राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच नाता जोडिँदै, राष्ट्रपतिको छोरी र पूर्व राष्ट्रपतिको नातिबीच टिकाटालो

काठमाडौं १, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच विहेको टिकाटालो भएको छ। अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ। राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो। उनीहरुको विहे आगामी माघ महिनाका लागि तय गरिएको छ।

१२ हजार दृष्टिविहीनले संसार देख्न पाए, ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका

काठमाडौं २९, असोज । नेपालमा आँखादान सुरु भएको २२ वर्षमा करिब १२ हजार दृष्टिविहीनले संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकअनुसार हालसम्म ११ हजार नौ सय ८० दृष्टिविहीनमा आँखाको नानी प्रत्यारोपण गरिएको छ । आँखा दान गरेका व्यक्तिको मृत्युपछि आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिन्छ । आँखा दान गर्ने ११ हजार दुई सय १७ नेपाली नागरिक छन् । त्यस्तै, सात सय ६३ विदेशी नागरिकले आफ्नै देशबाट सहयोगस्वरूप आँखाका नानी नेपाली दृष्टिविहीनलाई उपलब्ध गराएका छन् । हालसम्म आँखा प्रत्यारोपण गरिएकामध्ये ९६ प्रतिशतमा सफल भएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । चार प्रतिशत पनि प्रत्यारोपण गरिएका व्यक्तिले चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दा समस्या हुने गरेको आई बैंकका व्यवस्थापक त्वाएनाले बताए । प्रत्यारोपणपछि लामो समयसम्म अस्पतालमा नै बसेर उपचार गराउनुपर्नेमा हतार गरेर घर जाने र औषधिको राम्रोसँग प्रयोग नगर्नेहरूमा समस्या देखिएको उनले बताए । मृत्युपश्चात् आँखा संकलन गरिएका ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका छन् । उपत्यकाबाहिरबाट २० प्रतिशत आँखा संकलन भएको बैंकले जनाएको छ । काठमाडौंबाहिर विराटनगर, पोखरा, कैलाली र वीरगन्जमा आँखा संकलन केन्द्र छन् । संकलित आँखा आवश्यकताअनुसार प्रत्यारोपण गर्ने पूर्वाधार भएका सबै जिल्लामा पठाइने गरेको त्वाएनाले बताए । पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पनि आँखादान गरेका थिए । मृत्युपश्चात् उनको आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिएको थियो । त्यस्तै, कम्युनिस्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेती, साहित्यकार जगदीश घिमिरे, अभिनेत्री शान्ति मास्के, हास्य कलाकार हरिवंश आचार्यकी प्रथम पत्नी मिरा आचार्य, पूर्वप्रधानमन्त्री माधव नेपालका पिता मंगलकुमार उपाध्यायले पनि मृत्युपश्चात् आँखादान गरेका छन् ।

कालिकोटका वासिन्दको दसैंको आसिक, बालविवाह अन्त्य होस्

काठमाडौं २८, असोज । दसैंमा विशेष गरी दीर्घायु र सुखसमृद्धिको आशिष दिइन्छ । तर, कालिकोटमा यसपालि फरकखाले आशिष दिइयो । महिला हिंसाविरूद्धको अभियानस्वरूप सरोकारवालाले बालविवाह न्यूनीकरणका शुभकामना आदानप्रदान गरे । उनीहरूले आफन्तलाई आशिष दिए, ‘कसैले बालविवाह नगरून्, छोरीचेलीले अकालमा ज्यान गुमाउनु नपरोस्, बालविवाह अन्त्य होस् ।’ २०७५ सालभित्र कालिकोटलाई बालविवाह मुक्त जिल्ला बनाउन अघि सारिएको रणनैतिक योजना पूरा गर्न गाउँगाउँमा अभियान सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत जिल्लाका ३० मध्ये जुविथा, सुकाटिया, छाप्रे, मान्म, दाहा, पाखा, कालिका, रकु र राचुली गरी ९ गाविस बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला बालकल्याण समिति महिला विकास अधिकृत सीता थापामगरले बताइन् । अन्य गाविसमा पनि गाउँ बाल संरक्षण समितिमार्फत अभियान चलिरहेको उनले जानकारी दिइन् । कान्तिपुर दैनिकबाट ।