कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ, शंकास्पद व्यक्ति प्रवेशमा निगरानी

अत्तरिया । कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो ।      सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्नसक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।      'सुरक्षा चुनौतिलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो', उनले भने, 'शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरुमा जानकारी गरी सहयोग गरी दिनहुन सबैमा अनुरोध गरिन्छ ।'      परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ ।

बाजुरामा सात मतदानस्थल थपिए, कुल संख्या ७७ पुग्यो

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्यालय जुकुमा नयाँ मतदानस्थल कायम गरिएको बताए । यसैगरी, बूढीनन्दा नगरपालिका–३ मा मदनआश्रित आधारभूत विद्यालय बड्डाला, हिमाली गाउँपालिका–१ मा सुनन्दा आधारभूत विद्यालय बाम, वडा नम्बर ५ कुलामष्टाजन आधारभूत विद्यालयक्यिुरी र वडा नम्बर ६ खोलीकोट आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गरिएको छ । चार गाउँपालिका र पाँच नगरपालिका रहेको बाजुरामा मतदाता सङ्ख्या ८६ हजार ५५७ पुगेको छ । यी मध्ये एक हजार ५१६ जना हालसालै थपिएका हुन् ।

एनपीएलमा आज दुई खेल हुँदै, चितवन र पोखरालाई जित्नै पर्ने दबाब

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज २ खेल हुँदैछन् ।  पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।  ५ खेलबाट ४ अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने ६ खेलबाट ८ अङ्क जोडेको छ ।  प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । ५ खेलबाट ४ अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।