निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् ।  रङ्गशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिए । रङ्गशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे । उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इञ्जिनियर सन्तोष आचार्यले रङ्गशालाको प्रगति बारेमा जानकारी गराएका थिए । हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिए । भरतपुर महानगरपालिका–१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माणाधीन छ । रङ्गशाला २०८३ पुस २२ गते सम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । रङ्गशालाको निर्माण लागत रु ७८ करोड ५० लाख ९१ हजार छ ।   

एनपीएल अक्सनमा अधिकांशको रोजाइमा परेका चार खेलाडी, तोकेभन्दा ५० प्रतिशत बढी मूल्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)  को दोस्रो सिजनको अक्सनमा चारवटा खेलाडी धेरै रुचाइएका छन् । शनिबार भएको अक्सनमा चारवटा खेलाडी अधिकतम १५ लाख रुपैयाँमा बिक्री भए । ती चारवटै खेलाडीलाई खरिद गर्नका लागि अधिकांश टीम तयार भए ।  तर, लक्की ड्रमार्फत भाग्यमानी टीमले उनीहरूलाई पाउन सफल भए । अक्सनमा सबैभन्दा बढी रुचाइएका ए क्याटेगोरीका खेलाडी हुन् मोहम्मद आदिल आलम । जसको लागि आठवटै टिमले बोलकबोल गरे ।  लक्की ड्रमार्फत् उनी काठमाण्डू गुर्खाजमा आवद्ध भए । १५ लाख रुपैयाँमा उनलाई पाउन गुर्खाज भाग्यवानी सावित भयो । यस्तै, पवन सर्राफ, देव खनाल र अर्जुन साउदलाई पनि दुईभन्दा बढी टिमले बोलकबोल गरे । पवनका लागि कर्णाली, चितवन, लुम्बिनी र विराटनगरले अन्तिमसम्म बोली लगाएका थिए । तर, उनलाई पाउन कर्णाली भागमानी बन्यो । उनी पनि १५ लाखमा बिक्री भए ।  अक्सनमा अर्जुनलाई पाउनका लागि चितवन, कर्णाली र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत चितवनले उनलाई १५ लाखमा अनुबन्ध गर्‍यो ।  यस्तै, देव खनाल पनि १५ लाखमा बिक्री भए । अक्सनमा चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख रुपैयाँको नै बोली लगाएपछि गोलाप्रथाबाट चितवन राइनोज भाग्यमानी सावित भयो । उनी यसअघि कर्णाली याक्समा थिए ।  ‘ए’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ निर्धारण गरिएको थियो । अक्सनमा ए खेलाडीको १० लदाख तोकिए पनि उनीहरू भने त्यसको ५० प्रतिशत बढी मूल्यमा बिक्री भए । ‘ए’ श्रेणीमा कुल आठजना खेलाडी रहेका थिए । 

एनपीएल अक्सन : ३७ खेलाडी किन्न २ करोड १८ लाख खर्च, महँगो बन्यो चितवन राइनोज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट ८ टोलीले २ करोड १८ लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन् । ८ वटा टीमले ३७ खेलाडी छनोट गर्दा सो रकम खर्च गरेका हुन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । शनिबार सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ । चितवनले ३९ लाख रुपैयाँ, काठमाडौंले ३७ लाख रुपैयाँ, लुम्बिनीले ३२ लाख रुपैयाँ, कर्णालीले २९ लाख रुपैयाँ, विराटनगरले २७ लाख रुपैयाँ, सुदूरपश्चिमले २४ लाख रुपैयाँ, जनकपुरले १९ लाख ७५ हजार रुपैयाँ तथा पोखराले ११ लाख रुपैयाँ खर्च गरेको छ ।  अक्सनमा ८ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद गरिएको छ ।  दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेबाट ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो । यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही १० लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले ७ लाख ७५ हजार रुपैयाँमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले ७ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।  यसैगरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । उत्तम थापा मगरलाई काठामण्डु गोर्खाजलेरु ३ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किङ्ग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । एनपीएलको शनिबारको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम १० लाख रुपैयाँ र अधिकतम १५ लाख रुपैयाँ, ‘बी’ श्रेणीको न्यूनतम ५ लाख रुपैयाँ र अधिकतम १० लाख रुपैयाँ तथा ‘सी’ श्रेणीको न्यूनतम २ लाख रुपैयाँ र अधिकतम ५ लाख रुपैयाँ मूल्य राखिएको थियो ।  योसँगै ८ टोलीमा ८८  खेलाडी आबद्ध भएका छन् । प्रत्येक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब ८ वटै टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।   आठवटै टोलीको खेलाडी सूची   जनकपुर बोल्ट्सः आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री । सुदूरपश्चिम रोयल्स: दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा । कर्णाली याक्स: सोमपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री । चितवन राइनोज: कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार । काठमाण्डु गोर्खाज: करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम । विराटनगर किङ्स: सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना । पोखरा एभेन्जर्स: कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री । लुम्बिनी लायन्स: रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।