नबिल म्युचुअल फन्डको ‘एन आई ३१’ को कारोबार सुरु
काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ का इकाइहरूको कारोबार सुरु भएको छ । कोष प्रवर्द्धक नबिल बैंक र व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेकाे नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजनाकाे कारोबार मंसिर १५ गतेदेखि सुरू भएकाे हो । कम्पनीका अनुसार योजना अन्तर्गतका इकाइहरू नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयबाट कारोबार गर्न सकिनेछ । साथै योजना व्यवस्थापकको आधिकारिक वेबसाइटमार्फत पनि इकाइहरूको खरीद-बिक्री गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएकाे छ । इच्छुक लगानीकर्ताहरू सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मार्फत योजनामा सहभागी हुन सक्नेछन् । एसआईपी अन्तर्गत लगानीकर्ताले मासिक, त्रैमासिक, अर्ध वार्षिक वा वार्षिक कुनै पनि अवधि छानेर न्यूनतम् १ हजार रुपैयाँबाट नियमित रूपमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। हाल बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । सीईओ पदावधि सकिन लागेका कारण बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको छ ।
भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।