गफ’ दिन्थे । तर, उनको त्यो गफ अब एकादेशको कहानी बनेको छ । रिसोर्ट चलाउन लिएको ऋण तिर्न नसक्दा उनको अर्बौंको साम्राज्य डुबेको छ । यही होटल चलाउन लिएको ऋणले उनका अन्य व्यवसाय पनि संकटमा छन् । दक्षिण एसियाकै उत्कृष्ट आतिथ्यताको सेवा दिने महत्वाकांक्षी चाहना अमात्यमा थियो । महत्वाकांक्षी योजना बुनेर ठूलो प्रोजेक्टमा हात हालेका उनी अन्ततः आफ्नै सम्पत्ति जोगाउन पनि नसक्ने अवस्थामा पुगे । परिणामस्वरुप अहिले उनका दिनहरु हातमा एक थान फाइल बोक्दै कहिले बैंकरको कार्यकक्ष र त कहिले वकिलको क्याबिनमा बितिरहेका छन् । फूलबारी रिसोर्ट निर्माणका लागि लिएको ऋणको सावाँ-ब्याज गरेर झण्डै चार अर्ब रुपैयाँ अमात्यले तिर्नु पर्ने नेपाल बैंकको दाबी छ । नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा लगानी गरेका थिए । सो रिसोर्टमा नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंक ३५ करोड र सञ्चय कोषको ३१ करोड रुपैयाँ लगानी गरेका थिए । नेपाल बैंकले गत वर्षको असारमा फूलबारी रिसोर्ट लिलामीको सूचना समेत प्रकाशित गरेको थियो । बैंकको लिलामी प्रक्रियामा तीन/चार वटा ठूला व्यवसायिक घरानाले सहभागिता समेत जनाएका थिए । तर, अमात्यको आग्रहमा बैंक लिलाम गर्नबाट पछि हट्यो । उनले गत असार मसान्तसम्म ऋण तिरिसक्ने कबुल गरेपछि बैंकले धितो लिलाम गर्नबाट पछि हटेको थियो । तर, उक्त समयसम्म ऋण नतिरेपछि अब पुनः प्रक्रिया अगाडि बढाउने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण अधिकारीको भनाइ छ । अमात्यले असारसम्म सावाँ-ब्याज तिरिसक्ने प्रतिवद्धता जनाए पनि हालसम्म ऋण नतिरेको जानकारी सीईओ अधिकारीले दिए । अधिकारीका अनुसार उनले प्रतिवद्धता जनाए अनुसार बैंकको किस्ता पनि तिरेका छैनन् । ‘हामीले यसअघि नै लिलामीको प्रक्रिया अगाडि बढाउँदा उहाँ बैंकमै आएर अहिले लिलाम नगर्नुस्, म असारभित्रै सावाँ–ब्याज चुक्ता गर्छु भन्नु भएको थियो । तर, उहाँ त्यसपछि सम्पर्कमा आउनु भएन, अब हामी कसरी अगाडि बढ्ने भनेर लाग्छौं,’ उनले विकासन्युजसँग भने । अध्यक्ष अमात्य बैंकको ऋण नतिर्ने भन्दै यसअघि अदालत समेत पुगेका थिए । तर, उच्च अदालतबाट अन्तरिम आदेश नपाएपछि नेपाल बैंकले सम्पत्ति बेच्ने तयारी अघि बढाएको थियो । पर्यटन व्यवसायी अमात्यजस्तै महत्वांक्षी व्यवसायी थिए इच्छाराज तामाङ । जसको बास अहिले जेलमा छ । उनले पनि आफ्नो व्यवसायिक साम्राज्य विस्तार गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ठूलो परिमाणमा ऋण लिए । रातारात अर्बपति बन्ने दाउमा सहकारी खोले र सोही सहकारीको बचत घरजग्गामा लगाए । अन्ततः उनले बचतकर्ताको रकम फिर्ता गर्न सकेनन् र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि तिर्न सकेनन् । परिणामतः उनको जेलबास भयो । उनको स्वामित्वमा रहेको सीटीसी मल ऋण नतिरेको भन्दै लिलामीमा पनि चढ्यो । तर, बिक्री हुन सकेन । कर्मचारी संचय कोषले लिलामको सूचना पनि निकाल्यो । तर, उक्त प्रक्रिया अझै अगाडि बढ्न सकेन । कोषले काठमाडौँ महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा फैलिएको तथा सिभिल स्टेट्सको नाममा रहेको पसल कवलहरु लिलाम गर्नको लागि सूचना जारी गरेको थियो । तामाङले २१ करोड रुपैयाँ नतिरेपछि कोषले लिलामीको सूचना निकालेको थियो । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङ घरजग्गाबाट उदय भएका व्यवसायी हुन् । उनको राजकीय शैली र उनको महत्वांक्षा योजनाले नै उनलाई डुबाएको बताउनेहरु धेरै छन् । विडम्वना, अहिले उनीसँगै उनकी श्रीमती सृजना शाक्य पनि जेलमै छिन् । उनका व्यवसायहरु तितरबितर छन्, साहुहरुले धितो लिलाम गर्न खोजिरहेका छन्, उनी सम्पत्ति लिलाम नगर्न जेलबाट हारगुहार गर्दैछन् । कुनै बेला नेपाली जुत्ता उद्योगमा एक छत्र राज गरेका विराट थापा पनि असफल व्यवसायीका रुपमा दर्ज भइसकेका छन् । पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका भतिज विराटले पनि जुत्ता उद्योगबाट राम्रै कमाउँथे । राजनीतिक पृष्ठभूमीको परिवार, त्यसमाथि व्यवसायी भएकोले पनि उनलाई नपत्याउने कोही थिएनन् । बैंकहरुले पनि ऋण दिन तछाडमछाड गर्थे । सेनाहरुले पनि विराटकै उद्योगबाट उत्पादित जुत्ता प्रयोग गर्थे । तर, विडम्वना यो उद्योग पनि संकटमा पर्यो र बैंकको ठूलो उनको उद्योगमा फस्यो । न विराटले बैंकहरुको ऋण तिर्न सके नत बैंकले उनको धितो लिलाम गर्न सक्यो । यो विषय लामो समयदेखि अन्योलमै छ । यस्तै, कुनैबेला नेपाली व्यवसाय क्षेत्रमा एकछत्र राज गर्ने जीतबहादुर श्रेष्ठ दाजुभाईले पनि व्यवसायबाट हात धुनु पर्यो । २०५० को दशकमा श्रेष्ठ दाजुभाई (जीत बहादुर श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठ)को व्यवसाय विस्तार अहिलेका अर्बपति विनोद चौधरीलाई पनि चुनौति दिने किसिमको थियो । राजनीतिक नेतृत्वसँगको पहुँचको आधारमा सरकारले गरेको निजीकरणको लाभ लिँदै हरिसिद्धीको सम्पत्ति कब्जा गरेको श्रेष्ठ परिवारको एकताका नेपाली व्यवसाय क्षेत्रमा ठूलो प्रभाव थियो । सोही समयको चर्चित इट्टा टायल कारखाना थियो हरिसिद्धि । चीन सरकारको सहयोगमा २०२१ सालमा स्थापना भएको यो कारखाना पछि एनबी समूहले खरिद गर्यो । तत्कालीन नेपाल बंगलादेश बैंकका तत्कालीन सञ्चालक जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले सो कारखाना खरिद गरेर सञ्चालनमा ल्याए । यो कारखाना एनबी समूहले खरिद गरेपछि भने बिजनेस चौपट बन्यो । कम्पनीको बिजनेस बढाउनका लागि श्रेष्ठ दाजुभाइले कारखानाको नाममा रहेको जग्गा धितो राखेर तत्कालीन एनसीसी बैंकबाट ऋण लिए । हरिसिद्धिले २०५५ सालमा २०१ रोपनी जग्गा एनसीसी बैंकमा धितो राखेर १५ करोड ऋण लियो । एनसीसीमा पनि एनबी समूहको केही अंश सेयर थियो । पछि उक्त ऋण तिर्न नसकेपछि एनसीसी बैंकले हरिसिद्धीको ११९ रोपनी जग्गा लिलाम गर्यो । एनसीसी बैंकसँगै अन्य बैंकमा पनि यस कारखनाको जग्गा धितोमा राखिएको पनि बुझिएको छ । तर, एनसीसी बैंकले आफ्नो सम्पूर्ण कर्जा उठाउन भने अहिलेसम्म सकेको छैन । अहिले एनसीसी कुमारी बैंकमा मर्ज भएको छ । सो कर्जा उठाउन कुमारी बैंकले कसरत गरिरहेको छ । तर, पूरा धितो भने लिलाम गर्न सकेको छैन । बैंक स्रोतका अनुसार हरिसिद्धीबाट बैंकले २ अर्ब बढी रकम असुल्न बाँकी छ । २०५० को दशकमा एकछत्र व्यवसाय विस्तार गर्न लागेको श्रेष्ठ परिवारको व्यवसायले ६० को दशकमा भने आरालो बाटो समात्यो । त्यो बाटो मोड्न अनेक प्रयास भए । बैंकबाट ऋण लिएर उम्किने प्रयास श्रेष्ठ परिवारले गर्यो । तर, त्यसले आरालो गतिलाई थप प्रशय दियो । जीतबहादुर र लक्ष्मी बहादुरले आफ्नै लगानी रहेको बैंकबाट लिएको कर्जा तिर्न सकेनन् । २०७०को दशकसम्म आइपुग्दा उनीहरुको व्यवसाय मात्रै होइन छविले पनि सतह छोइसकेको थियो । व्यवसाय टाट पल्टेको छनक पाएपछि अन्य बैंकले पनि उनीहरुले राखेको धितो लिलाम गर्ने प्रक्रिया अगाडि बढाए । केहीले लिलाम पनि गरे । केहीले सकेनन् । श्रेष्ठ परिवारले ऋण नतिरेकै कारण तत्कालीन वल्र्ड मर्चेण्ट फाइनान्स डुब्यो । जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठलाई विश्वास गरेर सहकार्य गर्ने कयौं व्यवसायीले व्यवसायबाट हात धुनु पर्यो । श्रेष्ठ दाजुभाईको व्यवसायिक सहयात्रीहरु छुटे, विश्वास गर्ने बैंकहरु डगमगाए । अहिले जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठका परिवारका सबै सदस्य कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचिकृत छन् । उनीहरुले न बैंकबाट ऋण पाउने अवस्था छ नत व्यवसायिक साझेदार नै पाउने अवस्था छ । बैंकबाट ठूलो मात्रामा ऋण लिएर ऋण नतिर्ने यस्ता पात्रहरुको प्रवृतिले बैंकहरुलाई समस्या सिर्जना गरिरहेको छ । बैंकको खराब कर्जा दिनानुदिन बढिरहेको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल यस्ता ठूलो धितो बिक्री गर्न ग्राहक नपाउनाले लिलाम नहुने बताउँछन् । उनका अनुसार बैंकहरुको धितो कब्जा गर्नु पर्ने मनसाय नभएपनि लामो समयसम्म सावाँ ब्याज नतिर्दा बैंकमा समस्या सिर्जना हुन्छ । ‘लिलामी प्रक्रिया सकसपूर्ण हुन्छ, अधिकांशमा मुद्दा मामिला पनि हुन्छ, मान्छेले सजिलै आफ्नो सम्पत्ति खान दिँदैनन्, यसमा समय लामो नै लाग्छ, कुनै स्पेस नभएपछि बैंकले धितो लिलाम गर्न खोज्ने हो,’ सीईओ पोखरेलले भने ।

५ हजार बोकेर काठमाडौं छिरेका गणेशराज : चित्रकारपछि पत्रकार, शिक्षकदेखि सीईओसम्म

काठमाडौं । तपाईं कामलाई सर्वोपरी ठान्नुहुन्छ वा किस्मतलाई ? मिहेनतलाई महान मान्नुहुन्छ वा भाग्यलाई ? यो विषय आफैमा अनुत्तरित छ । कतिपय मिहेनत गर्दा गर्दै थाक्छन् र भाग्यलाई सराप्छन् । काम नगरेर भाग्यको भरमा चल्नेहरु पनि त कहाँ नभएको हो र समाजमा । अभावको जिन्दगी जिउनु धेरैलाई अत्यास लाग्छ, कतिपयलाई त्यसमै आनन्द लाग्छ त कयौं मान्छेहरुले अभावमै रमाउँछन् । अभावलाई संघर्ष ठान्दै मन थुमथुम्याउँछन् । कतिपय अभाव नहुँदा नहुँदै पनि त्यसमै जीन्दगी जिउन रुचाउँछन् । यो सब मान्छेको मन न हो । तर, संघर्ष त गर्नै पर्छ । एउटा व्यक्ति पेन्टर, पत्रकार, लेखक, राजनीतिज्ञ, शिक्षक र बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने कुरा तपाईंले कल्पना गर्न सक्नुहुन्छ ? अहँ, हामीले सहजै स्वीकार्दैनौं यो विषयलाई । किनकी हामीलाई दुई/चार वर्ष संघर्ष गरेर थाक्ने बानी परिसकेको छ । एउटा क्षेत्रमा असफल हुने बित्तिकै अर्थात् त्यो क्षेत्र मन नलाग्ने बित्तिकै म सकिएँ, म बर्बाद भएँ, अब अगाडि बढ्ने कुनै बाटो छैन भनेर भाग्यलाई सराप्दै बस्ने बानीले थिचोलिसकेको छ हामीलाई । सपनाभित्रको त्यो सकस लक्ष्य भेट्टाउने मान्छेले मात्रै महसुस गर्न सक्छ । हामीले एउटा पेशा अँगाल्दा पनि त्यति धेरै थाक्छौं र बरालिन्छौं भने पाँच वटा पेशा अगाँलेर सफलताको स्वाद चाखेका सिटिजन्स बैंक इन्टरनेश्नलका सीईओ गणेशराज पोखरेल कति थाके होलान् ? कति सोचे होलान् ? उनले सपना पुरा गर्न कति सकसहरु भोगे होलान् ? हो, आज हामी तिनै पोखरेलको जीवन कहानी पस्किँदैछौं । हुन त गणेशराज पोखरेलको परिवारमा कुनै अभाव थिएन । बर्दियाको जमिनदार नै थियो उनको परिवार । राजनीतिक पृष्ठभूमीको परिवार भएकोले पनि जिल्लामा सबैले चिन्थे । बाजे काँग्रेस पार्टीको जिल्ला अध्यक्ष । राजनीतिक पृष्ठभूमीमा हुर्केका पोखरेललाई आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने मानसिकता सानैदेखि थियो । उनी आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘राजनीतिक पृष्ठभूमीको परिवार भएकोले पनि घरमा नयाँ–नयाँ मान्छेहरु आइरहनुहुन्थ्यो, त्यो माहोल देख्दै हुर्कें, बुबाले राजनीतिभन्दा पढ्नु पर्छ भनेपछि पढाइमा ध्यान दिएँ, म संघर्षमा विश्वास गर्छु ।’ ५ हजार बोकेर काठमाडौं वि.स २०२६ सालमा बदिर्याको गुलरियामा जन्मेका पोखरेलको स्कूले जीवन गाउँमै बित्यो । उनले महाकवी देवकोटा माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पुरा गरे । उनले आइकम (हालको प्लस टु) नेपालगञ्जबाटै पास गरे । थप अध्ययन गर्नु पर्छ भन्ने मानसिकताका साथ उनी काठमाडौं छिरे । बर्दियाको एउटा जमिनदार परिवार । त्यतिबेला आफ्नो परिवारको ६ बिघा जमिन भएको पोखरेल सुनाउँछन् । तर, उनी काठमाडौं आउँदा ५ हजार बोकेर आए । ‘मलाई आफ्नै पौरखमा रमाउनु पर्छ भन्ने लाग्छ, आफैले मिहेनत गरेर खर्च गर्नु पर्छ जस्तो लाग्छ, हुन त धेरै पैसा लिएर काठमाडौं आउन नसक्ने थिइनँ, तर पाँच हजार बोकेर काठमाडौं आएँ, आफैले संघर्ष गरें, अहिले खुसी लाग्छ, संघर्ष पछिको सफलतामा आत्म–सन्तुष्टि मिल्छ,’ पोखरेलले आफ्नो जीवन कहानी सुनाउँदै भने । पोखरेलले काठमाडौंको शंकरदेब कलेजमा बिकममा भर्ना गरे । औसत विद्यार्थीको रुपमा चिनिने पोखरेलको सरलता र अनुशासनको भने शिक्षकहरुले पनि खुब प्रशंसा गर्थे । ‘म विद्यालयमा औसत विद्यार्थी थिएँ, गणितमा भने तेज विद्यार्थी हो, म पढाइमा भन्दा पनि खेलकुदमा चासो राख्थें, फुटबल राम्रो खेल्थें, अहिले पनि दैनिक बिहान २ वटा गेम ब्याडमिन्टन खेल्छु,’ सीईओ पोखरेल भन्छन् । पोखरेलले शंकरदेबबाट नै एमबिए पास गरे । सीईओ पोखरेललाई चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्ने इच्छा थियो । तर, बाटो अन्तै मोडियो । उनी पढाइ सँगसँगै लेखनमा पनि लागे । ‘मैले घरपरिवारसँग सीए पढ्ने प्रस्ताव गरेँ, मेरो भिनाजु पुरुषोत्तम दाहालले तिम्रो भविष्य नेपाल मै राम्रो छ, सीए पढेपनि के नै हुने हो र भन्नु भयो, बुवालाई पनि उहाँले कन्भिन्स गराउनु भयो, त्यसपछि सीए पढिनँ,’ उनले विगत स्मरण गर्दै भने । उनले दुई विषयमा स्नातकोत्तर गरे । उनले काठमाडौं विश्वविद्यालयबाट फाइनान्समा एमबिए पास गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबिए पूरा गरेका छन् । विद्यार्थी नेतादेखि हिरासतसम्म घरपरिवार राजनीतिक पृष्ठभूमी भएकोले पनि उनलाई राजनीतिले छोइसकेको थियो । बाजे काँग्रेस पार्टीसँग आवद्ध थिए । विस्तारै उनी पनि विभिन्न सभा सम्मेलनमा भाग लिन थाले । नेपालगञ्जमा विद्यार्थी राजनीति गरे । वि.स २०४६ सालभन्दा अगाडि उनी नेपाल विद्यार्थी संघमा आवद्ध थिए । त्यतिखेर उनी विद्यार्थी संघको जिल्ला उपसभापति भए । देशमा पञ्चायत व्यवस्था थियो । उनी विद्यार्थी राजनीतिमा सक्रिय भए । आन्दोलन आम हड्तालको अग्रमोर्चामा उनी देखिन्थे । ‘बुझेर वा नबुझेर संगठनमा आवद्ध भएको थिएँ, प्रतिबन्धित अवस्थामा म जिल्ला उपसभापति थिएँ, त्यतिखेर सक्रिय भएर पनि होला प्रहरीले पक्राउ गर्यो, एक साता हिरासतमा पनि बस्नु पर्यो, संस्थामा राजनीति हुनु हुँदैन भनेर मान्यता राख्छु,’ उनले विद्यार्थी राजनीति स्मरण गर्दै भने । चित्रकारपछि पत्रकार देशमा पञ्चायत विरुद्दका आन्दोलनले उग्ररुप लिइरहेको थियो । पञ्चायत विरुद्दका नाराहरु घन्किरहेका थिए । उनी सक्रिय राजनीतिबाट केही निष्कृत भइसकेका थिए । मिहेनती स्वभावका पोखरेल पेन्टिङ्गमा पनि रुची राख्थे । त्यतिबेला अहिलेको जस्तो कम्युटरले लेख्ने अवस्था थिएन । हस्त लिखित वस्तुहरु आन्दोलन र चुनावमा प्रयोग हुन्थे । सोही समय पोखरेलले पनि विभिन्न रंङहरुको तस्वीर, ब्यानर तथा चित्रहरु बनाएर राम्रै पैसा कमाएको सुनाउँछन् । पोखरेलले कोरेको पूर्व राजा स्व. बिरेन्द्र शाहको चित्र । ‘वि.स २०४८ सालको चुनावमा मैले धेरै कमाएँ, त्यो बेला पहिलो पटक चुनाव भएको थियो, चुनावमा ब्यानरमा सिल्भर कलरले लेख्नुपथ्र्याे, फलानो पार्टीको कर्मठ उम्मेदवारलाई अत्याधिक मतले विजयी गराऔं, लगायतका शब्दहरु ब्यानरमा लेख्नु पथ्र्यो, एउटा ब्यानर लेखेको ५० रुपैयाँ पाइन्थ्यो, त्यो पैसाले ६२५ रुपैयाँमा क्याल्कुलेटर किनेको अहिलेसम्म याद छ, आफ्नो पढाइ खर्च आफै जुटाउँथे,’ उनले भने । उनी राम्रो चित्र पनि बनाउँछन् । त्यतिखेर उनले बनाएका धेरै चित्रहरु चर्चित पनि बने । उनले त्यतिबेलाको राजा तथा नेताहरुको तस्वीरहरु चित्रमार्फत् जस्ताको त्यस्तै उतार्थे । उनी भन्छन्, ‘चित्रकला पनि मेरो रुचीको विषय हो ।’ काठमाडौं प्रवेश गरेपछि पोखरेल पत्रकार बने । २०४६ सालदेखि पत्रकारिता गरेका उनले तीन वर्ष बढी समय पत्रकार भएर काम गरे । राष्ट्र पुकार साप्ताहिकमा लेख लेख्थे । र, एउटा अर्को रेडियोमा पनि उनले काम गरे । स्वीडेनको गोथेनवर्ग विश्वविद्यालयमा तीन सातासम्म मास मिडिया र डेमोक्रेसी विषय पढेपछि आफु पत्रकार बनेको उनी सुनाउँछन् । मध्यपश्चिमाञ्चलबाट छनोट भएर पढ्न गएको उनी बताउँछन् । उनलाई अहिले पत्रकारिता पेशा अँगालिरहेको भए पनि हुने भन्ने महसुस हुन्छ । ‘पत्रकारिता गर्दा धेरै जनाको अन्तर्वार्ता लिएँ, विनोद चौधरी, शैलजा आचार्य लगायत सयौं जनाको मैले अन्तर्वार्ता लिएको छु, पत्रकारिता गरेर नै मेरो लेखनशैली राम्रो भएको हो, धेरै मान्छेहरुसँग चिनजान पनि भयो,’ उनी त्यतिखेरको पत्रकारिताको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यतिखेर धेरै गाह्रो थियो, प्रेसमा अक्षर टाइप गर्नुपथ्र्याे, पत्रिकामा एउटा लेख लेख्दा १५ सय रुपैयाँ आउँथ्यो ।’ सीईओ पोखरेलले लेखेका दुई पुस्तकका आवरण । वि.स २०५० सालमा उनले पत्रकारिता छोडे । पत्रकारिताले उनको लेखनशैली राम्रै भइसकेको थियो । अब उनलाई किताब लेख्ने हुटहुटी आयो । त्यही बिचमा तीन वटा पुस्तक लेखेको उनी बताउँछन् । ‘राप्ती पश्चिमको प्रजातान्त्रिक आन्दोलन, ‘नयाँ मुलुकमा प्रजातान्त्रिक आन्दोलन’ उनले लेखेका पुस्तक हुन् । पार्टटाइमरदेखि प्रिन्सिपलसम्म पत्रकारिता छोडेपछि पोखरेलको बाटो अध्यापनतर्फ मोडियो । उनले काठमाडौंका केही कलेजहरुमा स्ट्राटेजिक म्यानेजमेन्ट, मार्केटिङ म्यानेजमेन्ट पढाउन थाले । अध्यापनका दिनहरु बित्दै गए । उनी काठमाडौंको म्यानेजमेन्ट डेभलपमेन्ट क्याम्पसको प्रमुख पनि बने । उनले म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) मा पनि १४ वर्ष काम गरे । उनले पढाएको र व्यवस्थापन सम्हालेको डेढ दशक भइसकेको थियो । ‘पत्रकारिता छोडेपछि २०५० सालमा म्यानेजमेन्ट एसोसिएसन अफ नेपालमा काम गर्न थालेँ, सुरुमा एकाउन्ट अफिसर थिएँ, ६ महिनामा नै डाइरेक्टर भएँ, काम गर्दै गर्दा पढाइ पनि अघि बढाएँ, सातै दिन काम गर्थें, क्याम्पस प्रमुख हुँदा पनि सातै दिन अफिस जान्थे, ठूलो मिहेनत गरेर म्यानलाई एउटा उचाइमा पुर्याइयो,’ उनी भन्छन्, ‘म मिहेनत गर्न रुचाउँछु, दत्तचित्तले काम गर्ने बानी अहिले पनि निरन्तर छ ।’ अध्यापन गर्दै गर्दा उनले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका संस्थाहरुमा गएर पढाउने तथा तालिम दिने काम पनि गरे । सोही समय वि.स २०५५ सालमा उनले विवाह गरे । उनले धनगढीबाट विवाह गरेका हुन् । उनका अहिले दुइटा बच्चाहरु छन् । छोरा न्यूयोर्कमा काम गर्छन् । छोरी उनीसँगै नेपालमा छिन् । त्यसपछि जुर्यो सीईओ बन्ने अवसर क्याम्पस प्रमुख हुँदा नै उनलाई सिटिजन्स बैंकमा काम गर्ने अवसर आयो । वि.स २०६४ सालमा सिटिजन्स बैंकको स्थापना भएपछि उनी क्याम्पस प्रमुख छोडेर बैंकमा सिनियर म्यानेजर भएर गए । पर्शुराम कुँवरले २०६५ सालमा बैंक छाडे । पोखरेल दोस्रो वरियतामा पुगे । रातदिन मिहेनत गर्ने बानी सानैदेखि भएको उनी सुनाउँछन् । ‘मलाई क्याम्पसमा काम गर्दा पनि एचआरमा बढी ज्ञान थियो, बैंकमा काम गर्ने आग्रहपछि बैंकमा काम गर्न सुरु गरेको हुँ, धेरैले मेरो व्यवहार देखेर राजदूत हुन्छ भन्थे, तर सीईओ बनेँ,’ उनले भने । उनको कामलाई बैंक सञ्चालकले रुचायो । स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा काम गरिरहेका उनले २०७५ सालमा सीईओको जिम्मेवारी पाए । अहिले उनको सीईओको रुपमा दोस्रो कार्यकाल चल्दैछ । ‘म अहिले पनि १६/१७ घण्टा काम गर्छु, मलाई पढ्न खुब आनन्द लाग्छ, म धेरै पढ्छु, म बैंकमा नआएको भए सम्भवतः अमेरिकाबाट पिएचडी गरिसक्थें,’ उनले सुनाउँदै भने ‘तर अहिले जे गरिरहेको छु, यसमा पूर्ण सन्तुष्ट छु ।’ उनको रुची सीए पढ्ने थियो । तर, उनलाई सीए नपढेकोमा कुनै पश्चाताप नभएको उनी बताउँछन् । त्यो दिनचर्या र यो जीवनशैली ५४ वर्ष पुगेका गणेशराज पोखरेलले अभावमा जिन्दगीमात्रै जिएनन्, शुखसयलको दिन पनि अनभुव गरे । तर, उनको व्यवहारमा भने कुनै परिवर्तन आएन । उनले २३ वर्षसम्म काठमाडौंमा बिताएको कोठे जिन्दगी र करोड कमाउने बैंकको सीईओ भएर पनि साधारण जीवनशैली रोजे । उनी सुरुमा काठमाडौं आएपछि रातोपुलमा १० वर्ष भाडामा बसे । त्यसपछि मैतीदेवी र बानेश्वरमा १२/१३ वर्ष भाडामै दिन गुजारे । अहिले भैसेपाटीमा आफ्नै घर छ । तर, उनलार्ई बदिर्याको गुलरियामा बिताएको त्यो शैशवकाल र मैतीदेवी, बानेश्वर र रातोपुलमा बिताएको कोठे जिन्दगी नै आनन्दित लाग्ने गरेको सुनाउँछन् । ‘जीवनमा धेरै हण्डर खाएँ, पैसा कमाउने, घुम्न पाए हुन्थ्यो, यो/त्यो खान पाए हुन्थ्यो भन्ने अपेक्षा छैन, म साधारण जीवनशैली रुचाउँछु, आजका दिनमा पनि मलाई आलु टमाटरको बाक्लो झोल र भुजामा एक चम्चा घ्यू हालेर दियो भने जीवनमा त्यो जति मिठो अरु केही लाग्दैन, दुनियाँभरका आइटम खान पनि जान्दिनँ, पत्रकारिता गर्दा सबै पार्टीले होटलमा कार्यक्रम गर्थे, तर, मलाई कहिल्यै पनि त्यसले आकर्षित गरेन, लुगा लगाउँदा पनि साधारण कपडा नै प्रयोग गर्छु., साधारण जीवनशैली नै मेरो विशेषता हो,’ सीईओ पोखरेल भन्छन् । पोखरेल अझै पनि अध्ययन गर्न चाहन्छन् । उनलाई अमेरिकाको कुनै विश्वविद्यालयबाट एक वर्षे म्यानेजमेन्ट कोेर्ष पढ्न मन छ । ‘मैले जागिर गरेको ३४ वर्षभन्दा बढी समय भइसक्यो, अब धेरै दौडधूप गर्ने इच्छा छैन, आफुले गरेको संघर्षको फलप्रति म सन्तुष्ट छु, अब छोराछोरीले देशका लागि केही काम गर्दिए भने म खुसी हुनेछु, उनीहरुले पढेको कुरालाई देशका लागि प्रयोग गरे भने म खुसी हुन्थें, उनले भने,‘ सीईओको कार्यकाल सकिएपछि गृह जिल्लामै गएर बस्ने मन छ ।’ उनी अब नयाँ युवाहरुलाई बैंकमा अवसर दिनु पर्ने बताउँछन् । सीईओ पोखरेल युवाहरुलाई बैंकमा आउन आग्रह गर्छन् । क्षमता देखाउन सक्नेलाई बैंकिङमा राम्रो अवसर भएको उनी सुनाउँछन् । ‘म बटम अफ एप्रोचमा विश्वास राख्छु, विदेश जानु पर्दैन, स्वदेशमै राम्रो करिअर बनाउन सकिन्छ, मिहेनत गरेर अघि बढ्नेलाई बैंक भर्सटाइल छ,’ उनी भन्छन्, ‘म टीममा विश्सास गर्छु ।’ भुल्नै नसकिने ती पल कतिपय घटनाहरु मान्छेको मानसपटलमा घुमिरहन्छन् । मनबाट नमेटिने घाउ बनिदिन्छन् केही घटनाहरु । सीईओ पोखरेलको जीवनमा पनि त्यस्ता अविस्मरणीय घटना भए । सिटिजन्स बैंकको सीईओ बनेपछि उनी ठूलो दुर्घटनामा परे । भाग्यवस्, उनी बाँचे । ‘भर्खर सीईओ बनेको थिएँ, सीईआ बनेपछि शाखा कार्यालय भिजिट गर्न पथलिया पुगेको थिएँ, शाखा भिजिट सकेर खाना खान जाँदा स्पीडमा रहेको गाडी दुर्घटनामा पर्यो, सँगै रहेका साथीहरु बहोस भए तर म ढोका फोडेर बाहिर निस्केँ, पछि सबैको अप्रेसन भयो, भाग्यवस बाँच्न सफल भैयो,’ त्यो दिन स्मरण गर्दै पोखरेलले भने । उनी दुर्घटनामा परेको केही समयपछि पोखरेलकी आमाको मृत्यु भयो । तर, उनले आमालाई भेट्न सकेनन् । गत चैतमा उनको बुबाको पनि निधन भयो । यी पलहरु उनका लागि निकै पीडादायी बनेर मानसपटलमा घुमिरहेका छन् । तर, सीईओ  गणेशराज पोखरेलको जीवनमा घटित घटना र उतार चढावहरु संघर्ष गर्ने हर कोहीको लागि पनि प्रेरणादायी हुनसक्छ ।

छायाँमा पर्दै भेट्रान सीईओहरू, धेरै भए गुमनाम

काठमाडौं । बैंकिङ जागिर नचाहने व्यक्ती समाजमा सायदै होलान् । आकर्षक तलब, चिटिक्क लवाई, ठूल्ठूला उद्योगी व्यवसायीहरुसँग उठ्बस् । र, अन्य धेरै सेवा सुविधाकै कारण धेरैको रुची र रोजाइ बन्छ बैंकिङ क्षेत्र । युवाहरुले आकर्षक पेशाको रुपमा बैंकिङ क्षेत्रलाई रोज्छन् । बैंकको नेतृत्व तह अर्थात् प्रमुुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सपना साकार पार्न अधिकांश बैंकरहरु रातदिन काम गर्छन् । बैंकले दिएको ‘टार्गेट मिट’ गर्न ठूलो दौडधूप गर्छन् । बैैंकमै काम गर्ने इच्छा बोकेर रातदिन तयारी गर्ने युवायुवतीहरुको जमात पनि कम छैन । तर, सबैको रोजाइ एउटै कहाँ हुन्छ र ? त्यो दौडधूप, त्यो सकस, त्यो अत्यास र त्यो तनाब चटक्कै छोडेर बैंकिङमा जमेका, रमेका र भिजेका भेट्रान अनुभवी बैंकरहरु सदाका लागि बैंकिङ क्षेत्रबाट गुमनाम बनेका छन् । वार्षिक करोड कमाएर समाजमा पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाएका ती भेट्रान बैंकरहरु आकर्षकको क्षेत्र छोडेर कतिपय निजी व्यवसायमा लागेका छन् भने कतिपय विदेश वा कयौं व्यक्तीहरु राजनीतिमा पनि होमिएका छन् । आज हामीले बैंकिङ क्षेत्रमा लामो समय नेतृत्व गरेर बाहिरिएका बैंकका पूर्व सीईओहरुको बारेमा सामग्री तयार पारेका छौं । अजय घिमिरे तत्कालीन भिवोर विकास बैंकका प्रमुख कार्यकारी अधिृकत अजय घिमिरे एक फरक शैलीको बैंकिङ गर्न रुचाउँथे । घरजग्गा कारोवार बुम भएको बेला उनले सो बैंक सुरु गरेका थिए । भिवोरले बैकिङ्गसहित घरजग्गाको कारोवार गर्ने महत्वाकांक्षी योजना बनाएको थियो । रविभवनको ४५ रोपनी जग्गा एक अर्ब ३७ करोड विक्री प्रकरणमा घिमिरे समस्यामा परेका थिए । जग्गा बिक्री गर्दा भिवोरले मध्यस्थता गरेवापत सहदेव कक्षपतीलाई पाँच करोड रुपैयाँ ‘फि’ दिएकाे थियाे । राष्ट्र बैंकले यो रकम बैंकका सञ्चालकहरुबाट असुल गर्न निर्देशन दिएपछि घिमिरे समस्यामा परेका हुन् । पछि बैंकमा पनि समस्या सिर्जना भयो । सो समस्याले बैंक माथि उठ्न सकेन । विडम्वना, बैंक पनि विलय भयो र घिमिरे पनि बैंकिङबाट सदाका लागि विदा भए । पृथ्वी बहादुर पाँडे नेपाली बैंक स्थापनामा अग्रणी रुपमा नाम आउँछ पृथ्वी बहादुर पाँडेको । हिमालयन बैंक स्थापनामा उनको ठूलो योगदान छ । उनले नेपाली बैंकिङ क्षेत्रमा काम गरेको साढे चार दशक भइसकेको छ । नेपाल राष्ट्र बैंकबाट जागिर सुरु गरेका पाँडेले पछि आफैले बैंक खोले र त्यसको नेतृत्व गरे । लामो समय बैंकको व्यवस्थापनको नेतृत्व गरेका उनी अहिले नेपाल इनभेष्टमेन्ट मेगा बैंकको अध्यक्ष छन् । बैंकिङमा पाँडेलाई नचिन्ने सायदै होलान् । तर, पछिल्लो समय उनी पहिलेको तुलनामा कम सक्रिय छन् । उनी अहिले निजी व्यवसायमा पनि सक्रिय भएका छन् । जनकराज शर्मा पौड्याल सनराइज बैंकका पूर्व सीईओ हुन् जनकराज शर्मा पौड्याल । शर्मा सनराइजभन्दा अघि ग्लोबल आइएईमा कार्यरत थिए । ग्लोबलमा चार वर्षको लागि नियुक्त भएका उनी आफ्नो कार्यकाल नसकिँदै राजीनामा दिएर बैंकबाट निस्केका थिए । शर्मासँग नबिल, एनआइसी एसिया र लक्ष्मी बैंकमा समेत काम गरेको अनुभव छ । अहिले उनी बैंकिङ क्षेत्र बाहिर छन् । अनिल ज्ञवाली नबिल र ग्लोबल आइएमई बैंकको सीईओ बनिसकेका ज्ञवालीले नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशक काम गरे । पूर्वाधार विकास बैंकमा पनि सीईओ भएर काम गरिसकेका उनी हाल सिटिजन्स बैंकको सञ्चालक समितिमा छन् । उनले विदेशी बैंकमा पनि काम गरेको अनुभव छ । उनी कर्मचारीबाट अहिले बैंकका मालिक बनेका छन् । सशिन जोशी स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका जोशीले पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समयसम्म काम गरे । उनले एनआईसी एसिया बैंकमा ११ वर्षसम्म नेतृत्व गरे । नबिल बैंकमा सीईओको कार्यकाल पूरा नहुँदै छोडे । व्यवस्थापनमा दख्खल राख्ने जोशी हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको कार्यकारी निर्देशकको रुपमा काम गरिरहेका छन् । उनलाई पनि धेरैले एक अनुुभवी बैंकरका रुपमा चिन्छन् । राधेश पन्त तत्कालीन बैंक अफ काठमाण्डूको प्रबन्ध संचालक, कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका अर्का भेट्रान बैंकर हुन् राधेश पन्त । सरकारी निकाय लगानी बोर्डको समेत प्रमुख कार्यकारी अधिकृत भएर बैंकिङ क्षेत्रबाट बाहिरिएका उनी पनि पछि बैंकको सञ्चालक बने । तत्कालीन बैंक अफ काठमाडूको संचालक समिति सदस्य समेत रहेका उनी बिओके ग्लोबल आइएमई बैंकमा मर्ज भइसकेपछि पनि सञ्चालकै रुपमा कार्यरत छन् । सुरेन्द्र भण्डारी १२ वर्ष कुमारी बैंकको सीईओ भएर काम गरेका भण्डारी पनि एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकमा दुई कार्यकाल नेतृत्व गरेपछि पुनः उनी कुमारी बैंकमै सीईओका रुपमा काम गरे । कुमारी बैंक नै उनको लागि बैंकिङ क्षेत्र बिदाईको अन्तिम संस्था बन्यो । शभ्भुनाथ गौतम सिद्धार्थ बैंकको सीईओ रहेका उनी एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकलाई एउटा लेभलसम्म पुर्याउन राम्रो नेतृत्व गरे । उनीसँग नबिल बैंकमा काम गरेको अनुभव पनि छ । उनी पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् । लक्ष्मण रिसाल एनआईसी एसियामा दुई कार्यकाल सीईओ भएर काम गरेका लम्साल एक अनुशासित बैंकरको छवि बनाएका थिए । बैंकिङ छोडे पनि उनी अहिले गोल्डस्टार जुत्ताको सीईओ भएर काम गरिरहेका छन् । उनी पनि व्यवस्थापनमा दख्खलता राख्ने सीईओका रुपमा परिचित थिए । किशोर महर्जन हिमालयन बैंकको महाप्रबन्धक भएर काम गरिसकेका महर्जनसँग तत्कालीन सनराइज र तत्कालीन सिभिल बैंकमा पनि सीईओका रुपमा काम गरेको अनुभव छ । उनले सनराइज बैंकको संस्थापक सीईओ भएर काम गरे । तत्कालीन सिभिल बैंक स्थापनामा पनि उनले ठूलो भूमीका खेले र सोही बैंकको सीईओ पनि बने । एउटा भेट्रान बैंकरको छवि बनाएका उनलाई नेवार समुदायले आदर सम्मान गर्ने गरेको छ । उनकै सक्रियतामा स्टार हस्पिटल स्थापना भएको हो । अहिले उनले सोही अस्पतालको नेतृत्व गरिरहेका छन् । सुमन जोशी स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट जोशी लक्ष्मी बैंकमा दुई कार्यकाल सीईओ भएर काम गरे । उनी बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेर बाहिरिए । अहिले उनी आफ्नै व्यवसाय गरिरहेका छन् । सुरेन्द्र प्रधान नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका सुरेन्द्र प्रधान सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरे । सनराइज बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिए । सनराइज बैंक स्थापना गर्दा उनै प्रधान राष्ट्र बैंकको नियमन विभागको प्रमुुख थिए । उनी अहिले बैंकिङ क्षेत्रमा प्रत्येक्ष रुपमा जोडिएका छैनन् । डा. विनोद आत्रेय नेपाल बैंकको सीईओ भएर काम गरेका डा. आत्रेय एक अनुभवी बैंकरका रुपमा परिचित थिए । उनले लामो समय राष्ट्र बैंकमा पनि काम गरे । त्योसँगै उनले नेपाल पूर्वाधार विकास बैंकमा पनि काम गरेका छन् भने इमर्जिङ नेपालको सीईओ भएर पनि काम गरिसकेका छन् । उनी अझै पनि प्रतयक्ष अप्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रसँग रहेर काम गरिरहेका छन् । उनी हाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेनस इन्स्टिच्युटको प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका छन् । नरेन्द्र भट्टराई चार्टर्ड एकाउन्टेन्ट भट्टराई तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल बंगलादेश बैंकमा समस्यामा परेपछि राष्ट्र बैंकले बैंकको व्यवस्थापन आफ्नो कब्जामा लियो । सो बेला भट्टराई नै सीईओका रुपमा काम गरिरहेका थिए । त्यसपछि उनी बैंकिङ क्षेत्रमा देखिएनन् । उनी बैंकिङ क्षेत्रबाट बाहिरिएको डेढ दशक बढी समय भइसकेको छ । उनी अहिले सीए फर्म सञ्चालन गरिरहेको बुझिएको छ । सुमन न्यौपाने तत्कालीन ग्लोबल बैंकको सीईओ भएर काम गरेका न्यौपानेले सनराइज बैंकको महाप्रबन्धकका रुपमा पनि काम गरिसकेका छन् । उनले साढे दुई वर्ष ग्लोबल बैंकको सीईओका रुपमा काम गरेका थिए । उनी पछि विवादमा परेपछि बैंक नै छोडे र सदाका लागि बैंकिङ क्षेत्रबाटै गुमनाम भए । न्यौपाने अहिले आफ्नै ब्यवसायमा सक्रिय छन् । भुवन दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) का रुपमा काम गरेका दाहालसँग नबिल बैंकमा दुई दशक लामो समय काम गरेको अनुभव छ । सरकारी सेवामा काम गरिसकेका उनले पछि बैंकिङ रोजे र सो क्षेत्रमा तीन दशक बढी समय काम गरे । उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । अहिले उनी फाइनान्सियल लिट्रेसी नेपाल संस्था स्थापना गरेर काम गरिरहेका छन् भने लेखनमा पनि व्यस्त छन् । अनिल केशरी शाह अनिल केशरी शाह बैंकिङ क्षेत्रका सेलिब्रेटी नै हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनी नबिल बैंकको सीईओ भएर बैंकिङ क्षेत्रबाट नै बाहिरिए उनले मेगा बैंकको सीईओ भएर पनि काम गरे । उनी बैंकिङ क्षेत्रबाट कहिल्यै नफर्किने गरी राजनीतिमा लागिसकेका छन् । उनी हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रशिक्षण विभागको जिम्मेवारी सम्हालिरहेका छन् । राजनसिंह भण्डारी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि भण्डारी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत बने । उनले सो बैंकमा दुई कार्यकाल काम गरे । बैंकिङ क्षेत्रको व्यवस्थापन टीमबाट बाहिरिए पनि उनी सञ्चालक समूहमा भने काम गरिरहेका छन् । उनी हाल सिटिजन्स बैंकको अध्यक्ष छन् । उपेन्द्र पौड्याल लामो समय बैंकिङ क्षेत्रमा व्यवस्थापन सम्हालेका पौडेल हाल नबिल बैंकको सञ्चालक समितिको अध्यक्षका रुपमा काम गरिरहेका छन् । उनले १६ वर्ष एनएमबि बैंकको कार्यकारी प्रमुख भएर काम गरे । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । हाल उनी नेपाल व्यवस्थापन संघको अध्यक्षका रुपमा पनि काम गरिरहेका छन् । सुधिर खत्री तत्कालीन ग्राण्ड बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा डेढ दशक काम गरेका खत्री ग्राण्ड बैंकको अवशानपछि बैंकिङ क्षेत्रबाटै हराए । उनले बैंकिङ छाडेर केही समय अमेरिका बसे । अहिले उनी नेपालमै व्यवसाय गरेर बसिरहेका छन् । कमल ज्ञवाली तत्कालीन किष्ट बैंकका सीईओ ज्ञवाली महत्वाकांक्षी बैंकरका रुपमा परिचित थिए । हाल उनी बैंकिङ कसुर अभियोगमा जेलमा छन् । बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेका उनले एकताका बैंकिङ क्षेत्रमा राज नै गरेका थिए भन्दा फरक नपर्ला । सुरुमा नाम, त्यसपछि बदनाम कमाएका ज्ञवाली र किष्ट बैंक परिपुरक जस्तै थिए । । तर, अहिले उनलाई धेरैले बिर्सिसकेका छन् । अजय श्रेष्ठ तत्कालीन बैंक अफ काठमाण्डूको सीईओ श्रेष्ठले सो बैंकमा दुई कार्यकाल काम गरे । उनीसँग तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बिओकेअघि श्रेष्ठले २ वर्ष एनएमबि बैकमा काम गरेका थिए । उनले त्यसअघि १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरे । उनी बैंकिङ कसुर अभियोगमा जेलमा समेत बसे । उनले अदालतबाट सफाई पनि पाइसकेका छन् । ५५ वर्षदेखि निरन्तर बैंकिङमा   बिक्रम सम्बत् २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका नारायणदास मानन्धर अहिले पनि बैंकिङ क्षेत्रमै सक्रिय छन् । उनी अहिले प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । उनले सो बैंकमा चार पटक सीईओका रुपमा काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा ५५ वर्षभन्दा बढी समय बिताइसकेका मानन्धर अन्य बैंकका सीईओहरुको तुलनामा बढी अनुुभवी मानिन्छन् । कृषि विकासको स्थापनादेखि काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकमा पनि काम गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसम्म समेत पुुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । त्यसयता उनी प्राइम कमर्सियल बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । कृष्ण प्रसाद शर्मा राष्ट्रिय वाणिज्य बैंकको सीईओ भएर काम गरेका शर्मा पनि अहिले व्यवस्थापन समूहबाट सञ्चालक समूहमा प्रवेश गरिसकेका छन् । उनले ३३ वर्ष लामो समय बैंकिङमा काम गरेर अहिले ग्लोबल आइएमई बैंकको सञ्चालकका रुपमा काम गरिरहेका छन् । यसअघि उनी नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक थिए । अनिल उपाध्याय कृषि विकास बैंकको सीईओको रुपमा काम गरेका उपाध्याय केही समयअघि मात्रै बैंकबाट बाहिरिएका हुन् । नेपाल बैंकर्स संघको अध्यक्षको रुपमा समेत काम गरिसकेका उनी अहिले एउटा निजी कम्पनीको व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । अनलराज भट्टराई तत्कालीन सानिमा विकास बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका भट्टराई अहिले बैंकिङमा सक्रिय छैनन् । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमइ बैंकमा मर्ज भएपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । उनी अहिले नेपाल उद्योग परिसंघ (सिएनआई) मा बैंकिङ विज्ञको रुपमा काम गरिरहेका छन् । जनार्दन आचार्य राष्ट्रिय वाणिज्य बैंकमा सीईओका रुपमा काम गरिसकेका आचार्य पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् । उदयकृष्ण उपाध्याय कुमारी बैंकको सीईओका रुपमा काम गरिसकेका उपाध्याय सीईओ हुँदा नै उनको एउटा काण्ड बाहिरिएको थियो । सीईओ बहाल हुँदै काण्ड बाहिरिएपछि उनले बैंक छोड्नु परेको थियो । त्यसपछि उनी युनाइटेड इन्स्योरेन्सको अध्यक्ष पनि बने । सो घटनापछि उनी बैंकिङमा फर्किएनन् । विजय पन्त पन्त तत्कालीन जनता बैंकका सीईओ हुन् । उनले साढे दुई दशक बैंकिङ क्षेत्रमा काम गरे । अहिले उनी मर्कन्टाइलमा कार्यरत छन् । रमेश कुमार भट्टराई तत्कालीन जनता बैंकका सीईओ भट्टराई पनि बैंकिङ क्षेत्रबाट पनि हराएका छन् । उनी विजय पन्तको बर्हिगमनपछि बैंकको सीईओ बनेका थिए । उनी कर्मचारी सञ्चय कोषको पूर्व प्रशासक पनि हुन् । मनोज गोयल तत्कालीन बैंक अफ काठमाण्डूको सीईओका रुपमा काम गरिसकेका गोयल पनि अहिले बैंकिङ क्षेत्रमा छैनन् । उनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सीइओ पनि बने । सो बैंक पछि एनएमबि बैंकमा गाभियो । सिद्धान्तराज पाण्डे तत्कालीन एस डेभलपमेन्ट बैंकका सीइओ सिद्धान्तराज पाण्डे पनि चचिर्त बैंकर हुन् । अहिले उनी पनि गुमनाम छन् । एस बैंक पछि नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएको थियो । उनी पनि बैंकिङ क्षेत्रबाट सदाका लागि बाहिरिएका छन् । कुमार लम्साल सानिमा, प्रभु र जनता बैंकको सीईओ भएर काम गरिसकेका लम्साल पनि बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकरका रुपमा चिनिन्छन् । उनी अहिले नेपाल बैंकिङ इन्सिच्युटको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । देवेन्द्रप्रताप शाह कृषि विकास बैंक र नेपाल बैंकको सीईओका रुपमा काम गरिसकेका शाह एक अनुभवी बैंकरका रुपमा चिनिन्छन् । उनले बीमा प्राधिकरणको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । उनी साहित्यकार पनि हुन् भने उनी अहिले उमेरका कारण बजारमा देखिँदैनन् । अनुपमा खुञ्जेली मेगा बैंकको सीईओ भएर काम गरिसकेकी खुञ्जेली पनि एक सफल बैंकर हुन् । नेपालको पहिलो महिला सीईओ समेत रहेकी उनी एक कार्यकाल नबित्दै मेगा बैंकबाट बिदा भइन् । करिब तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीले तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेकी हुन् । पर्शुराम श्रेत्री कुँवर नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गर्ने व्यक्तीमध्ये कुँवर पनि पर्छन् । कुँवरले तीनवटा बैंकमा सीईओको रुपमा काम गरे । बैंकिङ क्षेत्रमा ३५ वर्ष बिताइसकेका उनी पछिल्लो समय बैंकिङमा छैनन् । उनको अन्तिम संस्था नै ग्लोबल आइएमई बैंक बन्यो । तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड)बाट बैंकिङ्ग करिअर सुरु गरेका उनले जनता बैंक र ग्लोबल आईएमई बैंकको नेतृत्व गरे । नेपालको बैंकिङ इतिहासमा ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर सबैभन्दा ठूलो हो । जसको मर्जर गर्न कुँवरको भूमीका पनि महत्वपूर्ण रह्यो । अहिले उनी बैंकिङमा सक्रिय नभएपनि विभिन्न बैंकिङ सम्बन्धि तालिममा भने भेटिने गरेका छन् । उनी हाल इ–सेवाको अध्यक्ष बनेर काम गरिरहेका छन् । शोभनदेव पन्त शोभनदेव पन्त पनि एक सफल बैंकरका रुपमा परिचित थिए । तत्कालीन नेपाल अरब बैंक (हालको नबिल बैंक) बाट बैंकिङ करिअर सुरु गरेका पन्तले नबिल बैंकको उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरे । तत्कालीन नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरिसकेका उनले लुम्बिनी बैंकको नेतृत्व गरे । समस्यामा रहेको लुम्बिनी बैंकलाई स्वस्थ बैंक बनाउन उनले ठूलो भूमीका खेलेका थिए । त्यसपछि तत्कालीन बैंक अफ काठमाण्डूमा अजय श्रेष्ठको कार्यकाल सकिएपछि उनी नै सो बैंकको सीईओ बने । बैंक अफ काठमाण्डूमा एक कार्यकाल सकाउँदै उनी ३६ वर्षको बैंकिङ अनुभव बिट मार्दै यो क्षेत्रबाटै बाहिरिए । गणेश कुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि श्रेष्ठले पनि तत्कालीन सेञ्चुरी बैंकको सीईओ भएर काम गरे । एक कार्यकाल सीईओ भएपछि उनी पनि बैंकिङबाट बाहिरिए । अहिले सेञ्चुरी बैंक प्रभु बैंकका विलय भइसकेको छ । लिलाप्रकाश सिटौला सिटौला पनि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकबाट अवकाश पाएपछि उनी कृषि विकास बैंकको सीईओ बने । उनले सो बैंकमा आफ्नो एक कार्यकाल सकाउँदै बैंकिङ क्षेत्रबाटै बाहिरिए । अहिले उनी प्रभु बैंकको अध्यक्षका रुपमा कार्यरत छन् ।