नाडेप लघुवित्तले १० प्रतिशत बोनस बाँड्ने, नगद कति छ ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
२० प्रतिशत लाभांश पारित गर्न इन्फिनिटी लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं । इन्फिनिटी लघुवित्तले साधारण सभा बोलाएको छ । लघुवित्तको माघ १७ गते बसेको संचालक समितिको बैठकले फागुन १३ गतेको लागि साधारण सभा बोलाएको हो । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । यस्तै, लघुवित्तले साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति पनि तोकेको छ । कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात फागुन १ गतेसम्म कम्पनीको सेयरधनीको रुपम नेपाल स्टक एक्सचेन्जमा सक्रिय भएकाले मात्र लाभांश प्राप्त गर्नेछन् ।
सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज माघ १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबरको प्रतिशेयर १ सय दरका ३३ लाख ३२ हजार ५ सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र फुङ्लिङ नगरपालिका-१, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका-१ तथा भिक्वाखोला गाउँपालिका-१ र २, मेरिङदेन गाउँपालिका-२ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका-१ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ४० प्रतिशत र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाका लागि ६० प्रतिशत शेयर निष्कासन गरेको हो । त्यस्तै सर्वसाधारणका लागि ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर ४९ लाख ९८ हजार ७५० कित्ताको १० प्रतिशत सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।