परिक्षा हलमै धमाधम टिकटक बनाउन थालेपछि…

काठमाडौं । साउन २८ अर्थात् गत शनिबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लागि परीक्षा लिइरहेको थियो । परीक्षा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको त्रिभुवन मा. वि.,बोराडाँडीमा भइरहेको थियो । परीक्षा हलमा सबै विद्यार्थीहरू लेख्नमै व्यस्त थिए । परीक्षा केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार बम्म भने टिकटक बनाउन व्यस्त थिए । उनले टीककट बनाएको कसैले सुइको समेत पाएनन् । तर, जब उनले त्यो भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे त्यसपछि भिडियो भाइरल बन्यो । उनले परीक्षाको मर्यादा विपरित प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुईवर्ष सम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गर्नकै लागि विद्यार्थीहरुले कक्षा कोठामा पनि भिडियो बनाउन थालेका छन् । भिडियो भाइरल हुन सक्ने रहरले उनीहरुले नियम विपरित भिडियो बनाइरहेका हुन्छन् ।

नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी

म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीलाई आगामी भदौ ३ गतेसम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल सङ्घले आह्वान गरेको छ । त्यस्तै भलिबल सङ्घमा आवद्ध म्याग्दी जिल्लाका सम्पूर्ण आधिकारिक रेफ्रीलाई भदौ ३ गतेभित्र बेनीको शिक्षामार्गस्थित सङ्घको कार्यालयमा सम्पर्क गरी लाइसेन्स नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरण दर्ता शुल्क नबुझाउने रेफ्रीलाई सङ्घले कुनै पनि मान्यता नदिने निर्णय गरिएको सङ्घका महासचिव कुमार किसानले जानकारी दिएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनोट समिति पनि गठन भएको छ । समितिको संयोजकमा सङ्घका उपाध्यक्ष खड्क केसी र सदस्यमा सङ्घका उपाध्यक्ष राजकुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गङ्गा तिलिजा रहेका छन् । जिल्ला छनोट प्रतियोगितालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमितिसमेत गठन गरिएको छ । उपसमितिका संयोजकमा अशोक शाही र सदस्यमा रामबहादुर गुरुङ, अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेका सङ्घले जनाएको छ । जिल्लामा विभिन्न सङ्घसंस्था तथा क्लबले भलिबल प्रतियोगिता सञ्चालन गर्न अनिवार्यरूपमा सङ्घको कार्यालयमा सम्पर्क तथा समन्वय गर्न आह्वान गरेको छ । साथै रेफ्री, अफिसियल शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगितालाई थप व्यवस्थित र नीति–नियममा रहेर सञ्चालन गर्न सुझावस्वरुप पत्रचार गर्ने निर्णय गरिएको सङ्घका महासचिव किसानले बताए। सदरमुकाम बेनीमा भलिबल सङ्घको आफ्नै कोर्ट नभएको, विगतदेखि हालसम्म खेलमैदानको अभावमा तालिम वा खेल सञ्चालन गर्न निजी विद्यालयको खेलमैदान प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । खुलामञ्चबाहेक अरु विकल्प नरहेको परिस्थितिमा तत्कालका लागि अस्थायीरूपमा भए पनि कुनै व्यक्तिको जग्गा भाडामा लिएर खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको सङ्घले यस कार्यमा आवश्यक सहयोगका लागि सबै पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । गाउँ–गाउँमा माटोको भलिबल कोर्टलाई प्लास्टर तथा ढलान गरी पक्की बनाउने कार्य भइरहकाले यसबाट भलिबल खेल क्षेत्रलाई भविष्यमा ठूलो असर पु¥याउने खतरा देखिएकाले यसको विकल्पमा छुट्टै खेलमैदान बनाउनका लागि सबै क्लबलाई सचेत गराउने गरी जिल्लाभर अभियान सञ्चालन गरिने सङ्घले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई म्याग्दीमा सञ्चालन गर्नका लागि पहल गरिरहेको सङ्घले खेलतालिका जिल्लामा परेको खण्डमा उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्ने बताएको छ ।

ललितपुरमा ठेचोको १२ वर्षे जात्रा

ललितपुर । ललितपुरको गोदावरवी नगरपालिका वडा नं १२ ठेचोको नवदुर्गा भवानी देवी नाच सुरु भएको छ । १२ वर्षमा एकचोटी हुने नाच १२ यो वर्ष सुरु भएको हो । जात्रा झण्डै वर्षभरि नै चल्ने गर्दछ । २०७९ साउन १० गते गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । मन्दिरमा ताल्चा १२ वर्षे जात्राको क्रममा एक पटक मात्र लगाइन्छ । अन्य बर्षहरुमा ३ सय ६४ दिन नै खुल्ला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यही भाद्र ९ गते जुगचह्रे तिथिमा पूजाआजा गरी खोलिनेछ । जात्रा सुरु भएसंगै ठेचो बस्तीमा भोजभटेर, बिहे, व्रतबन्ध निषेध हुन्छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिडडुल गर्न, सिट्टी, ताली, घण्ट बजाउन पाइदैन । नवदुर्गा गुठीको आफ्नो बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखःनामक नाच सम्पन्न नभएसम्म लागु हुन्छ । धुःखःनामक नाच फागुन÷चैत तिर हुने गर्दछ । नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठीयार छन् । परम्परा अनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ । देवगणहरुको तान्त्रिक र यान्त्रिकतवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गर्छ । इन्द्रायणी देवीको भने नृत्य गराइदैन । श्वेत भैरव १२ वर्षमा एक पटक मात्र नृत्य गराइन्छ । प्राय श्वेत भैरव नाच दसै पछिसाईत हेरी नचाउदै आएको पाइन्छ । यो नाच पाटन दरवार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा) सँग पनि प्रत्येक्ष सम्बन्ध रहेको छ । भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरवारक्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ । वंशावलीमा ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त मालीजात प्रख्यात गरेको’ उल्लेख छ । राजा मानदेवको पालामा मू छेआँगम घर स्थापना गरी खड्ग जात्रा चलाएको कुरा वंशावलीमा उल्लेख छ । जात्राको अर्को मुख्य आर्कषण सुनाकोठीमा गरिने कुल्पी यज्ञ पनि हो । रातभरी यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गलगायत गरगहनामा साधन गरी देवता प्रतिष्ठापन गर्ने गरिन्छ । नवदुर्गा गण र ठेचोबारेमा देवमाला वंशावलीमा यस्तो लेखिएको छ, ‘नेपाली सम्वत सालमा श्री राजाका पालामा श्री श्री नवदुर्गा जगाई ७०० घरको सहर बनाई प्रतिवर्ष नवदुर्गाको नाच पाटनमा दशैका टिकाको दिनल्याई श्री मनमानेश्वरीको स्वेष्ट देवतालाई भैरव कालीबाराही ३ जनाले फुलको मालालगाई पाटनको मूल चाकेमा नाच नचाउने समेत रीत चलाएको आजसम्म चलेकै छ ।’ ठेचोमा माथिल्लो लाछी टोलमा रहेको बालकुमारी मन्दिर केन्द्रित मूल ४ वटा गुठी छन् । तल्लो लाछी टोलस्थित ब्रम्हायणी मन्दिर केन्द्रित मूल ३ वटा गुठी छन् । जुन गुठीहरुले माथिल्लो लाछी र तल्लो लाछीमा भिन्नभिन्न वा ःखनामक नाच देखाउदा सम्पूर्ण पुजा सामाग्री दिने गर्दछ । १२ वर्षे जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाकाबाट मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा २७ जनाको मूल व्यवस्थापन समिति गठन भएको छ । उपसंयोजकहरुमा गोदावरी नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष जगतबहादुर महर्जन, नवदुर्गा गुठीका नाइके भक्तलाल माली, नवदुर्गा भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली छन् । यसमा आर्थिक संयोजक धर्मराज माली, प्रचार प्रसार संयोजक विकास माली र स्वयेमसेवक संयोजक राजन्द्र माली रहेको नवदुर्गा भवानी देवी गुठीले जनाएको छ । १२ वर्षे जात्रा सञ्चालन गर्न गठित मुल व्यवस्थापन समिति, ठेचो सांस्कृति बाजा संरक्षण समिति, आर्थिक उपसमिति, स्वय्म सेवक उपसमिति र प्रचारप्रसार उपसमिति गठन गरिएको छ । नेपालका प्रसिद्ध नाचहरूमध्ये ललितपुर गोदावरवी नगरपालिका–१२ ठेचोको नवदुर्गा भवानी देवीको यो नाच पनि एक हो । यसबाहेक नेपाल मण्डलमा काठमाडौंको भद्रकाली खड्गी सिद्धि नाच, पचली भैरव नाच, नरदेवी नाच, देवी नाच, कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको निलबाराही, ललितपुरको हरिसिद्धि भवानी देवी नाच र खोकनाको रूद्रायणी नाच प्रख्यात छन् । प्रत्येक नाचको १२ वर्षे जात्राको आ–आफ्नो विषेशता छन् । नवदुर्गा नाचको पनि छुट्टै विषेशता छ । नवदुर्गा नाचको १२ वर्षे जात्रा त्यसपछि राष्ट्रप्रमुखलाई नवदुर्गा गुठीयारकोतर्फबाट सुपारी चढाउन पुग्छन् । अनि क्रमशःअन्य पर्वपूजाहरु सुरु हुन्छ । १२वर्षे जात्रा अवधिभर मुख्य २८ वटा पर्वपूजा सञ्चालन गर्नुपर्छ, जसमा कुल्पी यज्ञ, पाटन दरवार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउ बुङमतीमा नृत्य प्रस्तुत गराइन्छ । त्यसै साविक दलचोकीमा आग सिं भनी स्वः सि (चापको काठ) लिन जाने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीबासीलाई भोज खुवाउने, श्वेत भैरवको नृत्य गराउने चलनलगायतका २८ पर्व रहेको छ । १२ बर्षभरि गरिने पूजापाठका लागि ७६ लाख ४३ हजार एक सय ५० बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । यसका लागि गोदावरी नगरपालिकाबाट ५० लाख रुपैया बजेट व्यवस्थापन गरिदिको छ । नगरपालिकाले बजेट विनियोजित नगरेको भए जात्रा सञ्चालन गर्न निकै मुस्किल पर्ने सरोकारवालाहरु बताउँंछन् । जात्राको क्रममा २८ वटा पूजाहरु ह्ुने गर्दछन् । यी पूजाहरु साउन १० गतेदेखि मंसिर २५ गते भन्दा पछाछिसम्म हुने छन् ।