१३ अंकले बढ्यो नेप्से परिसूचक : कारोबार रकम भने २१ करोड घट्यो
काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १३.३७ अंकले बढेर २३५७.२४ अंकमा रोकिएको छ । आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता सेयर एक अर्ब ३२ करोड बराबरको करोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा करिब २१ करोडले घटेको हो । आज १२५ कम्पनीको सेयर मूल्य बढ्दा ५१ कम्पनीको घटेको हो । आज पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ८.८२ प्रतिशतले घटेको छ । त्यस्तै आजदेखि दोस्रो बजारमा आएको ग्रिन भेन्चरको सेयर पनि १० प्रतिशतले नै वृद्धि भएको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक रहेको छ । आज नबिलको करिब ६ करोड ३० लाख बराबरको कारोबार भएको छ । नबिलपछि दोस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।
साढे १० लाख कित्ता सेयर जारी गर्दै दोर्दी
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले यही वैशाख १३ गतेदेखि आफ्नो जारी पुँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४००० को १० प्रतिशतले हुने १० करोड ५४ लाख २६ हजार ४०० मूल्य बराबरका १०० अङ्कित दरका १० लाख ५४ हजार २६० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रमा पर्ने लमजुङको दोर्दी गाउँपालिकाका स्थायी बासिन्दाका लागि निष्काशन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । स्थानीयले यही वैशाख १३ गतेदेखि छिटोमा वैशाख २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हाल दोर्दी भएर बहने दोर्दी खोलाको पानी उपयोग गरी १२ मेगावाट क्षमताको ‘दोर्दी-१ जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सिद्धार्थ बैंकको बेंसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक तथा एनएमबी बैंकको बेंसीशहर शाखाबाट समेत शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब बराबरको ऋणपत्र जारी गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्ने भएकको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार दरले ५० लाख कित्ता ऋणपत्र दश वर्षको लागि बिक्री गर्न लागेको हो । पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले बिक्री गर्नेछ । ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने बैंकले जनाएको छ । बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।