नेपालमा प्रजातन्त्र आउनुमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताएका छन् ।  गणेशमान सिंह फाउन्डेसनले आज आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान’ विषयक कार्यक्रममा उनले भने, ‘पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाउनुभएको थियो । उहाँ नेपाल आएपछि प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उत्साह थपिएको थियो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले चन्द्रशेखरप्रति नेपालमा सम्मान र सद्भाव रहेको बताउँदै अहिले पनि नेपालको गणतन्त्रात्मक व्यवस्थाप्रति भारतको सद्भाव रहेको उल्लेख गरे । ‘नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, गणेशमान सिंह लगायतप्रति उहाँको सम्बन्ध राम्रो थियो,’ सभापति देउवाले भने, ‘नेपाल धेरै पटक आउनुभएको र मैले पनि राम्रोसँग चिनेको थिएँ, भारतमा जाँदा म उहाँको निवासमा गएको छु । उहाँ सहयोगी हुनुहुन्थ्यो ।’  सभापति देउवाले नेपाल-भारतबीचको खुला सिमानाले दुई देशको प्रगाढ सम्बन्धको महत्वबारे स्पष्ट पारेको उल्लेख गर्दै दुवै देशका जनताबीच समेत घनिष्ठ सम्बन्ध रहिआएको बताए । 

सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि सुरु, विजेतालाई २ लाख ५० हजार दिने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैठौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबार (चैत २५) देखि काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा छनोट भएका १६ जना प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले ६० हजार, दोस्रो हुनेले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले जनही ११ हजार, भने पहिलो चरणमा पराजित हुनेले ६ हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । प्रतियोगिताको नियमअनुसार शीर्ष वरीयताका खेलाडी नेपाल नम्बर एक भुवन नगरकोटीले १६ औं वरीयताका पशुपति शर्मासँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, दोस्रो नम्बरका निरज तामाङले सूर्य प्रसाद शर्मासँग, तेस्रो वरीयताका दिनेश प्रजापतिले रमेश अधिकारीसँग, चौथो वरीयताका रवि खड्काले टंक बहादुर कार्कीको सामना गर्नेछन् । प्रतियोगिताको फाइनल ३६ होलको हुनेछ भने अन्य सबै खेल १८ होलको हुनेछन् । पहिलो चरण मंगलबार, क्वाटरफाइनल र सेमिफाइनल बुधबार, र फाइनल तथा तेस्रो स्थानको खेल बिहीबार हुनेछ । प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालका अध्यक्ष रविन्द्र मान श्रेष्ठले सूर्य नेपालको दीर्घकालीन साथप्रति आभार व्यक्त गर्दै भने, 'नेपालमा व्यावसायिक गल्फको प्रवर्द्धनमा सूर्य नेपालको योगदान अतुलनीय छ ।'

पहिले हुने खानेले मात्र मिठोमसिनो खान्थे, अहिले गरिबले पनि चामलको भात खान्छन्ः महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगत रहेको बताएका छन् । एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीले चैते दशैँको शुभकामना तथा पार्टीको जरा अभियान अन्तर्गत ‘सङ्गठन निर्माण तथा विस्तार’ विषयक प्रशिक्षण कार्यक्रममा उनले भ्रम र हल्लाका पछाडि कुद्ने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताए ।  महासचिव पोखरेलले पछिल्लो समय नागरिकको जीवनस्तर र क्रय क्षमतामा उल्लेख्य सुधार भएको उदाहरण पेस गर्दै भने, ‘पहिले हुने खानेले मात्र राम्रो कपडा लगाउँथे, मिठोमसिनो खान्थे । पछिल्लो समय गरिब भनिएकाले पनि राम्रो कपडा र चामलको भात खाने स्थिति बनेको छ । धनी र गरिब बीच जुन खालको असमानता थियो, त्यो घटेको छ ।’ उनले राजनीतिक चुनौतीलाई सामना गर्न सरकार र दलहरू योजनासहित अगाडि बढेको बताए । महासचिव पोखरेलले पुँजीवादी समाजवादको धार र वैज्ञानिक समाजवाद (जनताको बहुदलीय जनवाद) को धार बीचको प्रतिस्पर्धा नै नेपालको राजनीतिको अबको बाटो बन्नुपर्ने बताए ।  जनमतलाई नीतिका आधारमा धुव्रीकरण गर्न सक्ने हो मात्र मुलुकमा स्थायित्व हुने उनको भनाइ छ ।  ‘अमेरिकालगायत देशले वैचारिक धुव्रीकरणबाट नै स्थायित्व प्राप्त गरेको हुन् । नेपालमा पनि वैचारिक धुव्रीकरणबाट नै स्थायित्व खोज्नुपर्ने आवश्यकता छ । लोकतान्त्रिक समाजवाद पक्षधरहरूले जनताको बहुदलीय जनवादको मान्यताका आधारमा नीतिगत नेतृत्वमा धुव्रीकरणको यात्रा आरम्भ गरेमात्र एमाले बलियो राष्ट्रिय शक्ति बन्नेछ,’ महासचिव पोखरेलले भने । यसैगरी उनले कहिलेकाहीँ नकारात्मक घटनाले पनि सकारात्मक परिमाण दिने भन्दै यही चैत १५ गतेको तीनकुनेमा भएको घटनाले गणतन्त्रलाई स्थापित गर्न अनुकूल आधार तयार गरेको जिकिर गरे ।  कमिटीका अध्यक्ष श्रीप्रसाद पाण्डेले जरा केन्द्रित अभियानले एमालेलाई मिसन २०८४ मा निर्णायक शक्ति बनाउने बताए ।