एनसेल एनएसएल : ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनर बन्यो एनसेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को बहुप्रतीक्षित यात्रा शनिबारदेखि सुरु हुँदैछ । जसमा ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ । यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । ललितपुर सिटी एफसीले आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीविरुद्ध खेल्नेछ । यस साझेदारीले ललितपुर सिटी एफसीका खेलाडीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ । यस सिजनमा ललितपुर सिटी एफसीसहित काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एनसेलका प्रमुख व्यावसायिक अधिकृत उमेर मोहसिनले भने, ‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल खेलकुद र युवा प्रतिभा विकासप्रति सधैं प्रतिवद्ध रहेको देखाउँछ। सबैलाई उत्साहित बनाउँदै नेपाली फुटबलसँग आवद्ध हुन पाएकोमा हामी गर्व गर्छौं ।’ एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न सहयोग गर्नुका साथै खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने एनएसएल सिजन ३ मा एनसेल मुख्य प्रायोजकका रूपमा पहिले नै संलग्न भइसकेको छ । एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले फुटबल, क्रिकेट, भलिबल, गल्फजस्ता खेलकुद तथा सामाजिक उत्तरदायित्व कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको छ । एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणमा समेत योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

डर भनेको मेरा लागि अनुशासन हो : अभिनेता आचार्य

काठमाडौं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आएका छन् । ६७ वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उनले गम्भीरतापूर्वक लिन्छन् र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्छन् । हालै आयोजना गरिएको एक अन्तरक्रियामा अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने बताए । ‘चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटु ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको होजस्तो लाग्छ,’ उनले भने । स्वास्थ्य शरीर, शान्त मानसिक अवस्थासँगै आफ्नो सोच ३७ वर्षको युवाजस्तो भएका कारण काम गर्ने ऊर्जा उजलाई प्राप्त हुन्छ । नकारात्मकता आफूमा रहन नदिएकै कारण उनले गर्ने कर्मले कलाकारितासँगै समाजमा एउटा स्थान बनाएको छ । उनीसँगै मह जोडीका म अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाएका कलाकार हुन् । रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गरेका अभिनेता आचार्यले नाटक नगरेको लामो समय भइसकेको छ । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटक उस्तै भएको अभिनेता आचार्यले बताए । ‘नाटक र प्रहसन उस्तै हो, खासै अन्तर छैन । किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन्, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ । त्यसकारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन,’ उनले भने । कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काखझैँ भएकाले यहाँ सिकिने कलाकारिता दिगो हुने अनुभव उनले सुनाए । राष्ट्रिय नाचघरमा गुरु हरिप्रसाद रिमालसँग नाटक, कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै अभिनेता आचार्यले अभिनयमा रूचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे । ‘मैले गुरु रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकेँ, त्यहाँ मैले मदन दाइसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ । हामीले त्यो नेपालमा मात्र चार सयको हाराहारीमा मञ्चन गरेका थियौँ । हाम्रो अभिनयको सुरुआत नै रङ्गमञ्चबाट भएको हो,’ उनले भने । उनले अभिनय गरेको पहिलो चलचित्र ‘कुमारी’ हो । उक्त चलचित्रमा कलाकार चाहिएको सूचना गोरखापत्र दैनिकमा देखेपछि अभिनेता आचार्यले आफू अभिनय गर्न इच्छुक रहेको निवेदन दिएक थिए । उक्त चलचित्रका निर्देशकको अगाडि एउटा चलचित्रको दृश्यलाई राम्रोसँग प्रस्तुत गरिएता पनि आफू उक्त भूमिकाका लागि छनोट नभएको अभिनेता आचार्यले बताए । स–साना भूमिकामा देखिए पनि उहाँले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने भूमिका प्राप्त गरे । त्यसपछि अभिनयमा सक्रिय रहेका अभिनेता आचार्यले अहिले पनि उस्तै रूपमा निरन्तर काम गरिरहेका छन् । आफैँ लेखक र निर्देशकसमेत रहेका अभिनेता आचार्य अरुका चलचित्रमा कलाकारका काम गर्न रुचाउँछन् । ‘अरुले निर्माण गर्नुभएको पात्रमा कलाकार भएर काम गर्न पाउँदा मलाई सहज महसुस हुन्छ, आफैँले लेखन वा निर्देशन गरेको पात्रलाई निर्वाह गर्दा अलि बढी मेहनत गर्नुपर्छ,’ उनले भने । उनले अभिनय गर्नुभएको चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुनेछ ।

नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा पाहाँचह्रे पर्व मनाउँदै

काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ । यो चाडलाई काठमाडौंमा नेवार सम्प्रदायले दसैँ र तिहारजस्तै मनाउँदै आएका छन् । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खान्छन् । पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ । विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ । यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ । घरघरमा खाल्टोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ । यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । पाहाँचह्रेको अन्तिम दिन आइतबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ । पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ । खट तीनवटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को हुन्छ । “असनमा खट जुधाउने भनिए पनि खट नै जुधाइँदैन ।” रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् ।