सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।      बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उनको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगर नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।      मुख्यमन्त्री शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई उक्त सहयोग गर्ने निर्णय भएको बताए । 'साँफेबगर बजारमा भएको आगलागीबाट क्षति पुगेका परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि आठ लाख रुपैयाँ पालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ', उनले भने, 'सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम आगलागी पीडितलाई वितरण गर्नेछ ।'      त्यसैगरी बैठकले गत भदौमा दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएका पुलको तत्काल पुनःनिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।      कञ्चनपुरको लालझाँडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधरा चाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति, मानवबस्तीमा आक्रमण र खेतबारीमा हुने बालीनाली नोक्सानी न्यूनीकरण गर्नका लागि रोकथामका उपाय अवलम्बन गर्न टर्चलाइटलगायत सुरक्षा उपकरण स्थानीयस्तरमा वितरणका लागि आवश्यक प्रबन्ध गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए । रासस

कोरिया पठाउन ढिलाई गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ । भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् ।  सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएको कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरुको माग छ । सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हारहारीमा नेपालीहरु कार्यरत रहेका छन् । 

एकीकृत समाजवादी विघटनपछि किसान श्रेष्ठ एमालेसँग छलफलमा

काठमाडौं । एकीकृत समाजवादी पार्टी विघटन भएसँगै नेपाली कम्युनिस्ट पार्टीमा नगएका नेता किसान श्रेष्ठले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग छलफल गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले सातै प्रदेशमा अभियान चलाएर नेताकार्यकर्तालाई एमालेमा फर्कने आह्वान गर्ने योजना रहेको बताएका थिए । उनले आफूले पसिना बगाएको र जीवन अर्पण गरेको पार्टी एमाले नै भएको उल्लेख गर्दै पुनः त्यही पार्टीमा फर्कनेबारे वार्ता र संवाद चलिरहेको जानकारी दिए । श्रेष्ठका अनुसार, एमालेमै आफ्नो राजनीतिक यात्रा सुरु भएकाले अब पुनः संगठन सुदृढीकरणका लागि योगदान गर्न तयार रहेको स्पष्ट पारे ।