मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सात राजनीतिक दलले गरे मुख्यमन्त्री कार्यालयमा तोडफोड
काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् । सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवदलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री कार्यालय अगाडि नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका हुन् । दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा तालाबान्दी समेत गरेका छन् ।
सुनको मूल्य तोलामा २९ सयले बढ्यो, उतारचढावले लगानीकर्ता सशंकित
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । आइतबार तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिँदै आएका छन् ।
साढे ३ अर्ब लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा, ३५० जनालाई रोजगारी दिने
काठमाडौं । साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमा निर्माण गरी सञ्चालनमा ल्याइएको ‘होटल ह्यात प्लेस’ लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलको पहिलो पाँचतारे होटल हो । होटल सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको यो होटलको व्यवस्थापन अन्तर्राष्ट्रियस्तरको हायात होटल समूहले गर्ने भएको छ । सफ्रोन सिके प्रालिले हायतसँग दीर्घकालीन सम्झौता गर्दै होटल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको छ । २५ कट्ठा क्षेत्रफलमा फैलिएको यो होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको संयुक्त लगानी रहेको छ । होटलमा गरिएको ३ अर्ब ५० करोड रुपैयाँ लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत लगानी सञ्चालक समूहको रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले जानकारी दिए । ‘२५ कट्ठा क्षेत्रफलमा ५ वर्षको यो होटल स्थापना भएको छ । होटलमा करिव ३५० करोड लगानी गरेका छौं । जसमा ग्लोबल आइएमइ बैंक लिमिटेड र होटल सफ्रोन सिकेको सयुक्त लगानी रहेको छ । यो होटलमा कुनै नेताको एक पैसा पनि लगानी छैन । होटल पूर्णक्षमतामा सञ्चालनमा आउँदा ३५० जना सम्मलाई रोजगारी दिनेछ । कुक, सरसफाइ गर्नेदेखि म्यानेजरसम्मले काम यो होटलमा गर्नुपर्ने हुन्छ, रोजगारी सबै स्थानीयलाई नै नदिने सक्ने अवस्था पनि रहन सक्छ, ’ सञ्चालक पौडेलले भने । अत्याधुनिक संरचनामा बनेको यो होटलमा जमिनमुनि दुईतले पार्किङ र जमिनमाथि १० तले भवन रहेको छ । होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्ने व्यवस्था छ । करिब ५ हजार ७४६ वर्गमिटर क्षेत्रमा फैलिएको होटलमा रेस्टुरेण्ट, स्विमिङ पुल, ब्याङ्कवेट हल, क्यासिनो, स्पा, चारवटा सेमिनार हल र अन्य विलासी सुविधाहरू समावेश गरिएको छ । होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र भारतको बेलहिया सिमानाबाट २८ किलोमिटर दूरीमा अवस्थित छ । होटल ह्यात प्लेसले प्रत्यक्ष रूपमा ३५० जनालाई रोजगारी दिनेछ । ह्यात प्लेस बुटवलले लुम्बिनी प्रदेशको आतिथ्य उद्योगमा नयाँ अध्याय सुरु गर्दै बुटवललाई अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले सम्मेलन, व्यापारिक भ्रमण र पर्यटनका लागि बुटवल आउने पाहुनालाई सहज आवासीय सुविधा मिल्ने विश्वास गरिएको छ ।