पहिले हुने खानेले मात्र मिठोमसिनो खान्थे, अहिले गरिबले पनि चामलको भात खान्छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगत रहेको बताएका छन् । एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीले चैते दशैँको शुभकामना तथा पार्टीको जरा अभियान अन्तर्गत ‘सङ्गठन निर्माण तथा विस्तार’ विषयक प्रशिक्षण कार्यक्रममा उनले भ्रम र हल्लाका पछाडि कुद्ने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताए । महासचिव पोखरेलले पछिल्लो समय नागरिकको जीवनस्तर र क्रय क्षमतामा उल्लेख्य सुधार भएको उदाहरण पेस गर्दै भने, ‘पहिले हुने खानेले मात्र राम्रो कपडा लगाउँथे, मिठोमसिनो खान्थे । पछिल्लो समय गरिब भनिएकाले पनि राम्रो कपडा र चामलको भात खाने स्थिति बनेको छ । धनी र गरिब बीच जुन खालको असमानता थियो, त्यो घटेको छ ।’ उनले राजनीतिक चुनौतीलाई सामना गर्न सरकार र दलहरू योजनासहित अगाडि बढेको बताए । महासचिव पोखरेलले पुँजीवादी समाजवादको धार र वैज्ञानिक समाजवाद (जनताको बहुदलीय जनवाद) को धार बीचको प्रतिस्पर्धा नै नेपालको राजनीतिको अबको बाटो बन्नुपर्ने बताए । जनमतलाई नीतिका आधारमा धुव्रीकरण गर्न सक्ने हो मात्र मुलुकमा स्थायित्व हुने उनको भनाइ छ । ‘अमेरिकालगायत देशले वैचारिक धुव्रीकरणबाट नै स्थायित्व प्राप्त गरेको हुन् । नेपालमा पनि वैचारिक धुव्रीकरणबाट नै स्थायित्व खोज्नुपर्ने आवश्यकता छ । लोकतान्त्रिक समाजवाद पक्षधरहरूले जनताको बहुदलीय जनवादको मान्यताका आधारमा नीतिगत नेतृत्वमा धुव्रीकरणको यात्रा आरम्भ गरेमात्र एमाले बलियो राष्ट्रिय शक्ति बन्नेछ,’ महासचिव पोखरेलले भने । यसैगरी उनले कहिलेकाहीँ नकारात्मक घटनाले पनि सकारात्मक परिमाण दिने भन्दै यही चैत १५ गतेको तीनकुनेमा भएको घटनाले गणतन्त्रलाई स्थापित गर्न अनुकूल आधार तयार गरेको जिकिर गरे । कमिटीका अध्यक्ष श्रीप्रसाद पाण्डेले जरा केन्द्रित अभियानले एमालेलाई मिसन २०८४ मा निर्णायक शक्ति बनाउने बताए ।
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
काठमाडौं । जब चैते दसैँ आउँछ अनि सम्झिन्छ, उही पुरानो गीत ‘आँटेको पुर्‍याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बीमाकुमारी दुराले यो गीत गाएका थिए । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन् गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटे ताकेको पूरा हुने विश्वासमा चैते दसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ । गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब २ लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्ति पीठ कालिका भगवती मन्दिरको दर्शन गरे । आइतबार राम नवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताए । उनका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो । ‘चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ,’ अध्यक्ष खड्काले भने, ‘सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।’ तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताए । स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताए । ‘पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ,’ उनले भने, ‘पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।’ सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ । देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिए । साउन र पुस महिनामा भने बलि नचढ्ने उनको भनाइ छ । ‘औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ । मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ,’ उनले भने । मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताउनुभयो । श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई...’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताए । उनका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो । ‘त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो । गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे,’ श्रेष्ठले भने । पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताए । उनका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे । गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताए । मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् ।
आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ, गठबन्धन नगरी पार्टी एक्लै चुनाव लड्छ: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् । नेपाल थारू सङ्घको तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए । ‘संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ,’ उनले भने, ‘कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानूनविपरीत हुन्छ ।’ महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताए । विगतजस्तो कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उनको भनाइ छ । उनले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेता बलियो बनाएर पार्टी बलियो हुन्छ भन्ने होइन, कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ,’ महामन्त्री थापाले भने, ‘अब दाङका उम्मेदवार दाङकै पार्टीले छान्न पाउने गरी विधान बदल्नुपर्छ, दाङका उम्मेदवार काठमाडौंले छान्ने कुरा वैज्ञानिक छैन ।’ संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताए । सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संशोधनमार्फत समाधान गर्नेतर्फ पहल लिनुपर्ने महामन्त्री थापाले बताए । सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उनको भनाइ छ । ‘देशमा केही हुँदैन की भन्ने छ, नागरिकमा खुसी छैन । यसका लागि सरकारमा बस्ने व्यक्तिले आचरण सुधार गर्नुपर्छ, व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ, त्यसो भएमा सबै समाधान हुन्छ,’ महामन्त्री थापाले भने ।