सिटि होटलको सेयरको कटअप मूल्य अधिकतम ४३६ रुपैयाँ, शुक्रबारदेखि रकम फिर्ता

काठमाडौं । सिटि होटलको कटअफ मूल्य निर्धारण गरिएको छ । होटलले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य अधिकतम ४३६ रुपैयाँ निर्धारण भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक समूहको सेयरको कटअफ मूल्य प्रतिकित्ता २५१ रुपैयाँ, कर्मचारीतर्फको लकईनमा रहेको सेयरको प्रतिकित्ता ३०६.१० र सर्वसाधारण समूहतर्फको लकईनमा नरहेको सेयरको प्रतिशत ४३६ रुपैयाँ निर्धारण भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाको छ । सिटि होटलले गत कात्तिक २३ गतेदेखि कात्तिक ३० गतेसम्म २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीतर्फको लकईनमा ६ हजार कित्ता र सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता थियो ।  प्राप्त शिलबन्दी बोलपत्र मंसिर ५ गते खोली मंसिर ११ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको जनाएको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर बापतको रकम मंसिर १२ गते शुक्रबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत मार्फत रकमान्तर गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

नेप्से १०.४३ अंकले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार वृद्धि भएर बन्द भएको छ । आइतबारदेखि लगातार बढ्दै आएको बजारले बिहीबार पनि उकालो यात्रा कायम राख्दै नेप्से परिसूचक १०.४३ अंकले उक्लिएर २,६७६ विन्दुमा पुगेको हाे । बजारमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३३३ कम्पनीका १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ, जसको कारोबार ४० करोड १७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा सागर डिष्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।   

कालिञ्चोक दर्शनले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैठकले कम्पनीको ६० करोड रुपैयाँ चुक्ता पूँजीमा आधारित रही ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर चुक्ताका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी ११औं वार्षिक साधारण सभामा पेश गरिनेछ । साधारणसभाले अनुमोदन गरेपछि सम्बन्धित सेयरधनीहरूलाई सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।