सेयर बजारमा वर्चश्व जमाउँदै बीमा कम्पनी

काठमाडौं । पछिल्लो समय पूँजी बजार निरन्तर ओरालो लाग्दै तल्लो विन्दुमा झरेको भएपनि बीमा कम्पनीहरुको वर्चश्व छ । ३२ सय अंकको उचाइबाट नेप्से सूचक १८ सय अंकमा कारोबार हुँदा बीमा क्षेत्रले वर्चश्वता कायम राखेको छ । नेप्सेका अनुसार बिहीबारसम्म जीवन बीमा समूह परिसूचक ९ हजार २३८ अंक छ भने निर्जीवन बीमा समूह परिसूचक ८ हजार ४५३ अंक छ । यो परिसूचक अरु समूहको भन्दा उच्च हो । अन्य समूहको परिसूचक ४ हजार अंकभन्दा तल नै रहेको अवस्थामा बीमा कम्पनीहरुको भने उच्च देखिन्छ । यसले सेयर बजारमा बीमा प्रति लगानीकर्ताको विश्वास बढ्दो रहेको बुझिन्छ । नेपाल स्कटक एक्सचेञ्ज (नेप्से)मा १३ वटा समूहका कम्पनीहरु सूचीकृत रहेकोमा बीमा क्षेत्रका जीवन बीमा, निर्जीवन बीमा र अन्य समूह (रिइन्स्योरेन्स)का कम्पनीहरु सूचीकृत छन् । पूँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये बीमा क्षेत्रका कम्पनीहरुको योगदान धेरै देखिन्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ विजय बहादुर शाह बीमा क्षेत्रमा पारदर्शीता र सूचनाहरु विश्वसनीय हुने भएकाले लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । बीमा कम्पनीहरु चुक्ता पूँजी वृद्धि गर्ने क्रममा रहेकाले लगानीकर्ताको चाम हुनु स्वभाविक रहेको उनको भनाइ छ । ‘कम्पनीहरु मर्जर र हकप्रद सेयरको माध्यमबाट पूँजी वृद्धि गरिरहेका छन्, हकप्रद सेयर आउँछ भन्ने लगानीकर्ताले मनसाय बनाएका हुन सक्छन्, विगतमा बैंक तथा वित्तीय संस्थाप्रति आकर्षण थियो, सो संस्था जत्तिकै नियमन र पारदर्शीता बीमा कम्पनीहरुको हुन्छ, त्यसैले लगानीकर्ताको आकर्षण बढेको हो,’ उनले भने । देशको अर्थतन्त्रलाई विभिन्न तत्वले प्रभाव पार्ने भएकाले भविष्यमा बीमामा लगानीकर्ताको आकर्षण के हुन्छ भनेर भन्न नसकिने उनले बताए । यद्यपी नियमन भित्र रहने भएकाले कम्पनीमा आकर्षण बढ्ने उनको भनाइ छ । पूँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये बैंक, वित्तीय तथा बीमा क्षेत्रमा नियमन बलियो भएकाले यस क्षेत्रमा लगानीकर्ताको आकर्षण अझै बढ्नुपर्ने उनले बताए । ‘अन्य क्षेत्रमा पनि नियमन हुन्छ तर, यो क्षेत्र जत्तिकै नियमन हुँदैन, बीमा कम्पनीहरु पारदर्शी, विश्वसनीय सूचना प्रवाह गर्छन्, अन्य कुनै क्षेत्र पारदर्शी र विश्वसनीय भएन भने लगानीकर्ता अर्काे क्षेत्रमा प्रवेश गर्छन्, आगामी दिनमा पनि यो चाम रहन्छ,’ उनले भने ‘लगानीकर्ताहरुले अनेक कोणबाट विश्लेषण गर्छन्, लगानीकर्ताले सबै क्षेत्र तुलना गरेर लगानी गर्छन्, मूल्याङ्कन गर्छन्, त्यसैले बीमा कम्पनीको सेयर मूल्य स्वभाविक हो ।’ प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईं बीमा कम्पनीको पूँजी र सेयर संख्या कम भएका कारण लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । पूँजी बजारमा राम्रो प्रतिफल दिन सक्ने क्षेत्र बीमा पनि भएकाले पूँजी बजारमा लगानीकर्ताको वर्चश्व बढेको उनको भनाइ छ । ‘१० वटा लाइफ इन्स्योरेन्स कम्पनीबाट १९ वटा कम्पनी पुर्याइयो, अहिले मर्जर गराएर १४ वटा झरेका छन्, केही कम्पनीको आईपीओ आउन बाँकी छ, सुरुवातमा सेयर संख्या कम भयो, प्रतिफल धेरै दिन सक्छ भनेर आकर्षित भए, सुरुमा बैंकहरु आउँदा पनि राम्रो प्रतिफल दिन्छ भनेर आकर्षित भएका थिए, राम्रो प्रतिफल पनि दिए,’ उनले भने, ‘लगानीकर्ताको विश्वास बीमा कम्पनीमा बढ्दै गएको छ, बैंकहरु ठूला हुँदा अधिकांशको सेयर मूल्य २ सय तल झरेको छ तर बीमा कम्पनीको सेयर मूल्यमा यसरी गिरावट आएको छैन ।’ बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ । हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गर्छन् भन्ने अवधारणा बनाएर लगानीकर्ता बीमा क्षेत्रमा आकर्षित भएको हुन सक्ने सीईओ प्रसाईंले बताए । ‘४२ प्रतिशत मान्छेले बीमा गरेका छन्, अझै ५८ प्रतिशत बीमा गर्न बाँकी छ, जीडीपीमा बीमा क्षेत्रका ३.७४ प्रतिशत योगदान छ, क्रमिक रुपमा बीमा क्षेत्रको सुधार हुँदै जाँदा व्यवसाय पनि बढ्न थालेको हुँदा प्रतिफल पनि बढ्न सक्ने भएकाले लगानीकर्ताको आकर्षित भएका हुन्,’ उनले भने । पूजी वृद्धिको योजनाले हकप्रद सेयर पाउने आशामा लगानीकर्ता बढी आकर्षित भएका हुन सक्ने लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता छोटेलाल रौनियारले छोटो समयमा पूँजी वृद्धि गर्न मर्जरको बाटो रोजेको हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको बताए । साथै बीमा कम्पनीहरुको नाफा पनि वृद्धि भएको हुँदा प्रतिफल धेरै आउने अपेक्षाले लगानीकर्ताको रोजाइमा बीमा कम्पनी परेको उनी बताउँछन् । पछिल्लो समय बजार घटेको बेला मूल्य न्यून भएकाले लगानीकर्ताले खरिद गरेको हुन सक्ने उनको भनाइ छ । ‘बीमा कम्पनी धेरै चाँहिदैन, मर्जर जाउ भनेर निर्देशन दिएको छ, बीमा कम्पनीहरु धमाधम मर्ज भइरहेका छन्, यो पूँजी बजारका लागि पनि सकारात्कम पक्ष हो, बीमा कम्पनीको पूँजी बढ्दा काम गर्ने दायरा पनि बढ्छ,’ उनले भने, ‘मूल्य पनि कम छ, कम्पनीको ईपीएस पनि बढ्दैछ, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १२ हजार रुपैयाँ भन्दा बढी भएका कारण पनि बजारमा वर्चश्व बढेको हो ।’ बीमा कम्पनीको लाभांश वितरण दर राम्रो रहेको र आगामी दिनमा पनि प्रतिफल बढ्ने स्थिसत बन्दै गएको उनको बुझाइ छ । साथै अनिवार्य बीमा गर्नु पर्ने प्रावधानले व्यवसाय पनि वृद्धि हुँदै गएकाले प्रतिफल पनि बढ्ने उनले बताए । अन्य क्षेत्रमा भन्दा बीमा क्षेत्रमा बढी बोनस सेयर पाइने भएकोले पनि लगानीकर्ताको आकर्षण बीमा क्षेत्रमा बढेको उनको भनाइ छ । जीवन बीमा  एक वर्ष अघि जीवन बीमा समूह परिसूचक ११ हजार ८९७ अंक थियो । तर, पछिल्लो समय बजार ओरालो लागेपछि ९ हजार २३८ अंकमा झरेको छ । नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल), एशियन लाइफ, सूर्यज्योति लाइफ, प्रभु लाइफ, प्राइम लाइफ, गुँरास लाइफ, यूनियन लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी सूचीकृत छन् । अब यी ११ वटा कम्पनीमध्ये केही कम्पनी मर्ज सम्पन्न भइसकेको हुँदा ८ वटा कम्पनी मात्रै कायम रहन्छन् । तैपनी पूँजी बजारमा जीवन बीमा समूहले आफ्नो वर्चश्व कायमै राखेको देखिन्छ । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफबीच मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको भने रिलायन्स लाइफ र सानिमा लाइफ मर्जर भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । त्यसैले अब पूँजी बजारमा सूचीकृत कम्पनीको संख्या ८ वटामा झर्ने छन् । प्राधिकरणका अनुसार बीमा कम्पनी मर्जर भएर १४ वटा कायम हुने छन् । हालसम्म मेटलाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ, राष्ट्रिय बीमा संस्थान, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्म सर्वसाधारणलाई आईपीओ जारी गरेका छैनन् । यदि यी कम्पनीले आईपीओ जारी गरे भने पूँजी बजारमा जीवन बीमा कम्पनीको वर्चश्व थप बढ्ने जानकारहरु बताउँछन् । सिटिजन लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफले प्रिमियम मूलयमा आईपीओ निष्काशन प्रक्रिया अघि बढाएका छन् । यी कम्पनीमध्ये महालक्ष्मी लाइफ मर्जर प्रक्रियामा रहेकाले मर्जर पछि नै सेयर निष्काशन प्रक्रिया अघि बढाउनेछ । नेशनल लाइफको सेयर मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ रहेको छ । एक वर्ष प्रतिकित्ता ७८७ रुपैयाँ रहेको थियो । बिहीबारसम्म कम्पनीको बजार पूँजीकरण २६ अर्ब ५४ करोड ३२ लाख ७१ हजार रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारण समूहको ३५ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, मर्जर बिनै जीवन बीमा कम्पनीहरुलाई टक्कर दिइरहेको नेपाल लाइफमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । एक वर्ष अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७५ रुपैयाँ भन्दा बढी थियो भने अहिले घटेर प्रतिकित्ता ६५७ रुपैयाँमा कारोबार भइरहेको छ । सेयर बजार उच्च विन्दुमा पुगेका बेला प्रतिकित्ता ५ हजार रुपैयाँसम्म सेयर मूल्य पुगेको थियो । बिहीबारसम्म कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ९६ करोड ७३ लाख ८० हजार रुपैयाँ छ । भारतीय ज्वाइन भेञ्चर रहेको लाइफ इन्स्योरेन्स कर्पाेरेशनको सेयर मूल्य प्रतिकित्ता १ हजार २७५ रुपैयाँ रहेको छ । ३ अर्ब ८२ करोड रुपैयाँ बजार पूँजीकरण रहेको यस कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको नेप्सेले जनाएको छ । यस्तै, प्रतिकित्ता ५३७.९० रुपैयाँ मूल्य रहेको एशियन लाइफको एक वर्षअघि ८५१ रुपैयाँ थियो । बिहीबारको मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भएर बनेको सूर्यज्योति लाइफको सेयर मूल्य प्रतिकित्ता ४१४.९० रुपैयाँ रहेको छ । बिहीबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १८ अर्ब ८५ करोड ९५ लाख रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, महालक्ष्मी लाइफसँग मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको सेयर मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ रहेको छ । बिहीबारको सेयर मूल्यका आधारमा कम्पनीको बजार पूँजीकरण ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र ३० प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । निर्जीवन बीमा  जीवन बीमापछि नेप्से सूचक धेरै हुनेमा निर्जीवन बीमा समूह दोस्रोमा छ । बिहीबारसम्म निर्जीवन बीमा समूहको नेप्से सूचक ८ हजार ४५२ अंक रहेको छ । एक वर्ष अघि सो समूहको सूचकाङ्क १० हजार भन्दा धेरै थियो । यस समूहमा १५ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये केही कम्पनी मर्जर प्रक्रियामा छन् । नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सको सेयर कारोबार भइरहेको छ । यस्तै, सगरमाथा र लुम्बिनी, आइएमई प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरका कारण सेयर कारोबार रोक्का भएको छ । यी चार कम्पनी मर्ज भएर २ कम्पनीमा सीमित हुनेछन् । नेपाल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५२४ रुपैयाँमा कारोबार भइरहेको छ भने बजार पूँजीकरण ७ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा ५१ प्रतिशत संस्थापक समूह र ४९ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व छ । यस्तै, सरकारी कम्पनीका रुपमा सञ्चालन भइरको राष्ट्रिय बीमा कम्पनीको बिहीबारसम्म सेयर मूल्य प्रतिकित्ता १२ हजार ५४० रुपैयाँ रहेको छ । पूँजी बजारको हट केकका रुपमा लिइएको यस कम्पनीको सेयर मूल्य एक वर्षअघि साढे १६ हजार रुपैयाँ भन्दा बढी थियो । कम्पनीको बजार पूँजीकरण ३३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा संस्थापक समूहको ८७.७५ प्रतिशत र सर्वसाधारण समूहको १२.२५ प्रतिशत सेयर स्वामित्व रहेको नेप्सेले जनाएको छ । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्ज भइ बनेको हिमालयन एभरेष्टको सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ छ भने बजार पूँजीकरण ९ अर्ब ८९ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको प्रतिकित्ता ४३३ रुपैयाँ छ भने बजार पूँजीकरण ४ अर्ब ६७ करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरको प्रतिकित्ता ५७५ रुपैयाँ छ भने बजार पूँजीकरण १६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यस्तै, प्रभु इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँ रहेको छ भने बजार पूँजीकरण ६ अर्ब १३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७०८ रुपैयाँ छ भने बजार पूँजीकरण १८ अर्ब ७९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता ६ सय रुपैयाँ छ भने बजार पूँजीकरण ८ अर्ब ७७ करोड रुपैयाँ र सानिमा जिआईसीको सेयर मूल्य प्रतिकित्ता ४३४.२० रुपैयाँ छ भने बजार पूँजीकरण ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । यी कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व छ । यस्तै, नेको इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७२२.६० रुपैयामा पछिल्लो समय कारोबार भएको छ । सो मूल्यका आधारमा कम्पनीको बजार पूँजीकरण १४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा संस्थापक ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, अजोड इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ छ भने बजार पूँजीकरण ३ अर्ब ९९ करोड रुपैयाँ छ । यस कम्पनीमा संस्थापक समूहको ७० करोड रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व छ ।

मोदी इनर्जिको आईपीओ बाँडफाँट सम्पन्न, कसले पाए ?

काठमाडाैं । मोदी इनर्जि लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो । कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको छ ।

नयाँ र पुराना ब्रोकरबीच वाक युद्ध : १ पैसा चलखेल गरेको प्रमाण ल्याउन चुनौति

काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारी (ब्रोकर कम्पनी)ले आर्थिक चलखेल गरेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड, मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पुष्टि गर्न नयाँ ब्रोकर कम्पनीहरुले चुनौति दिएका हुन् । ‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नु परेको सम्भवतः यो नै पहिलो घटना हो तर, यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप ब्रोकर्स एशोशिएसनले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिन्छौ, आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं,’ नयाँ ब्रोकर कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीले पुराना ब्रोकर व्यवसायीलाई सिन्डिकेट एवम् एकाधिकार गरेको बताउँदै संकुचित मानसिकता रहेको आरोप लगाएका छन् । केही दिन अघि स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले जारी गरेको विज्ञप्ति विरुद्ध नयाँ ब्रोकर कम्पनीहरुले यस्तो बताएका हुन् । स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण प्रक्रिया रोक्नु पर्ने बताएको थियो । पुराना ब्रोकर कम्पनीहरुले ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात गरेको आरोप नयाँ ब्रोकर कम्पनीले लगाएका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल तथा व्यापारीका लागि निजी क्षेत्रका साथै बैंक वित्तीय संस्थाद्वारा प्रबद्र्धित ४३ वटा कम्पनीले पूर्वस्वीकृति (आशयपत्र) समेत प्रदान गरेको छ । नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाउने पूँजी बजारको विकास तथा विस्तारमा कोशे ढुंगो कायम हुने नयाँ ब्रोकर कम्पनीहरुले बताएका छन् । ‘नियामक निकायबाट भएको सकारात्मक विकासलाई नकारात्मक ढंगबाट व्याख्या गर्दै आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकता स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालको रहेको छ, पुराना ब्रोकर व्यवसायीले स्वायत्त नियामक निकाय धितोपत्र बोर्ड, मन्त्रीपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित छन्,’ नयाँ ब्रोकर कम्पनीको भनाइ छ । खुला अर्थतन्त्रको अवधारणालाई अंगिकार गर्दै सीमित क्षेत्रबाहेक अन्य सम्पूर्ण क्षेत्रहरुमा बजारको आवश्यकता अनुसार खुला प्रतिस्पर्धात्मक वातावरणमा जो सुकैले लगानी गर्न सक्ने नैसर्गिक अधिकार दिइएको नयाँ ब्रोकर कम्पनीहरुले बताएका छन् । खुला तथा प्रतिस्पर्धात्मक बजारले राज्यको आम्दानीको श्रोत बढाउनुका साथै लगानीकर्ता तथा सेवाग्राहीले समेत सर्वसुलभ रुपमा गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्तिको सुनिश्चितता प्रदान गर्ने उनीहरुको भनाइ छ ।