सचिवहरुसहित ५ जनाविरुद्ध राजस्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सटर कवल भाडाबापतको आम्दानी बुझिलिई बैंक दाखिला नगरी आम्दानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध रु ६४ लाख २८ हजार चार सय ३७ बराबरको बिगो मागदावी गर्दै मुद्दा दायर गरेको हो । यस्तै, तत्कालीन सदस्य सचिव नरहरि तिवारीविरुद्ध रु एक करोड चार लाख ७१ हजार ९४२ बराबरको बिगो माग दाबी गरिएको छ । तत्कालीन सदस्यसचिव गेहेन्द्रबहादुर डाँगीविरुद्ध रु ७२ लाख ७८ हजार ११०, तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीको श्रीमती सीमाकुमारी चन्द क्षत्रीविरुद्ध रु दुई करोड ९० लाख ९६ हजार ४४१ बराबरको बिगो मागदाबी गरिएको छ । तत्कालीन सहलेखापाल खड्गबहादुर रानाविरुद्ध रु दुई करोड ९४ लाख ७८ हजार ६८१ बराबरको बिगो मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्मको भाडा असुली गरेको रसिदबाट रु चार करोड १८ लाख चार हजार ३०३ बराबरको आम्दानी भएको देखिन्छ । सोमध्ये रु एक करोड २३ लाख २५ हजार ६२२ मात्रै बैंक दाखिला भएको देखिएको आयोगको अध्ययनबाट खुलेको छ । यस्तै, रु दुई करोड ९४ लाख ७८ हजार ६८१ बराबरको रकम भने बैंक दाखिला नगरी राजस्व हिनामिना गरेको पाइएको छ । सोही आधारमा आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा गैरकानुनी क्रियाकलाप भएको पाइएकाले आरोपीविरुद्ध मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ ।    

छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएर फरार रहेका क्षेत्री पक्राउ

काठमाडौं । आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका ३ का ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको हो । आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्टलगायतका कागजात बनाएको भन्दै उच्च माध्यमिक शिक्षा परिषद, परीक्षा नियन्त्रण कार्यालयले उनीविरुद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ । त्यसपछि सरकारी छाप दस्तखत किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालत २०८२ वैशाख ३ गते एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको सजाय सुनाएको प्रहरीले बताएको छ । एक वर्ष फरार रहेका उनी मंगलबार काठमाडौंको तिलगंगा क्षेत्रबाट पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको ‘साइबर ब्यूरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्न पत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज (मंगलबार) सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही तथा धादिङ्को नीलकण्ठ नगरपालिका-३ घर भई हाल काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ रहेको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनले भने,‘राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा केही समय अगावै बाहिरिएको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डको पत्र यस ब्यूरोमा प्राप्त भई गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट कक्षा १२ व्यवस्थापन मात्र भन्ने ‘वाट्सप ग्रुप’ तथा ‘फेसबुक मेसेन्जर’ लगायतमा विभिन्न ग्रुप निर्माण गरी उत्तरसहित प्रश्नपत्रसमेत बाहिर ल्याई प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो ।’ उनीहरूलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले बताए ।