निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड
काठमाडौं । चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै पक्षबारे सोच्नु पर्ने दबाब महसुस गर्ने गरेको बताए । ‘चलचित्रलाई समाजको ऐना भनिन्छ, त्यसैले त्यहाँ सकारात्मक र नकारात्मक दुवै पक्षलाई देखाउने गरिन्छ । नराम्रो देखाएर त्यसले निम्त्याउने गलत अवस्थालाई चित्रण गरेर सही गर्नुपर्ने वा सकारात्मक हुनुपर्ने दृश्य देखाउनु पर्छ । तर, हामीले हरेक विषयमा आफूलाई सङ्कुचित पारेर काम गर्न थाल्यौँ भने त्यसले हाम्रो सृजनामा ह्रास आउँछ,’ उनले भने । निर्देशक दीपक रौनियारले आफ्नो देशको परिवेश र कथालाई निर्धक्कसँग चलचित्रमा ल्याउन सक्ने वातावरण हुनुपर्ने बताए । आफ्नो चलचित्र ‘राजागंज’ को प्रसङ्गलाई लिएर गरिएको कडाइमा आफ्नो असहमति रहेको उनको भनाइ छ । चलचित्रकर्मी दीपकराज गिरीले चलचित्र निर्माणको विषय छनोट गर्दा नै प्रदर्शनको समयमा हुनसक्ने अवरोधलाई सम्झिने गरेको बताए । ‘हामीले चलचित्र प्रदर्शनमा यी-यी विषयमा विनाकारण झमेला भोग्नुपर्छ भन्ने लागेपछि लेखकले त्यहाँ सिर्जना गर्ने पात्र र परिवेशमै अङ्कुश लागेको महसुस गर्छ, मैले व्यक्त गर्न चाहेको समाजको परिवेशलाई चलचित्रमा देखाउन सकेको छैन,’ उनले भने । निर्देशक अशोक शर्माले विश्वमै चलचित्र काँटछाँट भन्दा पनि वर्गीकरण गर्ने परिपाटी भएकाले त्यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आग्रह गर्नुपर्ने बताए । निर्देशक नवीन सुब्बाले चलचित्रकर्मीको आशय समाजको सदभाव बिगार्नु नभई मनोरञ्जन प्रदान गर्दै विचार प्रस्तुत गर्नु रहेको बताए । उनले बेलाबेलामा सुनिने चलचित्र ‘सेन्सर’ को विषयमा सम्बन्धित निकायसँग छलफल गर्नु आवश्यक रहेको बताए । भेलामा निर्देशक गणेशदेव पाण्डे, उपेन्द्र सुब्बा, विनोद पौडेल, मनोज पण्डितलगायत सहभागी थिए ।
आमाहरूको फुटबल प्रतियोगिता
म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेको छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ । जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले ‘आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो’, उनले भने, ‘खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’ आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् । मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।
नेपाली चलचित्रका लागि अमेरिका, अस्ट्रेलियाबाट लगानी ल्याउन सकिन्छ: निर्देशक रौनियार
काठमाडौं । नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचय बनाएका निर्देशकमध्येका एक हुन्, दीपक रौनियार । उनले विसं २०७० मा निर्देशन गरेको पहिलो चलचित्र ‘हाइवे’ बर्लिन अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘प्रिमियर’ हुने पहिलो चलचित्र बन्यो । निर्देशक रौनियारले नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुका साथै ‘अन्तरराष्ट्रिय प्लेटफर्म’मा प्रवेश दिलाउन नेपाली चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यसै सन्दर्भमा पछिल्ला दिनमा छोटा चलचित्र, वृत्तचित्र तथा चलचित्रहरूले अन्तरराष्ट्रिय महोत्सवमा स्थान पाउने गरेका छन् भने कैयौँ नेपाली चलचित्र अब्बल सावित हुन सफल भएका पनि छन् । यद्यपि यतिमै खुसी हुनुपर्ने अवस्था नरहेको निर्देशक रौनियार बताउँछन् । ‘हामीले विश्वका अधिकांश चलचित्र महोत्सवमा नेपाली झण्डा फरफराइ रहेका छौँ । चलचित्रमार्फत पनि हामीले देशसँगै कला र संस्कृतिलाई चिनाउने काम गरेका हुन्छौँ । तर, हामी अब त्योभन्दा अगाडि बढ्नुपर्छ, यो विन्दुमा अलमल गर्नुहुँदैन,’ उनले भने । विसं २०७० पछि नेपाली चलचित्र बनाउन विदेशी सहायता पनि जोडिएको पाइन्छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत चलचित्र निर्माणका लागि प्राप्त हुने सहयोगका लागि सोही देशका चलचित्रकर्मी निर्माताका रुपमा जोडिएका हुन्छन् । चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि रहेको ‘चलचित्र ऐन’ नयाँ नआउँदासम्म कठिनाइको सामना गर्नुपरेको निर्देशक रौनियारले बताए । ‘हामीले आफ्ना चलचित्रलाई विदेशीमाझ पुर्याउन सफल भएका छौँ, पुरस्कार पनि जितिरहेका छौँ । तर, उनीहरुको लगानी नेपाल ल्याउन मौजुदा कानुनले रोकेको छ, त्यसलाई संशोधन गरेर चलचित्रकर्मीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । किनकी हामीले अहिले जे जस्तो उपलब्धि हासिल गरेका छौँ, त्यसका लागि हाम्रो प्रयास, लगनशीलता र मेहनत जोडिएको छ, तर हामीले चाहेको उपलब्धि हासिल गर्न राज्यको भूमिका र सहयोग आवश्यक छ,’ उनले भने । उनले सर्वोच्च शिखर ‘सगरमाथा’ र ‘खेलकुद’ विधाले जस्तै ‘चलचित्र’ क्षेत्रले पनि नेपाललाई विश्वमा चिनाउन मद्दत गरेको छ भन्ने तत्थ्यलाई हामी सबैले मनन गरी सोहीअनुसार यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । आफू सम्बद्ध चलचित्र ‘सेतो सूर्य’ संसारकै सबैभन्दा पुरानो भेनिस अन्तररष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर ‘इन्टरफिल अवार्ड’ जित्न सफल भएपछि विश्वका चलचित्रसम्बन्धी आयोजना हुने धेरै मेला महोत्सवमा पुगेका निर्देशक रौनियार आवश्यक नीतिगत सहयोग, आर्थिक लगानी र अनुकूल वातावरण बनाएर चलचित्रकर्मीलाई प्रोत्साहित गर्नुपर्ने बताउँछन् । ‘मसँगै धेरै चलचित्रकर्मी अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै पुगिरहनुभएको छ । हाम्रो काम देखेर लगानी गर्न खोज्ने धेरै छन्, हामीले अहिले नेपाली चलचित्रको राम्रो बजार बनिरहेको संयुक्तराज्य अमेरिका, अस्ट्रेलियालगायतका देशबाट लगानी ल्याउन सक्छौँ । तर, नीतिगत कठिनाइ छ, रचनात्मक स्वतन्त्रता पनि कम छ । यसले हामी जस्ता चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सकेको छैन,’ निर्देशक रौनियारले भने । उनले निर्देशन गरेको पछिल्लो चलचित्र हो, ‘राजागञ्ज’ । उक्त चलचित्रले समाजलाई प्रश्न गर्ने, छलफल गराउने र बाटो देखाउने काम गर्ने उनको भनाइ छ । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि समेटिएको चलचित्रले उठाएको विषयले माथि उल्लेखित तथ्यलाई समेटेको उनले बताए । ‘खेलकुद झैँ चलचित्रले पनि समाजलाई जोड्ने काम गर्छ । हामी चलचित्रकर्मीले आफ्नो दायित्व बोध गरेर त्यस किसिमका विषयवस्तुमा आधारित चलचित्र ल्याइरहेका हुन्छौँ, हामीले गल्तीबाट नै सिक्ने हो । चलचित्रमा पनि गलत गर्नु हुन्न् भन्ने देखाउन गलत देखाएर त्यसले दिएको नकारात्मक परिणामले गरिरहेको असर देखाउँदै सही बाटो रोज्न प्रेरित गर्ने हो । एउटा चलचित्रकर्मीका रुपमा मैले आफ्नो दायित्व बोध गरेको छु,’ निर्देशक रौनियारले भने । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्रले पुरस्कार जिते पनि घरेलु व्यापारमा भने त्यस प्रकारको सफलता निर्देशक रौनियारले निर्देशन गर्नुभएको चलचित्रले पाउन सकेको छैन । उनले निर्देशन गर्नुभएको ‘हाइवे’ र ‘सेतो सूर्य’ युट्युबमा सार्वजनिक हुँदा राम्रो प्रतिक्रिया आए पनि चलचित्र भवनमा दर्शकको उपस्थिति नगन्य थियो । घरेलु बजारमा कलात्मक चलचित्र कमजोर हुनुलाई जानकारी सम्प्रेषणमा देखिएको कठिनाइ रहेको उनको बुझाइ छ । ‘हामी कहाँ महोत्सवमा छानिएका चलचित्र बुझ्नै कठिन हुन्छ भन्ने भाष्य बनेको छ, त्यो गलत हो । महोत्सवमा पठाउन र चलचित्र भवनमा चलाउन दुई किसिमबाट सम्पादन गरेका हुन्छौँ, साथै उक्त चलचित्रमा गाउँ, समाजकै कथा हुने भएकाले बुझ्न नसकिने वा गाह्रो केही हुँदैन । चलचित्र भवनसम्म आएर हेर्नुभयो भने उस्तै मनोरञ्जन पाउनुहुनेछ, तर यस्ता चलचित्र विषय प्रधान हुन्छन्,’ निर्देशक रौनियारले स्पष्ट गरे । उनले नेपालमा आगामी चैत १ गतेदेखि सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर प्रदर्शन भइसकेको जानकारी पनि दिए ।