सरकारी जग्गा संरक्षणमा गृहको सक्रियता: अतिक्रमित जग्गा फिर्ता ल्याउन देशभरका सिडिओलाई निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।  मन्त्रालयले बिहीबार (आज) ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै अतिक्रमित जग्गाको पहिचान गरी सो हटाउने योजना पेस गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयको आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाद्वारा जारी पत्रमा २०८२ चैत २० गतेको मन्त्रिस्तरीय निर्णय र परिपत्रको स्मरण गराउँदै यस कार्यलाई तीव्रता दिन भनिएको छ । मन्त्रालयले जिल्ला भित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी सो हटाउन आवश्यक योजना सम्बन्धित निकायबाट माग गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई भनेको छ ।  सो योजना मन्त्रालयमा पठाएपछि र मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि अतिक्रमण हटाउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध लगायतका अन्य सहजीकरण गृहले गर्ने पत्रमा उल्लेख छ । २०८३ वैशाख १६ गतेको सचिवस्तरीय निर्णय अनुसार अब जिल्लाहरूले आफ्ना क्षेत्रमा भएका सार्वजनिक सम्पत्तिको लगत संकलन गरी तिनीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन ठोस कार्ययोजना बनाउनुपर्नेछ ।  सरकारी जग्गा व्यक्ति वा संस्थाले भोगचलन गरिरहेको अवस्था भएमा त्यसलाई कडाइका साथ खाली गराउने सरकारको तयारी छ । विगत लामो समयदेखि देशका विभिन्न भागमा सरकारी र सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परिरहेका बेला गृह मन्त्रालयले चालेको यो कदमलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।  यसअघि पनि मन्त्रालयले यस्ता परिपत्र जारी गरे तापनि यस पटक भने योजना नै माग गरी सुरक्षाको समेत सुनिश्चितता गरेकाले कार्यान्वयनमा कडाइ हुने देखिएको छ ।  

कास्कीमा ६७५ मोटरसाइकल कारबाहीमा, १ करोड ८० लाख राजस्व संकलन

काठमाडौं । कास्की प्रहरीले सडकमा ध्वनी प्रदुषण फैलाउने र स्वरूप परिवर्तन गरी आतङ्क सिर्जना गर्ने मोटरसाइकलहरू लक्षित गरी सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ६७५ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार यस अभियानका क्रममा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीमार्फत कुल १ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले रातको समयमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने, साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने र समाजमा भय सिर्जना गर्ने गतिविधि बढेपछि यो अपरेसन सुरु गरिएको जानकारी दिए।  विशेषगरी पर्यटकीय शहर पोखरामा यस्ता गतिविधिले सुरक्षा चुनौती थपेको र जनगुनासो व्यापक आएकाले प्रहरीले कडाइ गरेको हो । प्रहरीकाअनुसार गत भदौ २४ गते पोखरामा भएको ‘जेनजी’ आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पती तोडफोड, आगजनी र लुटपाटमा स्वरूप परिवर्तन गरिएका बुलेट, क्रस फायर, पल्सर र भीआरजस्ता मोटरसाइकलहरूको व्यापक प्रयोग भएको पाइएको थियो ।  आन्दोलनका क्रममा व्यवसायीका घर जलाउने, लुटपाट गर्ने र प्रहरीको हतियार खोस्नेसम्मका उच्छृङ्खल गतिविधिमा यस्ता सवारी प्रयोग भएपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको थियो ।  सवारी चेकजाँच र नियन्त्रणका क्रममा प्रहरीमाथि दुव्र्यवहार तथा अभद्र व्यवहार गर्ने २९ जना चालकलाई समेत नियन्त्रणमा लिई मुद्दा चलाइएको डिएसपी बस्नेतले बताए ।  उनले भने, ‘सडकमा मोटरसाइकल पड्काउँदै हिँड्ने र नागरिकलाई त्रसित बनाउने कार्यलाई हामीले शून्य सहनशीलताका साथ नियन्त्रण गरिरहेका छौं।’ प्रहरीले विशेषगरी कलेज पढ्ने युवाहरू यस्ता गतिविधिमा बढी संलग्न रहेको पाइएकाले आफ्ना छोराछोरीलाई सम्झाउन र उनीहरूको क्रियाकलापमा निगरानी राख्न अभिभावकहरूलाई आग्रह गरेको छ ।  साथै, समाजमा त्यस्ता उश्रृङ्खल गतिविधि गर्ने सवारीसाधन देखिएमा वा कसैले दुःख दिएमा प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल जानकारी गराउन समेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ । 

जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौं । रोल्पामा आज (बिहीबार) जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश  प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।  जीप भिरबाट करिब ८०० मिटर तलखस्दा १८ जनाको घटनास्थमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए। घटनालगत्तै रोल्पाका प्रहरी प्रमुख वीरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार कार्यमा खटिएको उनले बताए ।  उक्त जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेका प्रहरी निरीक्षक थापाले जानकारी दिए।   ‘ दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन । दुर्घटनाबारेमा थप विवरण आउन बाँकी छ ’, उनले भने ।