बढेको बजारमा गोखार्ज फाइनान्सको सर्वाधिक कारोबार, एलआईसीएनमा झुम्मिए लगानीकर्ता
काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार खुलेको केही समयमै ओरालोको यात्रा तय गरेको नेप्से परिसूचकले आधा कारोबारपछि उकालोको यात्रा तय गरेको हो । दिनभरको कारोबारमा घटेर १९९६ बिन्दुसम्म पुगेको परिसूचक अन्त्यमा बढेर २०४३.९२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६६ प्रतिशत अर्थात १३.३३ अंकले बढी हो । मंगलबारको तुलनामा कारोबार रकम भने घटेको छ । मंगलबार २ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने २ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ । बुधबार सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा गोर्खाज फाइनान्स रहेको छ । फाइनान्सले एकैदिन ११ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि १६ रुपैयाँले बढेर प्रतिकित्ता ४९० रुपैयाँमा पुगेको छ । त्यस्तै, बजारमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआईसीएन) को सेयर लगानीकर्ताहरु आकर्षित भएका छन् । बुधबार बढी कारोबार हुनेको दोश्रो स्थानमा पनि एलआईसीएन नै रहेको छ । जसको ११ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५४९.९० रुपैयाँमा अन्तिम किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १४०.९० रुपैयाँले बढी हो । त्यस्तै, सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६९८.२० रुपैयाँ पुगेको छ । बुधबार बैंकिङ्ग, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूह बढेका छन् ।
‘पहुँच र पावरमार्फत कर्जा लिई बजारमा चलखेल गर्नेलाई कारबाही गर्नुपर्छ’
काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर सेयर बजारमा चलखेल गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन् । उनले सेयर कर्जामा सीमा लगाउने भन्दापनि गलत कार्य गर्नेलाई नियन्त्रण गर्नुपर्ने बताए । साथै, सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने उनको भनाई छ । मैनालीले मौद्रिक नीतिमार्फत सेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् । उनले सेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले सेयर कर्जामा धेरै नियन्त्रण गर्न नहुने बताएका हुन् । अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जामा ४/१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताए । उनले आगामी मौद्रिक नीतिमा सेयर कर्जामा ४/१२ को क्यापलाई हटाउनुपर्ने बताए । अध्यक्ष मैनालीले सेयर कर्जामा सीमा लगाउने भन्दापनि पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताए । उनले कमजोर र बलियो संस्थाको सेयरमा एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताए । अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद गर्न रोक लगाएको कारण पनि सेयर बजार जोखिममा पुगेको बताए । उनले अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु सेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरुलाई सेयर खरिद गर्न दिए जोखिममा रहेको बजार सुधार हुनसक्ने बताए । अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउने तयारी भएपनि सेयर किन्ने बायर नै नभएको गुनासो गरे । ‘हामीले विदेशी लगानीलाई सेयर बजारमा प्रवेश नदिएको कारण सेयर बजारमा धक्का लाग्छ जस्तो लाग्दैन, सेयरमा जाने कर्जालाई राष्ट्र बैंकले सीमा राखेर कडाई गर्नुपर्छ भन्ने छैन, हामीले जहिले पनि बाइन साइडबाट मात्रै हेरका छौं, सेयर बजार यस्तो ठाउँ हो जसमा बायरले पैसा तिर्छ भने सेलरले आज नै पाउँछ, पैसा कही पनि अड्किँदैन, बायरले ऋण लिएर सेयर किन्यो भने शेयर किनेको पैसा सेलरले पाउने हो, केही सरकारले करको रुपमा पाउने हो, कसैले ऋण लिएर सरकारलाई कर तिर्छ भने त्यसले बिगार्छ जस्तो लाग्दैन । कसैले ऋण दिएर सेयर किन्दा बेच्ने मान्छेले शेयर बेचेर उद्योगमा लगानी गर्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ जस्तो लाग्दैन, ‘ उनले भने । अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए । उनले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने समेत बताए ।
साञ्जेन जलविद्युतको सेयर तत्काल बिक्री नगर्न माग
रसुवा । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता सेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत्को सेयरसमेत स्थगन गर्न माग गरेको छ । दुवै आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रसुवाका पाँचवटै गाउँपालिका प्रमुख तथा उपप्रमुख, बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ, राजनीतिक दलका जिल्लास्थित प्रमुख/प्रतिनिधि, नागरिक समाजलगायतले शेयर बिक्री ६ महिनापछि मात्र खुलाउन माग गरेका हुन् । जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गरिदिन आग्रह गरिएको छ । रसुवामा कार्यरत बैंक तथा वित्तीय संस्थाले स्थानीयको हितका लागि सुलभ कर्जा उपलब्ध गराउनुपर्ने जिल्ला समन्वय समितिले माग गरेको छ । राष्ट्रिय प्रसारण लाइनले छोएका आमाछोदिङ्मो र उत्तरगयाका वडा नं १, २ र ३ नेसिङ, ग्रे, हाकु, गोगने, डाडागाउँ, ठूलोगाउँ क्षेत्रका प्रभावितलाई सेयरको व्यवस्था गर्न समेत माग गरिएको छ । रासस