भूकम्प पीडितका लागि सल्भ नेपालले बनायो १२० वटा घर
ललितपूर । विनाशकारी भूकम्प गएको झन्डै तीन वर्षपछि भूकम्पपीडितको पुनर्वासका लागि सल्भ नेपाल नामक गैरसरकारी संस्थाको पहलमा ललितपूरको वाग्मती गाँउपालिकास्थित घुसेल गाँउका १२० घरधुरीका भूकम्पपीडितहरु लाभान्वित भएका छन् । अहिलेसम्म आवास, जीविकोपार्जन र खानेपानी, सरसफाइ तथा स्वच्छता जस्ता महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न सल्भ नेपालको नेपाल भूकम्प पुनर्लाभ, पुननिर्माण तथा उत्थानशीलता एनपिएल १६१ (थ्री आर) परियोजना नेपाल भूकम्प पुनर्लाभ कार्यक्रम भूकम्पबाट अतिप्रभावित क्षेत्र अन्तर्गत घुसेल वडा नम्बर १मा जारी छ । यसका लागि सल्भ नेपालले साझेदारी निर्माण, साझा जवाफदेहिता प्रवर्द्धन र स्थानीय क्षमता तथा सामुदायिक सहभागिता अभिवृद्धि गरेको छ । “विभिन्न चुनौतीहरूका बावजुद भूकम्पबाट प्रभावित मानिसहरूको जीवनमा हामीले उल्लेख्य प्रभाव पार्न सकेको हाम्रो तथ्यांकले देखाएको छ । भौगोलिक अवस्था, लाभान्वित छनौट प्रक्रिया र बृहत् आवश्यकताका कारण यो कार्य सहज थिएन । भूकम्पबाट प्रभावित व्यक्तिहरूलाई पुनः सामान्य अवस्थामा फर्काउन हामीलाई समुदायले गरेको व्यापक सहयोग र स्वीकारप्रति हामी कृतज्ञ छौं । अहिले हामी समुदायलाई उनीहरूको पुनर्लाभको स्वामित्व उनीहरूलाई नै दिने अवसरहरू प्रदान गर्ने र भविष्यमा आउनसक्ने विपद्को सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्ने दिशामा केन्द्रित छौँ,” सल्भ नेपालका जिल्ला कार्यक्रम अधिकृत प्रभात राउतले भने । भूकम्प तथा त्यसपछिका पराकम्पहरुबाट शारीरिक तथा मानसिक तवरले भयवित तथा विछिप्त भएका जनसमुदायहरुलाई लक्षित गरि मनोसामाजिक तथा सचेतना कार्यक्रम पनि पुरा गरेको छ । सो कार्यक्रमबाट १ सय २० जना मानिसहरु लाभान्वित भएको राउतले जानकारी दिए । भूकम्प गएलगत्तै यो संस्थाले विपद्को पूर्वतयारी, स्वास्थ्य, पोषण, शिक्षा, खानेपानी, सरसफाइ, आवास, बालसंरक्षण र जीविकोपार्जनका क्षेत्रसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदान गर्यो, सेवाहरूमा पहुँच सुनिश्चित, नगद सहयोग, तालिम उपलब्ध गरायो र भौतिक पूर्वाधारहरूको निर्माण गर्यो । यही डिसेम्बरसम्ममा पुनर्निमाण कार्य सम्पन्न गरेर लाभग्राहीलाई घर हस्तान्तरण गर्ने लक्ष्य रहेको राउतले जानकारी दिए । प्रतिकार्यको अन्तिम चरणमा अहिले यस गैर सरकारी संस्थाले विस्तारित तथा सुदृढ जीविकोपार्जन, खानेपानी तथा सरसफाइ र आवासका क्षेत्रमा कार्यक्रमहरू केन्द्रित गरेको छ । हालसम्म सल्भ नेपालले नेपाल भूकम्प पुनर्लाभको लागि पुनर्निर्माण प्रधिकारणले भुकम्प अति प्रभावित जिल्लाहरुमा घर निर्माणको लागी दिइने भनेको ३ लाख सहयोग अनुसार नै उक्त संस्थाले पनि घर निर्माणको ३ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ । घर निर्माणको लागी सुरुमा ५० हजार रुपैंया जग राखिसकपछि एक लाख ५० हजार रुपैंया र अन्तिम चरणमा १ लाख रुपैंया प्रदान गरेको जनाएको छ । बाग्मति गाउँपालिका वडा नं १ को १ सय २० घर निर्माणको लागी उक्त संस्थाले ३ करोड ६० लाख रुपैंया खर्च गरिसकको जनाएको छ । उक्त संस्थाले घर निर्माणको लागी दिएको सहयोग बाहेक प्राविधिक तालिम, सरसफइअभियान तथा मनोसामाजिक सहायता सचेतिकरण तालिम समेत दिएको जनाएको छ । यस संस्थाले राष्ट्रियपुनर्निर्माण प्राधिकरणको कार्यविधि अनुसार उक्त संस्थाले घर निर्माण गरेको राउतले बताए । उनका अनुसार हरेक लाभग्राहीलाई स्थायी आवास निर्माण गर्ने प्रयोजनले प्राविधिक सहयोग सुझाव तथा अनुगमन गर्ने र निर्माणाधिन भवनको प्रगतीअनुसार पहिलो, दोस्रो तथा तेस्रो किस्ता गरी तीन लाख दिइएको छ ।
कवाडका सामान टिप्नेभन्दै चोरी गर्ने ‘चल्ला ग्याङ’ पक्राउ
काठमाडौं । उपत्यकामा कवाडका सामानहरु संकलन गर्ने बहानामा घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । घरका ढोका तथा झ्याल फोडेर नगद, सुनचाँदीका गरगहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न चल्ला भन्ने समूहका ७ जनालाई चोरीका सामान सहित महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट बिभिन्न ब्राण्डका मोवाईल ४ थान, बिभिन्न कम्पनीका घडी ३ थान र चोरी कार्य गर्दा प्रयोग गर्ने फलामको रड १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा कवाडीका सामान संकलन गरी काठमाडौं महागरपालिका–९ तिलगंगा बस्नेहरु भारत बिहार समस्तीपुरका २६ वर्षीय दिनेश पोदार, समस्तीपुरकै १८ वर्षीय केतुल पोदार, समस्तीपुरकै १९ वर्षीय चन्तन पोदार, भारत मोतिहारी मजंफपुरका १८ वर्षीय मुकेशकुमार पोदार, भारत बिहार हाजिपुरका १८ वर्षीय सुरज पोदार, हाजीपुरकै १८ वर्षीय बिकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बाराको निजगढ नगरपालिका–९ का ३१ वर्षीय राजकुमार अधिकारी रहेका छन् । अभियुक्तहरुमध्ये मुकेशकुमार २०७३ बैशाख ८ गते चोरी मुद्धामा ९३ हजार रुपैयाँ धरौटीमा तथा निज राजकुमार ३ वर्षअघि केही सार्वजनिक मुद्धामा ३ हजार रुपैयाँ धरौटीमा जेलबाट छुटेका व्यक्तिहरु भएको खुल्न आएको छ । भारतमा चोरी गर्ने समूह बनाई नेपाल आउने र गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगलका सुकुम्बासी बस्तीमा लुकीछिपी बस्ने, कवाडी टिप्ने बहानामा चोरी गर्ने घरको जानकारी लिने, घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रबेश गर्ने, कवाड टिप्ने बोरामा फलामको रड लिई जाने, बाहिर एकजनाले निगरानी गर्ने तथा अन्यले घरभित्र चोरी गर्ने, तत्काल भारततर्फ फरार हुने, चोरीको पैसाबाट जाँडरक्सी खाने तथा भारतमा जग्गा जमिन किनेर घर बनाउने, चोरीका सामानहरु भारतीय बजारमा बिक्री समेत गर्ने गरेको र उनीहरू १०/१२ बर्षकै उमेरदेखि चोरी कार्यमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको सो महाशाखाले जनाएको छ । अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र उनीहरुका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरी महाशाखाले जनाएको छ ।
नौ महिनामा १० लाखले गरे शाश्वतधामको अवलोकन, यस्तो छ विशेषता
नवलपरासी । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम नौ महिनाको अवधिमा १० लाख भक्तजनले अवलोकन गरेका छन् । पुस १ गते शनिवार बिहान ११ बजे मन्दिर प्रवेश गरेका सिराहाका १४ वर्षीय मनिश सामल मगर शाश्वतधाममा आउने १० लाख औं दर्शनार्थी बनेका छन् । सिराहाको गोलबजार नगरपालिकास्थित एक विद्यालयबाट ११ जनाको समूहसहित शैक्षिक भ्रमणमा आएका मगरलाई मूल प्रवेशद्वारमा रहेको स्वचालित मेसिनले धाममा प्रवेश गर्ने १० लाख औं व्यक्तिका रुपमा गणना गरेको हो । मगरसहितका ११ जनालाई शाश्वतधाममा शनिबार पञ्जेबाजा र फूलमालाले विशेष सम्मान गर्नुका साथै उपहार पनि प्रदान गरियो । शाश्वतधाम व्यवस्थापनका अधिकारीहरुले उनीहरुलाई सम्मान गरेका थिए । पूर्वपश्चिम राजमार्गस्थित चौधरी उद्योग ग्रामसँगै रहेको यस धामको निर्माण ख्यातीप्राप्त उद्योगपति एवं नेपालकै एक मात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । ‘शाश्वतधाममा भक्तजनको आकर्षण देख्दा खुसी लागेको छ’ – धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने – ‘यस धामलाई थप आकर्षक बनाउने हाम्रो प्रयास जारी रहनेछ ।’ पिता लुंकरणदास चौधरीले वि.सं. २०५९ फागुन महिनामा शिलान्यास गरेको शाश्वत धाम निर्माणको अभिभारा विनोद चौधरीले वि.सं. २०७३ फागुन महिनामा पूरा गरेका थिए । विभिन्न धर्मका धर्मगुरुहरु, विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण माझ आर्ट अफ लिभिङका संस्थापक रविशंकरले २०७३ साल फागुन २४ गते एकम्वरेश्वर शिव मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोही दिन शाश्वत धामको विधिवत् उद्घाटन गरेसँगै सर्वसाधारणका लागि खुला गरिएको थियो । सुरुवातीकै दिनदेखि उल्लेख्य मात्रामा मानिसहरु मन्दिर भ्रमणका लागि आउने गरेका छन् । नेपाली नववर्ष अर्थात् गत वैशाख १ गते एकै दिन तीस हजार छ सय ४१ जनाले शाश्वतधामको भ्रमण गरेका थिए । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा पानीको फोहोरा चलाउँदा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र एउटा ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् । यहाँ रहेका अर्गानिक फार्म, अर्गानिक भोजनालय, आवासीय सुविधासहितको योग तथा ध्यान केन्द्र आदिको भरपूर उपयोग गर्न पाइने हुनाले यस मनमोहक स्थानमा पुग्ने जो कोहीले थकान र तनावबाट मुक्ति पाई आत्मिक शान्तिको महसुस गर्न पाउँछन् । आधुनिक भौतिकवादी युगमा लोप हुँदै गएको सनातन धर्मको महत्व जोगाउन र मन्दिरमा दैनिक पूजाआजा तथा वैदिक कर्मकाण्ड अभ्यास गर्न शंकराचार्यकै सुझाव बमोजिम यहाँ स्थापना गरिएको गुरुकुल अहिले वैदिक कर्मकाण्ड अध्ययनको थलो बनेको छ । यसका साथै काञ्ची कामाकोटी पीठ, कामक्षदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, आर्ट अफ लिभिङ लगायतका धार्मिक संघ संस्थासँग समन्वय गरी नेपालमा सनातन धर्म संस्कृतिको जगेर्ना, संरक्षण र जागरणका लागि शाश्वत धामले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । शाश्वत धाम स्थापनाको उद्देश्य सनातन धर्मको संरक्षण र सम्वद्र्धन गर्नु मात्र नभई ज्ञान, भक्ति, कर्म र राजयोगमार्फत् मानिसमा शारीरिक तन्दुरुस्ती, आध्यात्मिक चेतना र आत्मिक शान्ति दिलाउनु पनि भएको धाम व्यवस्थापनले जनाएको छ । यहाँ पुग्ने जो कोहीले आफूलाई ईश्वरीय सेवा, साधना र सत्संगमा सरिक गराउन पाउँछन् । शाश्वतधाम पछिल्लो समयमा शैक्षिक भ्रमणको गन्तव्यस्थलका रुपमा समेत विकास हुँदै गएको छ । शनिबार र बिदाका दिन यहाँ मानिसहरुको भीड नै लाग्ने गरेको छ । विवाह, व्रतबन्ध र अन्य पूजाआजाका लागि पनि मानिसहरु शाश्वतधाममा आउने आउने क्रम बढ्दै गएको छ ।