सेयर बजारमा छायो हरियाली, दुई घण्टामै ६२ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार शुरु भएदेखि नै आइतबारको बजार उकालो लागेर हरियाली भएको हो । बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक ६२.२१ अंकले बढीसकेको छ । कारोबार खुलेको २ घण्टाको अवधिमै परिसूचक सो मात्रा अर्थात २.६८ प्रतिशतले बढेर २३८७.६६ बिन्दुमा पुगेको छ । दिउँसो १२ बजेर ५७ मिनेट जाँदासम्म बजारमा ८२ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । दुई घण्टाको अवधिमा कम्पनीको ५ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । त्यस्तै, यो समाचार तयार पार्दासम्म दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भइसकेको छ । बेष्ट फाइनान्स कम्पनी र ग्रीन भेन्चर्सको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४०८.१० र ३९६.८० रुपैयाँमा किनबेच भइरहेको छ । उता कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।
बिन्ध्यवासिनीको आइपिओमा आजदेखि आवेदन खुला
काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी रु एक अर्ब को १० प्रतिशतले हुने १०० अङ्कित दरका १० लाख कित्ता सेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका- ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९का बासिन्दाका लागि सात लाख कित्ता शेयर सुरक्षित गरेको छ । साथै बाँकी तीन लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दाहरूलाई छुट्याइएको कम्पनीले जनाएको छ । सार्वजनिक आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आजदेखि यही वैशाख २५ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी जेठ ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ए आठ दशमलव आठ मेगावाट र रुदी बी छ दशमलव छ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको बिरौटा तथा पोखरा शाखा, सिभिल बैंकको लमजुङको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेशीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशीशहर शाखा र आयोजनाको कार्यलयस्थलबाट आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–आईआर बीबी प्लस ईस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।
उन्नति लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टब एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । उन्नतिले ३० प्रतिशतले हुन आउने ५ लाख २८ हजार ५०९ कित्ता बोनस शेयर सूचिकृत भएको हो । शेयर सुचिकृत भई डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीले गत पुस २८ गते समपन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । साधारण सभाले सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तले प्रतिसेयर १५९ रुपैयाँका दरले २ करोड ८३ लाख ७३ हजार ७३७ दशमलव ६७ रुपैयाँ मूल्य बराबरको १ लाख ७८ हजार ४५१ कित्ता सेयर बिक्री गर्न लघुवित्तले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग चैत २५ गते आवेदन दिइसकेको छ ।