पतञ्जलिलाई जग्गा बेच्दा बिचौलियाको फन्दामा परे रामकृष्ण, पैसा माग्दा उल्टै कुटिए
काभ्रे । २०६४ सालतिर शुक्रराम तामाङका बुवा रामकृष्ण तामाङले आफ्नो १४ रोपनी पुर्ख्यौली जग्गा बेचे । गाउँमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फर्म सञ्चालन हुने र त्यहाँ जागिर पाइने आशामा उनले जग्गा बिक्री गरेका हुन् । रामकृष्णको मात्रै नभई सिंगो गाउँको जग्गा नै खरिद गर्दै थियो- भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले । जग्गा हेरेर कुनै ६० हजार रोपनी त केही ७० हजार रोपनीका दरले सयौंको रोपनीमा कम्पनीले जग्गा किन्यो । रामकृष्णले पनि गाउँमै रोजगारी पाइने स्वास्थ्य उपचार हुने जस्ता सपनासँगै २ चरणमा जग्गा बेचे । पहिलो पटक नै उनको जग्गा पतञ्जलि कम्पनीले बिचौलियामार्फत उधारोमा किन्यो । जग्गा दलाल र बिचौलिया रामकृष्णले चिनेका गाउँकै थिए । दोस्रो चरणको जग्गा बिक्री गर्दा रामकृष्णले पहिलो किस्तामा आफूले ७० हजार रोपनीका दरले बेचेको जग्गाको रकम माग्दा उल्टै कुटाइ खाए । छोरा शुक्ररामका अनुसार पूर्ववडाध्यक्ष रामहरि श्रेष्ठलगायतका व्यक्तिले रामकृष्णलाई जुत्ता फुकालेर कुटेका थिए । रामकृष्ण सोझा स्वभावका थिए, अलि-अलि रक्सी पनि खान्थे । जसले जे भन्यो त्यही मान्ने हुँदा फाइदा अरूले उठाए । शुक्रराज भन्छन् , ‘बुवा त अब हामीमाझ हुनुहुन्न तर सोझोको फाइदा उठाएर यत्रो गाउँमा हामीलाई मात्र पैसा दिइएन । अरू त सबैले उतिबेला जतिमा बेच्नु भयो त्यति नै पाउनु भयो । हामीले मात्र पाएनौं ।’ रोपनीको ७० हजारमा किनबेच भएको जग्गा १४ रोपनीको ८ लाख ४० हजार रकम हुन आउँछ । तर तीन लाख मात्रै पाएका शुक्रराम बताउँछन् । भन्छन्, ‘म त काठमाडौंमै थिएँ, ६-७ महिनापछि थाहा पाएँ कि बुबाले जग्गा बेच्नुभयो । पछि यस्तो भयो भनेर मुद्दा हाल्न सीडीओ अफिस धुलिखेल पनि गयौं, तर प्रमाण छैन भन्दै फर्काइदियो । यसरी खाएको त के पो प्रमाण हुँदो रहेछ र ?’ अहिले शुक्ररामलाई मात्रै होइन, सिंगो गाउँलाई नै त्यतिबेला पतञ्जलि कम्पनीलाई जग्गा बिक्री गरेकोमा पछुतो छ । पतञ्जलि कम्पनीले आफूहरूलाई सपना देखाएर धोका दिएको उनीहरूको भनाइ छ । स्थानीयले जग्गा बेचेको केही महिनामै काष्ठमण्डप हाउजिङ कम्पनीले डोजर लगाएर जमिन खन्न थालेपछि तलको बस्ती जोखिममा पर्यो । खेती गर्ने जमिन भासिन थाल्यो । गाउँलेको देउता थानसमेत भत्काइयो । ‘पतञ्जलिले हामीसँग न कुरा गर्यो, न क्षतिपूर्ति दियो । बिचौलियामार्फत जग्गा किन्यो अनि बेचिदियो । डोजर लगाएर गाउँ नै अहिले जोखिममा छ । यतापट्टिको पाखातिर त पानी पर्दा त्यहाँ नगए पनि हुन्छ,’ उनले बस्तीमाथि तिर देखाउँदै भने, ‘पहिरो पो आउँछ त । पहिले केही हुँदैनथ्यो ।’ आज त्यो जग्गा करोडौंको मूल्यमा पुगेको छ । तर जसको जमिन थियो, उसले न पैसा पायो, न उनीहरूका सपना पूरा भए । शुक्रराम भन्छन्, ‘हामीले १४ रोपनीमा ३ लाख पायौं, त्यो पनि अपमानसँगै । आफ्नो जग्गाको पैसा माग्दा मेरा बुवाले जुत्ताले कुटाइ खानुपर्यो । अब न फिर्ता पाउने आश छ, न त न्याय नै ।’ पतञ्जलिले किन्यो, काष्ठमण्डपलाई बेच्यो २०६४ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालनका लागि भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा पतञ्जलि योगपीठ नेपाल दर्ता भएको थियो । त्यसपछि २०६६ सालमा यहाँका स्थानीयसँग पतञ्जली नेपालले यहाँको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेशस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा किन्यो र त्यसको केही महिनामै ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई ११ असार ०६७ मा पतञ्जलिका तत्कालीन प्रमुख शालिग्राम सिंहले बेचेका थिए । गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो । उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानिनोक्सानी पुर्याएको पाएपछि अख्तियार मुद्दा चलाउने निष्कर्षमा पुगेको हो । भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर जुन प्रयोजनका लागि त्यसरी सुविधामा खरिद गरेको जग्गा भने बिक्री गर्न पाइँदैन। बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो । यो विषयले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । कतिपयले पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा लाग्नु ओली सरकारले प्रतिशोध साँधेको पनि भनिरहेका छन् । मुद्दा दर्ता भएसँगै नेपालको सांसद पदसमेत निलम्बन भएको छ ।
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
काठमाडौं । मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । महाशाखाका मौसमविद् गोविन्द झाले भने, 'मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।' मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरानधनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन । त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको बताउँछन् । नेपालमा बङ्गालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ । तर त्यो कमजोर भएको उनले बताए । जसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ । मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो सङ्केत होइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ । भोलिदेखि बदली हुने मौसमविद् झाले भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु हुने बताए । उनका अनुसार अहिले बङ्गालको खाडीमा फेरि अर्को न्यून चापीय प्रणाली बनेको छ। भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको उनले बताए । जसको असर नेपालमा आइपुग्ने छ र वर्षा गराउने छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ । जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना लागू गरिसकेको छ । प्राधिकरणका प्रवक्ता रामबहादु केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताए ।
१४ करोड लागतमा ११० फिट अग्लो यलम्बरको प्रतिमा
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्च दोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो । माझ किराँतका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब १४ करोड रुपैयाँ लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा-तुवाचुङ-अनसुवी जेभीले ठेक्का लिई निर्माण गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिने गरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रस्टसहितको कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्ट फुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले जानकारी दिए । ‘यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ । चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल प्रतिमा राखेका छौँ,’ उनले भने, ‘आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निक्कै आकर्षक बनेको छ । यसले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।’ हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको प्रतिमा विश्वमा निर्माण भएकामध्ये हालसम्मकै अग्लो र ठूलो भनेर दाबी गरिएको छ । किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बरपार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताए । ‘यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ ।’ यलम्बर पार्क निर्माण सम्पन्न भएको एक महिना बितिसक्दा पनि नगरपालिकाले रकम भुक्तानी नदिएको ठेकेदार कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्सट्रक्सन प्रालिका प्रबन्धक सुनिल राईले जानकारी दिए । ‘तोकिएको काम गत वैशाख १० गतेभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेका थियौँ । अहिलेसम्म नगरपालिकाले हामीले पाउने रकम भुक्तानी दिएको छैन,’ उनले भने । राईका अनुसार यलम्बर पार्क निर्माण सम्पन्न गरेर जेठ १७ गते औपचारिक उद्घाटन गर्ने तयारी थियो । नगरपालिकाबाट करिब ३ करोड रुपैयाँ भुक्तान लिन बाँकी रहेको र नगरपालिकाले भुक्तानी गर्न नसक्दा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की ल्याएर उद्घाटन गर्ने तयारी रोक्न बाध्य भएको उनको भनाइ छ । पार्क निर्माणमा कोशी प्रदेश सरकारको दायित्व अन्तर्गतको बजेट नगरपालिकामा प्राप्त नभएकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थ राज भट्टराईले जानकारी दिए । ‘नगरपालिकाको तर्फबाट दिनुपर्ने भुक्तानी दिइसकेका छौँ । प्रदेश सरकारले ३ करोड ९० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छैन । प्रदेशबाट यो आर्थिक वर्षमा बजेट आउने सम्भावना कम छ । बजेट आएको खण्डमा तत्काल भुक्तानी दिएर सञ्चालनमा ल्याउँछौँ,’ उनले भने ।