रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ भदौ २८ गते मंगलबार बाँडफाँट सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओको नतिजा निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, सहनिष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ्गको वेबसाइटबाट हेर्न सकिनेछ । कम्पनीको सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं.६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिएका थिए । कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ६८ लाख ४२ हजार १ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ आज (भदौ २९ गते, बुधबार) देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरिएको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
एक सातापछि नेप्सेमा देखियो सुधार, नबिलको सर्वाधिक कारोबार, बीएनएलमा लाग्यो सर्किट
काठमाडौं । नेपाली पुँजीबजारमा पछिल्लो एक सातापछि सुधार देखिएको छ । गत भदौ १९ गतेदेखि ओरालो लागेको बजार भदौ २८ गते दोहोरो अंकले बढेको हो । मंगलबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक उकालो लागेको छ । परिसूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.११ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८३ करोड १६ लाखको कारोबार भएको बजारमा मंगलबारमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन एकैदिनमा ९ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ । बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । सोमबार पनि सर्वाधिक कारोबार भएको बैंकको मंगलबार ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य १५ रुपैयाँले बढेर प्रतिकित्ता ७७० रुपैयाँ पुगेको छ । बढी कारोबार गर्नेको दोश्रोमा रिडी पावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन ५ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा बोटलर्स नेपाल (बालाजु) (बीएनएल) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा १९४.१० रुपैयाँले बढेर प्रतिकित्ता २ हजार १३६ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.२२ अंकले बढेको छ ।