७९ लाख कित्ता आइपीओ ल्याउँदै घोराही सिमेन्ट, बिक्री प्रबन्धकमा हिमालयन र नबिल नियुक्त
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले उक्त सेयरकाे निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गसँग सम्झौता गरेको छ । सम्झौता समारोहमा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रिको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वि.सं २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । बिशाल समूहबाट संयुक्त रुपमा प्रवर्धित घोराही सिमेन्ट इन्डस्ट्रि क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योगमा पर्दछ । हाल कम्पनीले सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै कान्तिपुर टेलिभिजन, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरमा प्रिमियम मूल्य थपेर कूल ७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले सानिमा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिहीबार कान्तिपुर टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् । कान्तिपुर टेलिभिजनले २०६० असार २९ गतेबाट विधिवत रुपमा प्रसारण आरम्भ गरेको थियो । पछिल्लो समय टेलिभिजनले हाई डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गर्दै आएको छ ।
नेप्सेले रोकिदियो प्रभु लाइफको सेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनी मर्जरमा जाने भएसँगै नेप्सेले असार ३१ गतेदेखि दोश्रो बजारको कारोबार रोकिदिएको हो । प्रभु लाइफ महालक्ष्मी लाइफसँगै मर्जरमा जान लागेको हो । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म दोश्रो बजारमा कम्पनीको सेयर कारोबार हुँदैन ।