जाडाेकाे कारण रगतकाे अभाव बढ्दाे, सीई ग्रुप अफ कम्पनीले गर्याे रक्तदान कार्यक्रम
काठमाडौं । सी.ई. ग्रुप अफ कम्पनीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जाडोका कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उदेश्यले सी. ई. ग्रुप अफ कम्पनीले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । यस कार्यक्रमले रगतको अभावलाई सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । बुधबार सी.ई. ग्रुप अफ कम्पनीका प्रमुख बिजय राजभण्डारीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सामाजिक उत्तरदायित्वमा संस्थाको ठूलो भूमिका रहने कुरा बताए । प्रमुख भण्डारीले यसरी रक्तदान गरी सेवा गर्ने मौका पाएकोमा आफु अत्तिनै हर्षित भएको बताए । यस्ता किसिमका सामाजिक कार्यहरु आगामी दिनहरुमा पनि गर्दै जाने कुरामा जोड दिए । उक्त रक्तदान कार्यक्रममा १२५ भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका थिए । कार्यक्रममा निःशुल्क मधुमेह परीक्षण र डाक्टर परामर्श पनि प्रदान गरिएको थियो ।
चारवटा व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दर्ता, ऐन विपरीत कारोबार गरेको आरोप
धनगढी । खाद्य ऐन नियम विपरीत कारोबार गरेको आरोपमा चारवटा व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालु वर्षको चौमासिक अवधिमा कञ्चनपुरका तीन र बझाङका एक व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको हो । आज यहाँ आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा कार्यालयका प्रमुख उपेन्द्र रायले खाद्य ऐननियम विपरीत गई कारोबार गरेको फेला परेकाले यी व्यापारिक फर्मका सञ्चालकमाथि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको जानकारी दिए । सो अबधिमा कार्यालयले ९६४ खाद्य वस्तुका नमूनाको विश्लेषण र परीक्षण पनि गरेको छ । खाद्य बजार, होटेल, रेस्टुरेन्ट लगायतको अनुगमन गर्दा संकलन गरिएका १०२ वटा खाद्यका नमूनामध्ये सातवटा नमूनामा गुणस्तरयुक्त नभएको फेला परेका छन् । कार्यालयले सीमित साधान र स्रोतका बाबजुत विभिन्न जिल्लाका बजारमा गरिरहेको अनुगमन निरीक्षणका फलस्वरुप विगतको तुलनामा खाद्य गुणस्तरमा सुधार हुँदै गएको बताइएको छ । साधनस्रोतको अभावका कारण कार्यालयले ७ नं प्रदेशका पहाडी क्षेत्रका कतिपय जिल्लामा अझैसम्म नियमित रुपमा अनुगमन निरीक्षण गर्न सकेको छैन । कार्यक्रममा खाद्य क्वारेन्टाइन प्रयोगशाला गड्डा चौकी ९कञ्चनपुर०का प्रमुख गणेशदत्त जोशीले आफ्नो कार्यालयको प्रगतिबारे जानकारी दिएका थिए । सहभागीले खाद्यको गुणस्तर कायम गर्न मौजुदा खाद्य ऐननियमलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए । रासस
भूकम्प पीडितका लागि सल्भ नेपालले बनायो १२० वटा घर
ललितपूर । विनाशकारी भूकम्प गएको झन्डै तीन वर्षपछि भूकम्पपीडितको पुनर्वासका लागि सल्भ नेपाल नामक गैरसरकारी संस्थाको पहलमा ललितपूरको वाग्मती गाँउपालिकास्थित घुसेल गाँउका १२० घरधुरीका भूकम्पपीडितहरु लाभान्वित भएका छन् । अहिलेसम्म आवास, जीविकोपार्जन र खानेपानी, सरसफाइ तथा स्वच्छता जस्ता महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न सल्भ नेपालको नेपाल भूकम्प पुनर्लाभ, पुननिर्माण तथा उत्थानशीलता एनपिएल १६१ (थ्री आर) परियोजना नेपाल भूकम्प पुनर्लाभ कार्यक्रम भूकम्पबाट अतिप्रभावित क्षेत्र अन्तर्गत घुसेल वडा नम्बर १मा जारी छ । यसका लागि सल्भ नेपालले साझेदारी निर्माण, साझा जवाफदेहिता प्रवर्द्धन र स्थानीय क्षमता तथा सामुदायिक सहभागिता अभिवृद्धि गरेको छ । “विभिन्न चुनौतीहरूका बावजुद भूकम्पबाट प्रभावित मानिसहरूको जीवनमा हामीले उल्लेख्य प्रभाव पार्न सकेको हाम्रो तथ्यांकले देखाएको छ । भौगोलिक अवस्था, लाभान्वित छनौट प्रक्रिया र बृहत् आवश्यकताका कारण यो कार्य सहज थिएन । भूकम्पबाट प्रभावित व्यक्तिहरूलाई पुनः सामान्य अवस्थामा फर्काउन हामीलाई समुदायले गरेको व्यापक सहयोग र स्वीकारप्रति हामी कृतज्ञ छौं । अहिले हामी समुदायलाई उनीहरूको पुनर्लाभको स्वामित्व उनीहरूलाई नै दिने अवसरहरू प्रदान गर्ने र भविष्यमा आउनसक्ने विपद्को सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्ने दिशामा केन्द्रित छौँ,” सल्भ नेपालका जिल्ला कार्यक्रम अधिकृत प्रभात राउतले भने । भूकम्प तथा त्यसपछिका पराकम्पहरुबाट शारीरिक तथा मानसिक तवरले भयवित तथा विछिप्त भएका जनसमुदायहरुलाई लक्षित गरि मनोसामाजिक तथा सचेतना कार्यक्रम पनि पुरा गरेको छ । सो कार्यक्रमबाट १ सय २० जना मानिसहरु लाभान्वित भएको राउतले जानकारी दिए । भूकम्प गएलगत्तै यो संस्थाले विपद्को पूर्वतयारी, स्वास्थ्य, पोषण, शिक्षा, खानेपानी, सरसफाइ, आवास, बालसंरक्षण र जीविकोपार्जनका क्षेत्रसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदान गर्यो, सेवाहरूमा पहुँच सुनिश्चित, नगद सहयोग, तालिम उपलब्ध गरायो र भौतिक पूर्वाधारहरूको निर्माण गर्यो । यही डिसेम्बरसम्ममा पुनर्निमाण कार्य सम्पन्न गरेर लाभग्राहीलाई घर हस्तान्तरण गर्ने लक्ष्य रहेको राउतले जानकारी दिए । प्रतिकार्यको अन्तिम चरणमा अहिले यस गैर सरकारी संस्थाले विस्तारित तथा सुदृढ जीविकोपार्जन, खानेपानी तथा सरसफाइ र आवासका क्षेत्रमा कार्यक्रमहरू केन्द्रित गरेको छ । हालसम्म सल्भ नेपालले नेपाल भूकम्प पुनर्लाभको लागि पुनर्निर्माण प्रधिकारणले भुकम्प अति प्रभावित जिल्लाहरुमा घर निर्माणको लागी दिइने भनेको ३ लाख सहयोग अनुसार नै उक्त संस्थाले पनि घर निर्माणको ३ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ । घर निर्माणको लागी सुरुमा ५० हजार रुपैंया जग राखिसकपछि एक लाख ५० हजार रुपैंया र अन्तिम चरणमा १ लाख रुपैंया प्रदान गरेको जनाएको छ । बाग्मति गाउँपालिका वडा नं १ को १ सय २० घर निर्माणको लागी उक्त संस्थाले ३ करोड ६० लाख रुपैंया खर्च गरिसकको जनाएको छ । उक्त संस्थाले घर निर्माणको लागी दिएको सहयोग बाहेक प्राविधिक तालिम, सरसफइअभियान तथा मनोसामाजिक सहायता सचेतिकरण तालिम समेत दिएको जनाएको छ । यस संस्थाले राष्ट्रियपुनर्निर्माण प्राधिकरणको कार्यविधि अनुसार उक्त संस्थाले घर निर्माण गरेको राउतले बताए । उनका अनुसार हरेक लाभग्राहीलाई स्थायी आवास निर्माण गर्ने प्रयोजनले प्राविधिक सहयोग सुझाव तथा अनुगमन गर्ने र निर्माणाधिन भवनको प्रगतीअनुसार पहिलो, दोस्रो तथा तेस्रो किस्ता गरी तीन लाख दिइएको छ ।