भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका तत्कालीन इञ्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल

काठमाडौं । लुम्बिनी विकास कोषका तत्कालीन इन्जिनियर सरोज भट्टराई पदीय दुरुपयोग गरी अकुत सम्पत्ति (गैरकानुनी सम्पत्ति) आर्जन गरेको अभियोगमा विशेष अदालतले ६ वर्ष कैद हुने फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैदको फैसला सजाय तोकेको हो। कोषका योजना प्रमुखसमेत रहेका उनीबाट अदालतले ८० लाख बिगो असुल्नुपर्ने ठहर गरेको छ । कोषसँग सम्बन्धित ठेक्काको काम पाएको ठेकेदारसँग घुस लिएको अभियोगमा अख्तियारले उनीविरुद्ध २५ चैत, २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले घुस बापतको रकमले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना अनि २ आना जग्गा खरिद गरेको दाबी गरेको थियो । अख्तियारको छानबिनका क्रममा जग्गा बेच्ने जग्गाधनीको खातामा ठेकेदारले ८० लाख रुपैंया राखिदिएको र उक्त पैसाले भट्टराईले आमाको नाममा जग्गा खरिद गरेको तथ्य खुलेको थियो । अख्तियारको अनुसन्धानले ८० लाख घुसबापतको पैसा राखिदिने ठेकेदारले लुम्बिनी विकास कोषबाट विभिन्न निर्माणसम्बन्धी काम पाएको समेत देखाएको छ । अदालतले विगो जफत गरी ६ वर्ष जेल सजाय तोकेको हो ।

सुन्दरीजलकै धारामा आउँदैन खानेपानी

काठमाडाैं । मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्। सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन् । यहीँबाट बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ। वर्षायाममा बागमतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ । यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको बागमती नदीको पानी पनि पिउन पाएका छैनन् । खानेपानीको समस्या भएपछि स्थानीयबासी परम्परागत ढुंगेधारा र कुवामा निर्भर हुन बाध्य छन् । कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछीका स्थानीय सन्ध्या श्रेष्ठ खानेपानी लिन गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारको धारामा जानुपर्ने बाध्यता रहेको बताइन् । ‘पानी लिन करिब आधा घण्टा पैदल हिँडेर जान र आउनै समय लाग्छ,’ उनले भनिन‍्, ‘कहिले त पानीको लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्छ ।’ धारामा धेरै मानिस खानेपानीको लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । यस्तो उनीजस्तै हजारौं स्थानीयले लामो समयदेखि भोग्दै आएका छन् । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या समाधान हुन सकेको उनीहरू बताउँछन् । स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले खानेपानी नपाए मेलम्चीको पानी बागमतीमा बगाउने चेतावनी दिँदासमेत समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेट विनियोजन गरी पानी माग गर्दा पनि सम्बोधन नभएको बताए । विसं २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे विसं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर प्रमुख हुँदा उनले मुहानवासीले खानेपानी नपाए मेलम्ची र बागमतीको पानी सहरमा वितरणका लागि नपठाई बागमतीमा बगाउने चेतावनी दिएका थिए । तर, अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले वेवास्ता गरेको स्थानीय रामबहादुर तामाङको गुनासो छ । यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित भएकी शान्ति श्रेष्ठले तीन महिनाअघि खानेपानी मन्त्रीलाई दिएको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिका- १, २, ३ र ४ वडाको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नम्बर ५ भन्दा माथिकालाई मात्र समेटेकामा आपत्ति जनाइएको छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा समस्या भोग्नुपरेको स्थानीयवासीको गुनासो छ ।

क्यानको नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गरौँ : सांसद आचार्य

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरू आएका भन्दै छानबिन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् । उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानबिन गर्नुपर्ने बताए । सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको जानकारी दिए । ‘अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानबिन गरोस्’, उनले भने । उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए ।