संस्थापक सेयर लगानीकर्तालाई ‘घाँडो’
काठमाडौं । पूँजी बजारमा सूचीकृत कम्पनीहरुका दुई किसिमका सेयर हुन्छ, प्रमोटर (संस्थापक) सेयर र पब्लिक (सर्वसाधारण) सेयर । विभिन्न कम्पनीमा लगानीकर्तालाई संस्थापक सेयर र पब्लिक सेयर गरी दुई समूहमा विभाजन गरिएको हुन्छ । लगानीकर्ताले कुनै कम्पनीको सेयर आज खरिद गरेर भोलि नै बिक्री गर्न पाउँछन् भने यस्ता सेयरलाई पब्लिक सेयर भनिन्छ । तर, पब्लिक सेयर सरह खरिद बिक्री गर्न नपाइने सेयरलाई प्रमोटर सेयर भनिन्छ । प्रमोटर सेयर विभिन्न प्रक्रिया पुर्याएर मात्रै खरिद बिक्री गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा ५१ प्रतिशत प्रमोटर सेयर अनिवार्य हुनुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा सुरुमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत पब्लिक सेयर हुनुपर्छ । तर, ५ देखि १० वर्ष अवधि पुगेपछि संस्थापकको १९ प्रतिशत सेयर पब्लिकमा रुपान्तरण गर्न पाउँछन् । तर, संस्थापक सेयर ५१ प्रतिशत भन्दा कम नहुने गरी सेयर संरचना परिवर्तन गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबाहेक अन्य कम्पनीको भने ३ वर्ष अवधि (लकिङ पिरियड) पुगेपछि संस्थापक सेयर पनि पब्लिक सेयर सरह कारोबार गर्न पाइन्छ । तर, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका संस्थापक लगानीकर्ताले भने लामो समय पुग्दा पनि पब्लिक सेयर सरह कारोबार गर्न पाउँदैनन् । संस्थापक सेयर खरिद बिक्री गर्ने प्रक्रिया सहज नहुँदा संस्थापक सेयर ‘घाँडो’ जस्तै बनेको लगानीकर्ताको गुनासो छ । लगानीकर्ताका लागि प्रमोटर सेयर खरिद बिक्री गर्न झण्झट भएको लगानीकर्ता राजन लम्साल बताउँछन् । प्रमोटर सेयरधनीले नै संस्थालाई संचालन गर्ने भएकाले खरिद बिक्री प्रक्रियामा कडा व्यवस्था गरेको लगानीकर्ता लम्सालले बताए । ‘५१ प्रतिशत अनिवार्य मानसिकता भएका लगानीकर्तामात्रै प्रमोटर सेयरमा लगानी गर्छन्, प्रमोटर सेयर खरिद गर्न विभिन्न प्रक्रिया पुरा गर्नुपर्छ, यदि कुनै प्रमोटरले सेयर बिक्री गर्न चाह्यो भने प्रमोटरभित्रैबाट खरिदकर्ता खोज्नुपर्छ, पाएन भने प्रमोटर सेयर बिक्रीमा भनेर सूचना प्रकाशन गर्नु पर्छ,’ लगानीकर्ता लम्सालले भने, ‘यस्ता खालका सीमा र शर्तका कारण प्रमोटर सेयर झण्झटिलो छ, सिधै बिक्री गर्न नसक्ने, सूचना निकालेर प्रमोटर खोज्नुपर्ने व्यवस्थाका कारण झण्झट भएको छ ।’ प्रमोटर सेयर खरिद गर्न आम्दानीको स्रोत, कर तिरेको सिफारिस, कालो सूचीमा नपरेको हुनुपर्छ भने बिक्री गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । खरिद गर्ने व्यक्तिले थुप्रै प्रक्रिया अपनाउनु पर्ने भएकाले बिक्री गर्न कम्तिमा ६ महिना समय लाग्ने गरेको लगानीकर्ता लम्साल बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रमोटर सेयरधनीले आफ्नो सेयर बिक्री गर्न चाह्यो भने बिक्री नै नहुने अवस्थामा पुग्छन् । प्रमोटर सेयर मूल्य कम हुँदा कहिलेकाहीँ त प्रमोटरले आईपीओकै मूल्यमा सेयर बिक्री गर्नु पर्ने बाध्यता रहेको लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ‘बजारमा बिक्रीमा राखिएको प्रमोटर सेयरमा ५० प्रतिशत पनि बिक्री हुँदैन, बजार मूल्यभन्दा ६५ प्रतिशत कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘प्रमोटर सेयर खासै बिक्री गर्न आउँदैनन्, समस्या परेर मात्रै प्रमोटर सेयर बिक्री गर्छन् ।’ प्रमोटर सेयरमा दीर्घकालको योजना बनाएर लाभांश र लगानी सुरक्षित गर्नका लागि लगानी गर्छन् । पब्लिक र प्रमोटरमा विभेद पब्लिक सेयर तत्काल खरिद बिक्री गर्न मिल्छ । पब्लिक सेयर आज खरिद गरेर अर्काे दिन बिक्री गर्न सकिन्छ । प्रमोटर सेयर भने खरिद बिक्रीका लागि दायरा छुट्याएको छ । ‘पब्लिकले आज किन्छ, भोलि १० रुपैयाँ फाइदा भएपछि बिक्री गर्छ, कम्पनीबाट बाहिर जान्छ तर, कम्पनीको मालिक प्रमोटर सेयर भएका लगानीकर्ता हुन्, पब्लिक सेयर छोटो अवधिका लागि मात्रै हो, संस्थाको स्थायी साहु प्रमोटर हुन्,’ उनले भने, ‘संस्था स्थापना गर्दा ठूलो रकम लगानी गरेर संचालन गरिरहेका हुन्छन्, निश्चित मापदण्डभित्र रहेर काम गर्न लगानी गरेका हुन्छन् ।’ प्रमोटर सेयर बिक्री गर्नका लागि प्रक्रिया मात्रै सहज बनाएमा अर्काे ब्यक्ति आएर सो सेयर खरिद गर्न सक्ने उनले बताए । छोटो समयमा खरिद बिक्री गर्ने मापदण्ड बनायो भने संस्थापक सेयरमा लगानीकर्ताको आकर्षण बढ्ने उनको भनाइ छ । प्रमोटर सेयरमा भएको अहिलेको व्यवस्था गलत रहेको लगानीकर्ता मुक्ती अर्यालको आरोप छ । प्रमोटर सेयर कारोबार हनु नपाउने व्यवस्थाले लगानीकर्ता मारमा परेको उनको भनाइ छ । सेयर भनेको अंश भएकाले बराबर अधिकार र कर्तव्य हुनुपर्ने उनको धारणा छ । ‘कारोबार फुकुवा नहुन्जेलसम्म लगानीकर्तालाई घाटा हुन्छ, फुकुवा हुने समयमा खेलेर अरु लगानीकर्तालाई मर्का वा घाटा पार्छन्,’ उनले भने, ‘सेयर अंश हो, अंश बराबर हुन्छ, सबैको अधिकार र कर्तव्य बराबर हुनुपर्छ, तर हामीकहाँ पुर्वाग्राही छ, बराबर भएको छैन ।’ उनले यस्तो व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताए । नियामकले लगानीकर्ताको सम्पत्तिलाई बंधक बनाएर राखेको आरोप उनको छ । ‘कसैले गरेको लगानी बिक्री गर्न नपाउनु भनेको सम्पत्ति वा लगानी टाइट गर्नु हो, अरुले बिक्री गर्न पाउने तर प्रमोटरले बिक्री गर्न नपाउँदा पुर्वाग्रह भयो, सम्पत्ति चल हो तर अचल सम्पत्ति जस्तै होल्ड गर्नु गलत हो,’ उनले भने । संस्थामा सेयरधनी मात्रै हुने भएकाले संस्थापक र सर्वसाधारण सेयरधनीको अवधारण गलत रहेको उनको बुझाइ छ । ‘५ प्रतिशत बढी होल्ड गर्ने एक किसिमको सेयरधनी र ५ प्रतिशतभन्दा कम गर्ने रिटेल, ५ प्रतिशत बढी होल्ड गर्नेलाई बिक्री गर्न समय र विभिन्न प्रावधान अपनाउनुपर्छ, किनभने प्राइसलाई प्रभाव पार्ने सूचना हुन सक्छन् तर, की प्राइसलाई प्रभाव नपर्ने गरी बिक्री गर्न पाउनु पर्छ, बिक्री गर्दा धितोपत्र बोर्डलाई जानकारी दिने व्यवस्था लागू हुनुपर्छ,’ उनले भने । हाल कायम रहेको व्यवस्थाका कारण अस्वस्थ अभ्यास भएपछि सरकार र मार्केटलाई समेत नोक्सान भइरहेको उनले बताए । ‘ब्रोकर, स्टक एक्सचेञ्जलाई पनि घाटा भएको छ, कारोबार भएपछि ब्रोकरलाई कमिसन आउँछ, धितोपत्र बोर्डलाई पनि कमिसन आउँछ, सरकारलाई कर तिर्छन्,’ लगानीकर्ता अर्यालले भने, ‘सप्लाई बढेपछि प्राइस लेभलमा आउँछ, प्रमोटरले कारोबार गर्न नपाउँदा पब्लिकको सेयर कम हुन्छ, प्राइस म्यानुपुलेसन गरेर तलमाथि गर्न सक्छन् ।’ उनका अनुसार यदि कुनै प्रमोटरसँग २० प्रतिशत सेयर छ भने ५ प्रतिशत बिक्री गरेर अन्य विजनेश गर्न सक्छ, जसले गर्दा बजार सक्रिय हुन्छ । तर, अहिलेको व्यवस्थाले क्यापिटल मोविलाइजेसन रोकेका उनको बुझाइ छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रवक्ता रुपेश केसीले संस्थापक सेयर बारे बोर्डले कुनै छलफल नगरेको बताए । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका लागि नियामकले गरेको व्यवस्था नै लागू हुने र अन्य कम्पनीको सन्दर्भमा धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा भएका व्यवस्था लागू हुने उनको भनाइ छ । बैंक तथा वित्त संस्था र बीमा कम्पनीको संस्थापक सेयर कारोबार गर्न नपाउने व्यवस्थालाई राष्ट्र बैंक र बीमा समितिको नियमले रोकेको र अन्य कम्पनीको हकमा भने सुझावको रुपमा बोर्डमा राख्ने उनको भनाइ छ । राष्ट्र बैंकका सह-प्रवक्ता नारायण प्रसाद पोखरेलले बैंक तथा वित्त संस्था लाखौंको निक्षेप राख्ने ठाउँ भएको र बैंकको शाख जोगाउन यस्तो व्यवस्था लागू गरेको बताए । यदि बैंकको सेयरलाई शतप्रतिशत पब्लिक सेयर बनाएमा हरिविजोग हुने उनको भनाइ छ । ‘संस्थापकको सेयरलाई शतप्रतिशत पब्लिक सेयर बनाउँदा बैंक हरिविजोग हुन्छ, कोही न कोही स्वामित्व लिने मान्छे चाहिन्छ, पब्लिक सेयरधनीले पनि जिम्मेवारी लिएको हो तर भोलिका दिनमा पूँजी थप भन्दा थप्दिन भन्न पाउँछ,’ उनले भने, ‘बैंकमा प्रमोटरको हिस्सा ५१ प्रतिशत हुनुपर्छ, भोलिका दिनमा आवश्यक परेमा पूँजी थप्न सक्छ, पब्लिक सेयरधनीले कम्पनीबाट उम्किन खोज्छ, प्रमोटरले उम्किने मौका पाउँदैनन्, उसको काँधमा जिम्मेवारी हुन्छ, जसले बैंकलाई अफ्ठ्यारो परेको बेलामा पूँजी थपथाप गरेर बैंकलाई जोगाउन सक्छन् ।’ बैंकका संस्थापक सेयरधनीलाई आफ्नो सेयर बिक्री गर्न कुनै झण्झट नभएको उनको दाबी छ । लाभांश र लगानी सुरक्षित हुने भएकाले लगानीकर्ताले प्रमोटर सेयरमा लगानी गरेको उनले बताए । ‘असहज भएको स्वभाविक हो, किनभने प्रमोटरसँग ठूलो रकम हुन्छ, प्रमोटरले किन्ने मान्छे भेट्यो भने राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘सेयर बिक्री गर्नु भनेको बैंकका लागि बिजनेस पार्टनर खोज्नु हो, सेयर बिक्री गरेको होइन, बिजनेश पार्टनर भेट्न गाह्रो हुन्छ, भेटे पनि नियामक निकायसँग स्वीकृति लिएर मात्रै हस्तान्तरण गर्नुपर्छ ।’
हिम पर्वत हाईड्रोपावरले सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल नियुक्त
काठमाडौं । हिम पर्वत हाईड्रोपावरले ४२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावितको लागि १४ लाख र सर्वसाधरणको लागि २८ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हाईड्रोपावरले यसको लागि सिबिआईएल क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा हाइड्रोको तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटलका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् । हिम पर्वत हाईड्रोपावरले दोलखा जिल्लामा २० मेगावटकाे सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेगावाटको सागुँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
सेयर बजारमा कारोबार रकममा पहिरो, झिनो अंक घट्यो
काठमाडौं । पूँजी बजारमा लगानीकर्तामा अन्यौलता देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३६ प्रतिशत घटेर २०४०.७० अंकमा बन्द भएको छ । लगानीकर्तामा अन्यौलता देखिएपछि बजार सामान्य घटेको हो । यसअघि हिजो दोहोरो अंकले घटेको थियो । बजार घट्ने वा बढ्ने भन्ने स्पष्ट रुपमा लगानीकर्ताले छुट्याउन नसक्दा बजारमा यस्तो अवस्था आएको लगानीकर्ता बताउँछन् । पछिल्लो समय सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा असन्तुष्ट बनेका लगानीकर्ता मंगलबार राष्ट्र बैंकले आर्थिक गतिविधि सार्वजनिक गरेपछि अन्यौलता कायम भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देशको अर्थतन्त्र सुधार हुँदै गएपछि पनि लगानीकर्तामा प्रभाव परेको हुन सक्ने सेयर विज्ञ बताउँछन् । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ह्वात्तै घटेको छ । बुधबार दिनभरिमा २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर २६ हजार १९९ पटक किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि मंगलबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार बैंकिङ्ग समूह ०.२८ प्रतिशत, ट्रेडिङ्ग समूह ०.१८ प्रतिशत, होटल एण्ड टुरिजम समूह ०.०१ प्रतिशत, अन्य समूह ०.२२ प्रतिशत, जीवन बीमा समूह ०.४८ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.२ प्रतिशत घटेको छ । यस्तै, विकास बैंक समूह ०.६१ प्रतिशत, हाइड्रोपावर समूह ०.६८ प्रतिशत, फाइनान्स समूह ०.४४ प्रतिशत, निर्जीवन बीमा समूह ०.४१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.०५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२ प्रतिशत बढेको छ । बुधबार दिनभरिमा स्वेतगंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, मन्दाकिनी हाइड्रो, अपर हेवीखोलाको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यस्तै, बुधबारका दिन सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य ५.१४ प्रतिशत घटेको छ । आज पनि रिडी पावरको २ लाख ८६ हजार ८६० कित्ता सेयर १ हजार १४८ पटक किनबेच हुँदा १८ करोड ४३ लाख ११ हजार ८९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।