काठमाडौं । कुमार श्रेष्ठ निर्माण सेवा प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ६७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ४.०८ प्रतिशत अर्थात् ११ करोड ४० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार निर्माण परियोजनाको कार्यान्वयन तथा बिलिङको गति अपेक्षाकृत सुस्त रहँदा राजस्वमा दबाब परेको हो ।
कम्पनीले आव २०७९/८० मा ३ अर्ब ९२ करोड ५० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ६२ करोड २० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब २६ करोड ५० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब २२ करोड ७० लाख रुपैयाँ, आव २०७४/७५ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ, आव २०७३/७४ मा २ अर्ब ११ करोड रुपैयाँ र आव २०७२/७३ मा २ अर्ब १२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् १९७७ मा स्थापना भएको कुमार श्रेष्ठ निर्माण सेवा नेपाल सरकारबाट मान्यता प्राप्त ‘क्लास ए’ निर्माण कम्पनी हो । कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले भवन, सडक, पुल, विमानस्थल, खानेपानी तथा अन्य पूर्वाधार निर्माणका परियोजनामा काम गर्दै आएको छ । ठूला तथा जटिल आयोजनामा कम्पनीले अन्य निर्माण कम्पनीसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मार्फत पनि काम गर्दै आएको छ । कम्पनीको कार्यकारी निर्देशक इन्जिनियर सुशीलकुमार श्रेष्ठ र अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठ रहेका छन् ।
कम्पनीले पछिल्लो समय ठूला पूर्वाधार आयोजना हात पारेसँगै यसको अर्डर बुक थप सुदृढ बनेको छ । सन् २०२६ जुलाईसम्म कम्पनीसँग कार्यान्वयन हुन बाँकी ठेक्काको कुल मूल्य १५ अर्ब १७ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको निर्माण ठेक्काबाट प्राप्त आम्दानीको करिब ५.६७ गुणा बराबर हो ।
कुल आम्दानीमा गिरावट आएपनि सञ्चालन दक्षता र लागत नियन्त्रण सुधारका कारण नाफामा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ । सञ्चालन नाफा मार्जिन अघिल्लो वर्ष ५.३७ प्रतिशत रहेकोमा गत वर्ष बढेर ६.५० प्रतिशत पुगेको छ । त्यसैगरी, ब्याज खर्चमा कमी आउनुका साथै सञ्चालन नाफा बढेकाले करअघिको नाफा ६ करोड १० लाख रुपैयाँ पुगेको छ । जबति अघिल्लो वर्ष ३ करोड ४० लाख रुपैयाँ मात्रै थियो ।
साथै, कम्पनीको करपछिको नाफा अघिल्लो वर्ष ५० लाख रुपैयाँ रहेकोमा गत वर्ष बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको कम्पनीको भनाइ छ ।
निर्माण व्यवसाय सञ्चालनका लागि थप ऋण तथा मोबिलाइजेसन एड्भान्स (अग्रिम भुक्तानी) बढेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १३ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ९१ करोड ७४ लाख रुपैयाँ दीर्घकालीन, ९१ करोड रुपैयाँ अल्पकालीन र १२ अर्ब ४ करोड रुपैयाँ दुवै प्रकृतिका ऋण रहेको कम्पनीले जनाएको छ । पछिल्ला केही महिनायता बैंकाहरूको आधारदर घट्दो क्रममा रहेकाले कम्पनीको ब्याज खर्चमा केही राहत मिलेको कम्पनीको भनाइ छ ।
कम्पनीको औसत भुक्तानी संकलन अवधि ९९ दिन रहेको छ । अघिल्लो वर्ष १०९ दिनको तुलनामा यसमा केही सुधार देखिए पनि संकलन अवधि अझै लामो रहेकोले कार्यशील पुँजी व्यवस्थापनमा चुनौती कायमै रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार अधिकांश ग्राहक सरकारी मन्त्रालय तथा सरकारी निकाय भएकाले निर्माण कार्य सम्पन्न भएपछि प्राविधिक प्रमाणीकरण र बिल स्वीकृतिको प्रक्रिया पूरा हुन सामान्यतया एकदेखि दुई महिना लाग्ने गर्छ । सो प्रक्रिया पूरा भएपछि मात्र भुक्तानी निकासा हुने भएकाले रकम संकलनमा स्वाभाविक ढिलाइ हुने गरेको छ ।
कम्पनीको सञ्चालन चक्र भने अघिल्लो वर्ष १३५ दिन रहेकोमा गत वर्ष घटेर ११६ दिनमा झरेको छ । तर, कार्यशील पुँजीको आवश्यकता बढ्दै जाँदा सञ्चालन खर्च व्यवस्थापनका लागि कम्पनीको कर्जामाथिको निर्भरता अझ बढ्न सक्ने कम्पनीको भनाइ छ ।
सरकारले स्वदेशी निर्माण कम्पनीलाई प्रोत्साहन गर्ने उद्देश्यले ५ अर्ब रुपैयाँभन्दा कम लागतका निर्माण आयोजनाको बोलपत्र प्रक्रियामा विदेशी कम्पनीहरूलाई सहभागी हुन नपाउने व्यवस्था गरेको छ । यसले कुमार श्रेष्ठ निर्माण सेवाजस्ता स्वदेशी निर्माण कम्पनीहरूका लागि सकारात्मक अवसर सिर्जना गरेको छ । अर्कोतर्फ, सरकारले निर्माण कम्पनीले एकै समयमा सञ्चालन गर्न पाउने सक्रिय आयोजनाको संख्या अधिकतम पाँच वटामा सीमित गर्ने व्यवस्था लागू गरेको छ । यस्तो व्यवस्थाले परियोजना व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिए पनि कम्पनीहरूको विस्तार तथा व्यवसाय वृद्धि गर्ने सम्भावनामा केही सीमा आउन सक्ने जनाएको छ ।
कम्पनीले निर्माण सामग्री मुख्यतः स्वदेशी आपूर्तिकर्ताबाट खरिद गर्ने भएकाले सिमेन्ट, फलाम, इन्धनलगायत कच्चा पदार्थको मूल्यमा हुने उतारचढावको जोखिम भने कायम रहेको छ । यस्ता मूल्यवृद्धिले निर्माण लागत बढाउने सम्भावना रहन्छ ।