आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै, योग्यता पुगेको व्यक्ति नभेटिएपछि पुरस्कार नबाँड्ने
काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ । मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ । आवश्यक अध्ययन र तयारी गरेर पुरस्कारको व्यवस्थालाई नियमित गर्ने विश्वास मन्त्रालयले दिलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिए ।
आज चितवन राइनोज र लुम्बिनी लायन्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो । काठमाडौं गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो । विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत काठमाडौं ओपन भोलिदेखि सुरु, प्रथम पुरस्कार १ लाख २५ हजार
काठमाडौं । सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगिताको रूपमा ‘सूर्य नेपाल काठमाडौं ओपन’ हुन लागेको हो । प्रतियोगिता भाेलि बिहान साढे १० बजे रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ । ७२ होलमा खेलिने प्रतियोगिता शुक्रबार समाप्त हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजकका अनुसार प्रतियोगितामा ३२ जना पेशेवर र १२ जना अमेच्योर खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्, जहाँ ३६ होलपछि कट हुनेछ । शीर्ष २१ पेशेवर खेलाडीहरू (टाइ हुनेहरू समेत) र पेशेवर कट पार गर्ने अमेच्योर खेलाडीहरूले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि मैदानको अवस्था विशेष रूपमा सुधारिए आयोजकले जनाएको छ। प्रतियोगितामा कुल पुरस्कार राशि ७ लाख ३५ हजार ५०० रुपैयाँ रहेको छ । विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् भने द्वितीयले ८५ हजार र तृतीयले ६८ हजार रुपैयाँ जित्नेछन् । यसैगरी, चौथो र पाँचौं हुनेले क्रमशः ५५ हजार र ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बाँकी शीर्ष २१ खेलाडीहरूले पनि पुरस्कार राशि बाँड्नेछन् । डिफेन्डिङ च्याम्पियन्स निरज तामाङ, नेपालको नम्बर एक गल्फर भुवन नगरकोटी, अनुभवी पेशेवर खेलाडीहरू रवि खड्का र दिनेश प्रजापति प्रतियोगिताका प्रमुख दाबेदार हुन् । उनीहरूलाई अमेच्योर खेलाडीहरू जस्तै राहुल विश्वकर्मा र नेपालका नम्बर एक अमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अपेक्षा गरिएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यस प्रतियोगितामा धेरै खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शन देख्ने आशा गरेको बताए । उनले प्रायोजक सूर्य नेपाललाई निरन्तर समर्थनका लागि धन्यवाद पनि दिएका छन् । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विश्वकर्माले जितेका थिए ।