नेपाल पुनर्बीमासहित दुई कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनी र नेशनल हाइड्रो पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत अर्थात १ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । त्यस्तै, नेशनल हाइड्रोको १८.५२५ प्रतिशत अर्थात २५ लाख ६६ हजार ५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी दुबै कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
अनसनरत लगानीकर्ता कोइराला पाटनको इमरजेन्सीमा
तस्विरः सामाजिक सञ्जालबाट काठमाडौं । लगानीकर्ता तिलक कोइराला हाल पाटन हस्पिटलको इमरजेन्सी वार्डमा रहेका छन् । विगत ७ दिनदेखि अनसन बसेका कोइरालाको स्वास्थ्य अत्यन्तै नाजुक भएपछि उनलाई हस्पिटल लगिएको हो । उनलाई सास फेर्न कठिन भइरहेको र टाउको दुःख्ने, जीउ दुःख्ने, रिंगटा लाग्नेलगायतका समस्या देखिएपछि उनलाई हस्पिटल लगिएको हो । उनलाई अस्पताल लगेसँगै लगानीकर्ताहरुले सरकारसँग उनको जीवनरक्षाको माग गर्दै आएका छन् । ‘सम्बन्धित निकायले तत्काल लगानीकर्ताका माग सम्बोधनसँगै कार्यान्वयनमा लैजाओस् र तिलक जीको जीवन रक्षा गरोस,परिस्थिति थप जटिलता तर्फ धकेलेर अप्रिय आन्दोलन गर्न बाध्य नपारियोस्,’ लगानीकर्ता तारा प्रसाद फुल्लेलले लेखेका छन् । पुँजीबजार सुधार समितिका संयोजक समेत रहेका लगानीकर्ता कोइरालाले पुँजीबजारमा नीतिगत सुधारको लागि १९ बुँदा माग राख्दै आएका थिए ।
असार १५ गतेदेखि हिमालयन हाइड्रोपावरको आइपीओ आउँदै
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी छ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ । कम्पनीले निष्कासन गर्ने कूल सेयरमध्ये ३९ हजार ३६५ कित्ता कर्मचारीहरु र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । त्यसमा बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले असार १९ सम्म आवेदन दिन पाउने तथा निष्कासनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ताका सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कास्कीको मादी गाउँपालिकामा रहेको मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआर बी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।