त्रिविको जग्गा मिच्नेहरूलाई कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी,  रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा मुख्य सचिव एकनारायण अर्यालसहित जग्गा खोजबिन समितिका पदाधिकारीहरू पनि सहभागी थिए । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया के–के भयो भनेर जिज्ञासा राखेकी थिइन् । त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए । गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफैँ अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रूपमा सीआईबीलगायत निकायमा जाहेरी दिनुपर्ने बताए । जग्गा अपचलनमा सीआईबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो । मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैँले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो । शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरूको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राखे । प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन् । साथै यसमा जो–जो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन् ।      मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पारे ।      नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा  (३) बमोजिम मुख्यमन्त्री भएको बताए । उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताए । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुरोध गरे ।

नेपाल इन्स्योरेन्सले फुटसल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले फुटसल प्रतियोगिता पुनः आयोजना गर्ने भएको छ । कम्पनीले असोज ३ र ४ गते गर्ने भनिएको प्रतियोगिता देशमा उत्पन्न परिस्थितिका कारण स्थगित गरिएको थियो । अब उक्त प्रतियोगिता मसिंर १९ र २० गते सामाखुसी फुटसल मैदानमा हुने भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित सम्पूर्ण जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरू सहभागी हुन सक्नेछन् । यसअघि दर्ता भएका कम्पनी वा टिमहरूले पुनः दर्ता गरिरहन आवश्यक छैन भने नयाँ टिमहरू पनि दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकले प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जन मात्र नभई बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबीच समन्वय, सद्भाव, आत्मविश्वास र स्वास्थ्य चेतना विकास गर्नु रहेको जनाएको छ ।